नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

हिमाल प्रेस १२ भदौ २०८३ १७:३६ | Friday, August 28, 2026
नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण प्रतिकात्मक तस्बिर

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन (निगरानी गर्ने ड्रोन) हस्तान्तरण गरेको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन परिषद्का सभापति दीपककुमार मल्होत्राले नेपाल प्रहरीलाई ड्रोन हस्तान्तरण गरेका हुन्।

ड्रोन हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछाने तथा वरिष्ठ प्रहरी उपरीक्षक दामोदर कँडेलको उपस्थिति थियो।

महानिर्देशक देवेन्द्र लामिछाने विपद्का कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी, तीव्र र प्रविधिमैत्री बनाउन यी ड्रोनले महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको बताए।

उनले कठिन भौगोलिक अवस्था तथा जोखिमयुक्त क्षेत्रमा मानिसको पहुँच सीमित हुने भएकाले ड्रोनमार्फत प्रभावित क्षेत्रको निगरानी, अवस्थाको पहिचान तथा उद्धारकार्यको समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले यसअघि ५० किलो क्षमताको एकसहित दुईवटा ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ।

त्यसैगरी, प्रभावित क्षेत्रमा सञ्चार तथा अत्यावश्यक विद्युतीय उपकरण सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले चेम्बरले १२५ वटा पावर बैंकसमेत उपलब्ध गराइएको जनाएको छ।

चेम्बरले विपद् प्रभावित नागरिकका लागि राहत संकलन तथा वितरण अभियानसमेत अघि बढाएको छ। रसुवा, नुवाकोट तथा धादिङलगायत प्रभावित जिल्लामा भदौ ११ गते तत्कालै नगद तथा जिन्सी सहयोग उपलब्ध गराएको चेम्बरले राहत अभियानलाई अगाडि बढाउँदै सहयोगलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित: १२ भदौ २०८३ १७:३६ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast