काठमाडौँ- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारहरु आफन्तको खोजीमा शिक्षण अस्पताल पुगेका छन्।
आफ्ना आफन्तको खोजीका लागि तस्बिर लिएर आफन्तहरु काठमाडौँको शिक्षण अस्पताल पुगेका हुन्।
आफन्तजनको अवस्थाबारे जानकारी पाउन अस्पताल तथा सहायता कक्षमा पुगेका उनीहरुलाई नेपाल प्रहरीले डेक्स स्थापना गरी सहजीकरण गरिरहेको छ। परिवारजनले विभिन्न अस्पताल तथा विमानस्थललगायतका स्थानमा खोजी गरे पनि हालसम्म पत्तो नलागेको भन्दै खोजी गर्न आग्रह गरेका छन्।
अस्पताल, विमानस्थल, राहत शिविरलगायत कतै पनि आफ्ना मान्छे फेला नपरेकाले राज्य, सुरक्षा निकाय तथा सञ्चारमाध्यमलाई खोजी तथा उद्धार कार्य तीव्र पारिदिन आफन्तजनहरूले आग्रह गरेका छन्।
रसुवाको भोटेकोशी बाढीपछि हालसम्म ५ सयबढीको शव फेला परेको छ भने ९ सय ७७ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।


