नेपाल र तिब्बतमा गरी १३ सयभन्दा बढी बेपत्ता, कुन देशका कति?

हिमाल प्रेस ११ भदौ २०८३ ११:३६ | Thursday, August 27, 2026
नेपाल र तिब्बतमा गरी १३ सयभन्दा बढी बेपत्ता, कुन देशका कति? नुवाकोटमा बाढी प्रभावितको उद्धारमा खटिएका सशस्त्र प्रहरी बल। तस्बिर स्रोत : सशस्त्र प्रहरी

काठमाडौँ– तिब्बतको ल्हेन्दे नदीमा माटो र चट्टानको ठूलो पहिरो खस्दा आएको विनाशकारी बाढीमा नेपालमा आठ सय २६ र तिब्बतको केरुङ काउन्टीमा पाँच सय ५८ गरी एक हजार तीन सय ८४ जना बेपत्ता भएका छन्। अधिकारीहरूका अनुसार बेपत्तामध्ये ठूलो संख्यामा विदेशी नागरिकसमेत छन्।

बुधबार तिब्बतबाट निस्किएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र पूर्वी नवलपरासीको जनजीवन प्रभावित भएको छ।

आएको विपत्तिले पदयात्री र तीर्थयात्रीको बाक्लो आवागमन हुने तिब्बतको ल्हासादेखि नेपालको राजधानी काठमाडौँ जोड्ने दुर्गम हिमाली क्षेत्रका बस्ती र उपत्यकामा ठूलो क्षति पुर्‍याएको छ।

नेपाली सेनाले जीवित व्यक्तिको खोजीका लागि हेलिकोप्टर परिचालन गरेको छ भने बाढीका कारण सम्पर्कविहीन बनेका हजारौँ मानिसका लागि आकस्मिक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइरहेको छ। नेपालमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या एक सय ६५ नाघेको प्रहरीले जनाएको छ।

बाढीपछि नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जनासमेत बेपत्ता भएका छन्।

‘खोजी कार्य जारी राखेका छौँ। थप शव फेला पर्ने सम्भावना रहेकाले मृतकको संख्या अझै बढ्नेछ,’ नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले भने।

नेपालमा बेपत्ता भएका आठ सय २६ जनामध्ये करिब ६ सय जना विदेशी रहेको प्रहरी र पर्यटन अधिकारीहरूले बताएका छन्। दुई दर्जनभन्दा बढी देशका नागरिक बेपत्ता भएकोमा भारतका एक सय ७७, अमेरिकाका ६३, अस्ट्रेलियाका ३४, बेलायतका ३३ र क्यानडाका २५ जना छन्।

घाइते भएका व्यक्तिहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार तिब्बतको केरुङ काउन्टीमा पाँच सय ५८ जना बेपत्ता भएका छन्। तीमध्ये २६० जना विदेशी नागरिक छन्।

सार्वजनिक भिडियोहरूमा केरुङको सीमा क्षेत्रमा पानी, माटो र चट्टानको भीषण भेलले दर्जनौँ मानिसलाई बगाएको देखिन्छ। त्यसपछि नेपालतर्फको तल्लो क्षेत्रमा घर, सडक तथा विद्युत् परियोजनासमेत बाढीले बगाएको छ।

‘हामीतिर सीधै माटोको ठूलो भेल आइरहेको थियो,’ अस्पतालमा उपचाररत प्रभावित क्षेत्रका ६८ वर्षीय केशवप्रसाद बरालले बताएका छन्। चार घण्टापछि हेलिकोप्टरमार्फत उद्धार गरिएका बरालले भने, ‘मेरी पत्नी अझै कतै माटोमुनि छिन्।’

नुवाकोट र रसुवाका प्रभावित क्षेत्रमा छिमेकी भारतले उपलब्ध गराएका त्रिपाल, खाद्यान्न तथा अन्य आकस्मिक राहत सामग्री हेलिकोप्टरबाट पुर्‍याउन थालिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए। अधिकारीहरूका अनुसार जीवित व्यक्तिको खोजी तथा शव फेला पार्न पाँच हजारभन्दा बढी सेना र प्रहरी परिचालन गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटतर्फ गएका छन्।

भूगर्भविद्हरूले प्रारम्भिक रूपमा उक्त क्षेत्रमा आएको भूकम्पका कारण हिमनदीको तल्लो भाग भत्किएर बाढी आएको हुन सक्ने बताएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने हिमनदीका चट्टान र बरफ भत्किँदा उत्पन्न भएको भूकम्पीय ऊर्जा र त्यसपछि आएको गेग्रानसहितको बहावका कारण उक्त घटना भएको जनाएको छ।

चिनियाँ अधिकारीहरूले तिब्बत-नेपाल सीमा नजिकै पहिरो र बाढी प्रभावित क्षेत्रभन्दा माथि केरुङमा अझै थुनिएको अवस्थामा रहेको एउटा तालबाट समेत जोखिम पहिचान गरेका छन्। उक्त तालले हिमाली क्षेत्रमा जारी उद्धार कार्यलाई थप जटिल बनाउन सक्ने सीसीटीभीले जनाएको छ।

बेपत्ता तथा प्रभावितमध्ये धेरै जना हिन्दू र बौद्ध धर्मावलम्बीका लागि पवित्र मानिने तिब्बतस्थित उच्च हिमाली क्षेत्र कैलाश मानसरोवरको तीर्थयात्रामा थिए। हिन्दू धर्मावलम्बीहरूले भगवान् शिवको निवासका रूपमा मान्ने कैलाश पर्वत विभिन्न धर्ममा पवित्र मानिने मानसरोवर तालको किनारमा अवस्थित छ।

हिमाली पर्यटन व्यवसाय सञ्चालन गर्ने कम्पनीका प्रमुख कार्यकारी सागर पाण्डेका अनुसार कम्पनीसँग कैलाश मानसरोवर तीर्थयात्रामा गएका १५ जना भारतीय–अस्ट्रेलियाली नागरिक बेपत्ता छन्।

‘त्यहाँ मानवनिर्मित कुनै वस्तु वा मानव बस्ती बाँकी छैन। सबै कुरा समथर भएको छ,’ उनले हेलिकोप्टरबाट प्रभावित क्षेत्रको अवलोकन गरेपछि बताएका छन्।

सीमा क्षेत्रको चिनियाँतर्फ जडान गरिएको सुरक्षा क्यामेराको दृश्यमा चट्टान, माटो र पानीको भीषण भेलबाट जोगिन मानिसहरू भागिरहेको तथा भेलले भवन र सवारीसाधन बगाएको देखिन्छ।

नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा बेपत्ता भएका आफन्तको खोजीमा रहेका परिवारका सदस्यहरू हेलिकोप्टर उद्धार अभियान सञ्चालन भइरहेको नेपाली सेनाको तालिम केन्द्रबाहिर भेला भएका दृश्य पनि सार्वजनिक भएका छन्।

विपद् व्यवस्थापन अधिकारीहरूले एक्समा दिएको जानकारीअनुसार प्लानेट ल्याब्सको भूउपग्रह तस्बिरको प्रारम्भिक अध्ययनले नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा पर्ने ल्हेन्दे नदीमा बरफ र चट्टानको पहिरोले गेग्रानसहितको बाढी ल्याएको देखाएको छ।

टेलिभिजन दृश्यमा भत्किएका घर, पानीमा तैरिरहेका गाडी तथा बाढीले बगाउँदै गरेको धातुको पुल देखिएको छ। प्रत्यक्षदर्शीहरूले पानीले पूरै गाउँ नै डुबाएको बताएका छन्। राससको सहयोगमा

प्रकाशित: ११ भदौ २०८३ ११:३६ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast