काठमाडौँको लप्से र घुमारचोकका किसान ३५ वर्षदेखि इस्कुस खेतीमा, वार्षिक आम्दानी ६ लाख

हिमाल प्रेस ९ भदौ २०८३ १६:२० | Tuesday, August 25, 2026
काठमाडौँको लप्से र घुमारचोकका किसान ३५ वर्षदेखि इस्कुस खेतीमा, वार्षिक आम्दानी ६ लाख

काठमाडौँ- काठमाडौँको शङ्खरापुर नगरपालिका-४ लप्से र वडा नम्बर ८ घुमारचोकका किसानले तीन दशकभन्दा बढी समयदेखि इस्कुस खेतीलाई मुख्य आम्दानीको आधार बनाएका छन्।

एक समय दाउरा बेचेर गुजारा चलाउने यहाँका परिवार अहिले इस्कुसको मुन्टा, फल र तरुल बेचेरै वार्षिक ६ लाख रुपैयाँसम्म कमाउन थालेका छन्।

यहाँका किसानले इस्कुसको मुन्टा प्रतिकिलो १०० देखि १५० रुपैयाँ, तरुल १५० देखि २०० रुपैयाँ र फल ३५ देखि ५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्।

उत्पादन बजार पुर्‍याउनुपर्ने झन्झट पनि छैन। व्यापारी घरघरमै पुगेर इस्कुस खरिद गर्ने भएकाले जेठदेखि मं‍सिरसम्म किसानलाई बिक्रीको चाप नै हुन्छ।

लप्सेका किसान सञ्चमान घ्लानले पाँच रोपनी जग्गामा इस्कुसखेती गरेर वार्षिक करिब पाँच लाख रुपैयाँ आम्दानी गरेको बताए। बुद्धिबहादुर घ्लानले पनि ६ रोपनीमा परिवारसहित इस्कुसखेती गर्दै यसैबाट घरखर्च धान्दै आएको बताए।

घुमारचोकका स्थानीय विकाश थिङका अनुसार यहाँका किसानले न्यूनतम एक लाखदेखि बढीमा ६ लाख रुपैयाँसम्मको इस्कुस बिक्री गर्छन्।

ठूले मानबहादुर वाइवाले पाँच रोपनी जग्गाबाट यस वर्ष करिब पाँच लाख रुपैयाँको इस्कुस बिक्री गरेको बताए भने म्याङ्गाई घ्लानले ५० हजार रुपैयाँ लगानी गरेर एक लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको बताए।

शङ्खरापुरका यी दुई वडामा उत्पादन हुने इस्कुस काठमाडौँका विभिन्न तरकारी बजारमा पुग्ने गरेको छ।

यहाँका अधिकांश तामाङ परिवार इस्कुसखेतीमा आबद्ध छन् भने काँक्रो, सिमी र आलुजस्ता तरकारी पनि सँगसँगै उत्पादन गर्छन्।

नगरपालिकाले इस्कुसखेतीलाई व्यावसायिक बनाउन किसानलाई मचान निर्माणमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको नगरप्रमुख रमेश नापितले बताए।

उनका अनुसार सिमेन्ट, बालुवा र रडबाट बनाइने टेका निर्माणमा किसान र नगरपालिकाले आधा आधा लागत व्यहोर्ने व्यवस्था गरिएको छ।

प्रकाशित: ९ भदौ २०८३ १६:२० | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast