काठमाडौँ– आन्तरिक राजस्व विभागले करदातालाई प्रदान गर्ने सेवामा सहजता, सरलता र प्रभावकारिता बढाउने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ।
विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साविकको करदाता पोर्टलसमेत यथावत् सञ्चालनमा रहनेछ।
नयाँ पोर्टलमा अन्तःशुल्कजन्य प्रतिष्ठानले बुझाउने मासिक विवरणको रुजु प्रक्रिया सहज बनाइएको छ। यसअघि त्यस्ता विवरण आन्तरिक राजस्व कार्यालयबाट मात्रै रुजु हुने गरेकोमा अब करदाताले स्वयं रुजु गर्न सक्ने व्यवस्था गरिएको भुसालले बताए।
त्यसैगरी, आय विवरणअन्तर्गत साविकमा अनुसूची–१० मा करदाताले आफैँ विवरण भर्नुपर्ने व्यवस्थासमेत परिमार्जन गरिएको छ। अब उक्त विवरण प्रणालीबाटै स्वतः आउने व्यवस्था गरिएको विभागले जनाएको छ।
स्रोतमा कट्टी भएको करको विवरणसमेत मासिक रूपमा बुझाउनुपर्ने व्यवस्था नयाँ पोर्टलमा गरिएको छ।
करदाताले आफ्नो स्थायी लेखा नम्बर (प्यान) कार्ड, अन्तःशुल्क इजाजतपत्र तथा करचुक्ता प्रमाणपत्रसमेत पोर्टलमा लग–इन गरी आफैँ डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको महानिर्देशक भुसालले जानकारी दिए।
नयाँ पोर्टल पूर्ण रूपमा सञ्चालनमा आएपछि करसम्बन्धी विभिन्न सेवा लिन कर कार्यालय धाउनुपर्ने बाध्यता कम हुने विभागको अपेक्षा छ।


