काभ्रेमा १० हजार जनालाई ‘प्रेसर हाइ’को समस्या

हिमाल प्रेस ८ भदौ २०८३ ८:०८ | Monday, August 24, 2026
काभ्रेमा १० हजार जनालाई ‘प्रेसर हाइ’को समस्या

काभ्रेपलाञ्चोक- काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता जनाइएको छ ।

सो विषयमा संवाद तथा नीतिगत छलफलमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखले यस्तो प्रतिबद्धता पनि जनाएका छन् । स्वास्थ्य सेवा विभाग, नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा पोमावती थापाले काभ्रेपमा नसर्ने रोगको रोकथाम तथा व्यवस्थापनका क्रममा हालसम्म प्राप्त उपलब्धि, अनुभव र सिकाइबारे कार्यपत्र प्रस्तुत गर्दै यसबाट उच्च रक्तचापबाट उत्पन्न हुनसक्ने जटिलता न्यूनीकरणमा सहयोग पुगेको बताए।

२०७९ भदौ १७ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत जिल्लाका १३ वटै स्थानीय तहका १६७ स्वास्थ्य संस्थाबाट उच्च रक्तचापका बिरामीको पहिचान, उपचार र निगरानी भइरहेको जनाइएको छ । स्थानीय सरकार र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को सहयोगमा ६१८ स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकिएको छ भने जिल्लाका करिब १० हजार व्यक्ति नियमित रुपमा उच्च रक्तचाप (प्रेसर हाइ)को औषधि सेवन गरिरहेका छन् ।

जिल्लामा सुरु गरिएको यस नमूना कार्यक्रम नेपालमै पहिलो भएको र त्यसको अनुभवका आधारमा हाल पर्सा, बारा, कैलाली र इलाममा पनि विस्तार गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । आगामी दिनमा यस्तो कार्यक्रम क्रमशः अन्य जिल्लामा बिस्तार गर्ने तयारी रहेको विभागले जनाएको हो ।

एक तथ्यांकअनुसार प्रत्येक वर्ष एक लाख ३७ हजारभन्दा बढी मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको र करिब ४७ लाख व्यक्ति उच्च रक्तचापको जोखिममा रहेका छन् । दक्ष स्वास्थ्यकर्मीमा आधारित सेवा, प्रोटोकलअनुसार उपचार, प्रभावकारी बिरामी प्रेषण प्रणाली, बिरामीको ‘ट्र्याकिङ’ तथा बिरामीको ‘फलोअप’, औषधिको नियमितता र आपूर्ति सुनिश्चिततालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।

सङ्गठनका वरिष्ठ स्वास्थ्य नीति सल्लाहकार डा ग्याम्पो दोर्जीले काभ्रेको अनुभव अन्य जिल्लाका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै बिरामीको नियमित रेखदेख तथा औषधिको निरन्तरतामा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभएको छ । बाग्मती स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले काभ्रेको सिकाई देशभर नमूना हुने तर्क गरेका छन्।

छलफलमा उच्च रक्तचापको उपचारबाट लाभ लिइरहेका दुई सेवाग्राहीले स्वास्थ्यकर्मीको नियमित सेवा र आफूहरुको नियमित औषधि सेवनले आफूहरुले नयाँ जीवन पाएको सुनाए। उनीहरुले उच्च रक्तचापसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन जनचेतनामूलक प्रचार–प्रसार अघि बढाउनसमेत सुझाएका छन्।

‘गोलमेच नीतिगत संवाद’ नामकरण गरिएको कार्यक्रममा नौबुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरियो । प्रतिबद्धतापत्रमा नागरिकलाई स्वास्थ्य सेवाको केन्द्रमा राखिने, नसर्ने रोगसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै सेवा बिस्तार गर्ने तथा तीन तह सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय–सहकार्य सुदृढ गर्ने र दिगो प्राथमिक स्वास्थ्य सेवा प्रणाली विकास गर्ने उल्लेख गरिएको छ।

काभ्रेलाई प्राथमिक स्वास्थ्य सेवाको राष्ट्रिय सिकाइ केन्द्रका रूपमा विकास गर्ने, स्रोत परिचालन तथा समन्वयमार्फत कार्यक्रमको दिगोपन सुनिश्चित गर्ने, तथ्य र परिणामका आधारमा जवाफदेहिता कायम गर्ने, राष्ट्रिय स्वास्थ्य–प्रणाली रुपान्तरणमा स्थानीय तहको नेतृत्व स्थापित गर्ने तथा जिल्लालाई राष्ट्रिय र अन्तरराष्ट्रिय सिकाइ तथा नमूना केन्द्रका रुपमा विकास गर्ने प्रतिबद्धता जनाइएको छ। प्रतिबद्धतापत्रमा काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहका प्रमुखले हस्ताक्षर गरेका छन्।

विश्व स्वास्थ्य सङ्गठन, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, काभ्रेका १३ स्थानीय तह र जिल्लस्थित जनस्वास्थ्य कार्यालयले स्वामित्व ग्रहण गरेका छन्।

प्रकाशित: ८ भदौ २०८३ ८:०८ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast