परराष्ट्रमन्त्री शिशिर खनाल
काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीति देशको आर्थिक रूपान्तरण र नागरिकको जीवनमा प्रत्यक्ष परिणाम ल्याउने माध्यम बन्नुपर्ने बताएका छन्। उनले परराष्ट्र नीति घरेलु आर्थिक आकांक्षालाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने बाह्य साधन बन्नुपर्नेमा जोड दिएका हुन्।
जर्मनको एक राजनीतिक फाउन्डेसन (फेड्रिक एवर्ट स्टिफटुङ) नामक आईएनजीओले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘भूराजनीतिक द्वन्द्वको विश्व : महाशक्ति प्रतिस्पर्धा र उदार विश्व व्यवस्थाविरुद्धको चुनौती’ विषयक पुस्तक विमोचन तथा प्यानल छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
खनालले नेपालको लोकतान्त्रिक यात्राका पछिल्ला निर्वाचनले नेपाली जनताको प्राथमिकता स्पष्ट पारेको उल्लेख गर्दै युवासहित जनताले सुशासन, रोजगारी र आर्थिक सम्मान खोजिरहेको बताए। तर त्यो संस्थाले कहाँ के काम गरिरहेको छ र नेपालमा कुन स्टाटसमा छ भन्ने विषयमा भने परराष्ट्रमन्त्रीकै ध्यान पुगेन।
‘परराष्ट्र नीति हाम्रो घरेलु आर्थिक आकांक्षाको बाह्य साधन बन्नुपर्छ,’ उनले भने। नेपालको परराष्ट्र नीतिको आधार सबैसँग मित्रता र कसैसँग बैरभाव नराख्ने नीति रहेको उल्लेख गर्दै उनले सार्वभौम समानता, पारस्परिक सम्मान, आन्तरिक मामिलामा अहस्तक्षेप, अन्तर्राष्ट्रिय कानुन र असंलग्नता नै कूटनीतिक आधार भएको बताए।
विगतमा नेपाललाई दुई ठूला ढुंगाबीचको ‘तरुल’ का रूपमा चित्रण गरिएको बताए पनि त्यो दुई ढुंगा त्यो समयमा थियो कि थिएन? अहिलेको छिमेक ने थियो कि कैयन राज्यहरु थिए त्यो उनले केलाउन भ्याएनन्। उनले त त्यो बेलामा यसो भने पनि अहिले अर्थात २१औँ शताब्दीमा त्यसलाई फरक ढंगले हेर्नुपर्ने धारणा राखे।
‘हाम्रो दृष्टिकोण नेपाललाई गतिशील र विश्वसनीय पुलका रूपमा रूपान्तरण गर्नु हो। दुई ठूला र तीव्र गतिमा बढिरहेका अर्थतन्त्रबीचको भौगोलिक अवस्थालाई चुनौतीका रूपमा मात्र होइन, अवसरका रूपमा प्रयोग गर्नुपर्छ,’ उनले भने।
नियममा आधारित बहुपक्षीय व्यवस्था नेपालजस्ता विकासशील, भूपरिवेष्टित र संवेदनशील राष्ट्रका लागि अस्तित्वसँग जोडिएको आवश्यकता भएको उनले स्पष्ट पारे। यस्तो व्यवस्था कमजोर हुँदा शक्तिशाली देशभन्दा पहिले साना राष्ट्रहरू प्रभावित हुने उनको धारणा थियो।
पश्चिम एसियाको द्वन्द्व नेपाली परिवारको जीवनसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै खनालले खाडी क्षेत्रमा कार्यरत ठूलो श्रमशक्ति र विप्रेषणमा पर्ने असरबारे उनले चर्चा गरे। उडान अवरुद्ध हुने, रोजगारी प्रभावित हुने, मूल्यवृद्धि हुने र नागरिकको ज्यान जाने अवस्था सिर्जना हुन सक्ने भन्दै विश्वमा शान्ति र स्थिरता नेपाली परिवारको दैनिक जीवनसँग जोडिएको उनले बताए।
सगरमाथा संवादजस्ता मञ्चमार्फत हिमाल र महासागरबीचको अन्तरसम्बन्धलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै खनालले जलवायु परिवर्तनको असर हिमाली नदी प्रणालीमा निर्भर अर्बौँ मानिसको जीवनसँग जोडिएको बताए। कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि विश्वव्यापी भूराजनीतिक द्वन्द्व, महाशक्तिहरूबीच बढ्दो प्रतिस्पर्धा र उदार अन्तर्राष्ट्रिय व्यवस्थामाथि देखिएको चुनौतीबारे धारणा राखेका थिए।
उनीहरूले विश्व राजनीति क्रमशः अनिश्चित र प्रतिस्पर्धात्मक बन्दै गएको अवस्थामा नेपालजस्ता साना राष्ट्रले भावनात्मकभन्दा राष्ट्रिय हितमा आधारित स्पष्ट र सन्तुलित कूटनीतिक रणनीति अपनाउनुपर्नेमा जोड दिए। भूराजनीतिक प्रतिस्पर्धाबाट टाढा रहने नीति मात्र पर्याप्त नहुने भन्दै अन्य वक्ताहरूले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति बुझ्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने तथा छिमेकी र विश्व समुदायसँगको सम्बन्धलाई राष्ट्रिय विकासको उद्देश्यसँग जोड्नुपर्ने धारणा राखेका थिए।
विमोचन गरिएको पुस्तकले विश्वव्यापी भूराजनीतिक द्वन्द्व, महाशक्ति प्रतिस्पर्धा तथा उदार अन्तर्राष्ट्रिय व्यवस्थामाथि देखिएको चुनौतीको विश्लेषण गरेको छ।मन्त्री खनालले बदलिँदो विश्व व्यवस्थामा नेपालको भौगोलिक अवस्थालाई जोखिमका रूपमा मात्र हेर्न नहुने र सही कूटनीतिक रणनीतिमार्फत त्यसलाई आर्थिक अवसरमा बदल्नुपर्नेमा जोड दिए। परराष्ट्र नीति राष्ट्रिय हितको रक्षा गर्दै नेपाली जनताको जीवनमा प्रत्यक्ष आर्थिक परिवर्तन ल्याउने दिशामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।


