नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा। फाइल तस्बिर।
काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी एकतालाई थप सुदृढ बनाउन सबै नेताकार्यकर्ता क्रियाशील हुनुपर्ने बताएका छन्।
केन्द्रीय नीति प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै शर्माले स्वर्गीय प्रदीप गिरीले देखाएको वैचारिक बाटोमा अघि बढ्दै पार्टीलाई एकताबद्ध र बलियो बनाउनुपर्नेमा जोड दिएका हुन्।
गिरीको योगदान स्मरण गर्दै शर्माले उनको विचार नेपाली कांग्रेसका लागि सदैव प्रेरणाको स्रोत रहने बताए। उनले भने,‘उहाँको विचार हाम्रा लागि सदैव प्रेरक छ। उहाँ एक समुद्रजस्तै हुनुहुन्थ्यो। समुद्रमा पौडनेले बाहिर निस्कँदा जति पानी लिएर निस्कन्छ, हामी पनि सायद त्यति मात्र लिइरहेका छौँ। स्व.प्रदीप गिरीले देखाएको बाटोमा अगाडि बढ्दै पार्टी एकतालाई मजबुत बनाउन सबैलाई क्रियाशील हुनुपर्छ।’
बैठकमा गिरीको विचार, राजनीतिक योगदान र व्यक्तित्वबारे प्रतिष्ठानका उपप्रमुख मधु आचार्यसहित सदस्यहरू गोपाल दहित थारु, महेन्द्र यादव, जनक चटौत, इन्जिनियर अमृत ज्ञवाली, प्रकाश लामिछाने, प्रकृति भट्टराई, अनुपा श्रेष्ठ तथा ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठलगायतले धारणा राखेका थिए।


