काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले देशको धार्मिक पहिचानबारे जनताले निर्णय गर्ने बताएका छन्। काठमाडौँको सुकेधारामा आयोजित कांग्रेस इतर समूहको तीनदिने राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
आफू व्यक्तिगत रूपमा सनातन हिन्दू धर्मप्रति आस्थावान रहेको बताउँदै उनले मुलुकको धार्मिक पहिचानबारे निर्णय गर्ने अधिकार जनतामा निहीत रहेको उल्लेख गरे।
भेलाका एक जना सहभागीले धर्मबारे राखेको जिज्ञासाको जवाफ दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन्।
‘म व्यक्तिगत रूपमा हिन्दू हुँ। मैले हिन्दू परम्पराअनुसार व्रतबन्ध गरेको छु, विवाह गरेको छु। म पशुपति जान्छु,’ उनले भने,‘तर धर्मका विषयमा निर्णय भने जनतामा भर पर्छ।’
निवर्तमान सभापति देउवाले न्यायालयप्रति आफूलाई पूर्ण विश्वास रहेको दोहोराए। देशका सबै अदालतले आफूलाई न्याय दिएको उनको भनाइ थियो। देउवाले सबैको सहमतिमा महाधिवेशन गर्नुपर्ने आफ्नो धारणा भए पनि जबर्जस्ती विशेष महाधिवेशन गरिएको आरोप लगाए।
यो विषयमा अदालतमा विचाराधीन रहेकोले धेरै टिप्पणी नगर्ने बताउँदै उनले अदालतको निर्णय आफूलाई स्वीकार हुने उल्लेख गरे।


