‘ए मेरो हजुर ५’ को शुभमुहूर्त

हिमाल प्रेस २९ साउन २०८३ १९:५७ | Friday, August 14, 2026
12
SHARES
‘ए मेरो हजुर ५’ को शुभमुहूर्त

काठमाडौँ-  अभिनेत्री झरना थापाको निर्देशनमा बन्ने सिनेमा ‘ए मेरो हजुर ५’ को शुभमुहूर्त गरिएको छ।
निर्माण टिमले शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरेको हो। मुहूर्त सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको निर्देशक थापाले बताइन्।

निर्देशक थापाले बडीमालिकाजस्तो धार्मिक धरोहरमा सिनेमाको छायांकन गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उल्लेख गरेकी छन्। उनले बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि भएको बताएकी छन्। उनले भनिन्, ‘हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो।’

सिनेमामा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा देखिनेछन्। यो उनीहरूको तेस्रो सहकार्य हो। यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए। सिनेमामा यी दुईको जोडीलाई दर्शकले निकै रुचाएका थिए।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता सुनिलकुमार थापा हुन्। सिनेमाको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन्। अनमोल र सुहानासहित सिनेमामा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको अभिनय रहनेछ।

‘ए मेरो हजुर’को पहिलो शृंखलामा मुख्य भूमिका देखिएकी झरना करिब २५ वर्षपछि पाँचौँ संस्करणमा अभिनय गर्न लागेकी हुन्। उनी पुरानै भूमिकामा फर्किन लागेकी हुन् कि नयाँ क्यारेक्टरमा भन्ने निर्माण टिमले खुलाएको छैन। जसले दर्शकमाझ झरनाको भूमिका कौतुहल्ता जगाएको छ। यो सिनेमा नेपाली नयाँ वर्ष २०८४ को अवसरमा देशव्यापी प्रदर्शनमा आउनेछ।

रामजी लामिछानेको कोरियोग्राफी रहने सिनेमाको गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बू तथा टिमको संगीत रहनेछ। संगीत संयोजन उदय राज पौडेलले गर्नेछन्।

सिनेमाको वितरण काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन्। मिडिया संयोजकको जिम्मेवारी दिनेश सिटौला फिल्म्स (सीपी जैसी)ले सम्हाल्नेछ भने पब्लिसिटी डिजाइनरका रूपमा टौवा प्रोडक्सन जोडिएको छ।

‘ए मेरो हजुर’ का चारै शृंखलाले बक्स अफिसमा राम्रो सफलता हासिल गरेका थिए। स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको पहिलो श्रृंखलापछि यसको दोस्रो शृंखलाबाट झरना थापाले निर्देशनको जिम्मेवारी सम्हालेकी हुन्। त्यसयता ‘ए मेरो हजुर’ शृंखलाका झरना थापाले नै निर्देशन गर्दै आए पनि यसपटक उनको अभिनय समेत दर्शकले हेर्न पाउने भएका छन्।

प्रकाशित: २९ साउन २०८३ १९:५७ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast