अर्थमन्त्री स्वर्णिम वाग्ले
काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी कागजातलाई डिजिटाइज गरी सुरक्षित राख्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा गत वर्ष भदौ २३ र २४ गतेको घटनामा सरकारी कार्यालयका स्रेस्ता जलेपछि १७९ कार्यालयको लेखापरीक्षण हुन नसकेको विषयमा छलफल भएको थियो।
मन्त्री वाग्लेले सरकारी अभिलेख सुरक्षित राख्न डिजिटल प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताए। २०७२ सालको भूकम्पका बेला डिजिटल रूपमा सुरक्षित गरिएका सरकारी अभिलेखबाट प्राप्त अनुभव पनि उनले बताए।
उनका अनुसार गत वर्षको घटनाका क्रममा राजस्व तथा कोष तथा लेखा नियन्त्रण कार्यालयअन्तर्गतका डिजिटल प्रणाली भने सुरक्षित रहेका थिए।
सरकारी कार्यालयमा आगजनी हुँदा करिब डेढ खर्ब रुपैयाँ बराबरका स्रेस्ता नष्ट भएको भन्दै महालेखापरीक्षकको कार्यालयले ती कार्यालयको लेखापरीक्षण गर्न सकेको थिएन।
वाग्लेले उक्त घटना काबुबाहिरको परिस्थितिका कारण भएको भए विद्यमान कानुनी व्यवस्थाअनुसार समाधान खोजिनुपर्ने बताए। समितिले स्थलगत अध्ययन गरेर कार्यालयमा अनियमितता भए नभएको सार्वजनिक गर्न सक्ने उनको भनाइ छ।
समितिको निर्देशनअनुसार सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले कानुनी व्यवस्था अपुग भए ऐन संशोधन गर्न सकिने बताए।


