काठमाडौँ- साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। झमझम पानी परिरहेका बेला पनि छाता ओढेर शिवभक्तहरू लामबद्ध हुँदै पशुपतिनाथको दर्शनका लागि पुगेका छन्।
बिहान ३ः०० बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएपछि दर्शनार्थीलाई मन्दिर प्रवेश गराउन थालिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले बताए।
गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर, पिङ्गलास्थानलगायत क्षेत्रबाट भक्तजन पशुपतितर्फ आउने क्रम बिहानैदेखि जारी छ।
हातमा पूजा सामग्री र शिरमा छाता बोकेर वर्षामा भिज्दै भक्तजनहरू आफ्नो पालो कुरिरहेका देखिन्छन्। सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि छुट्टै उत्साह देखिएको छ।
दर्शनार्थीको भीडलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीसँगै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी तथा विभिन्न धार्मिक र सामाजिक संघसंस्था परिचालन भएका छन्।
सवारी आवागमन व्यवस्थित गर्न गौशाला, जयवागीश्वरी, सिफल, मित्र उद्यान, चाबहिल र गौरीनगर क्षेत्रमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति छ। दर्शनार्थीलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा मन्दिर प्रवेश गराउन विभिन्न स्थानबाट लामको व्यवस्था गरिएको छ।
साउनको अन्तिम सोमबार पशुपतिनाथमा मात्रै नभई काठमाडौँ उपत्यकाका अन्य शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ।
गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको ‘सानो पशुपतिनाथ’का रूपमा चिनिने मक्खन महादेवलगायत शिवालयमा पनि दर्शनार्थीको लाम लागेको छ।



