विविध आयामभित्र ‘मनोहर’ को उपन्यास ‘रहर’ र यसले बोकेको सन्देश

रमेशप्रसाद खनाल ३० साउन २०८३ १६:४४ | Saturday, August 15, 2026
20
SHARES
विविध आयामभित्र ‘मनोहर’ को  उपन्यास ‘रहर’ र यसले बोकेको सन्देश

आख्यानको एक सर्वोच्च र सर्वग्राह्य विधाको नाम उपन्यास हो। साहित्यमा उपन्यासले एक विस्तृत क्यान्भासमा जीवन, जगत, प्रकृति, मानव व्यवहार, मनोविज्ञान, आन्तरिक-बाह्य द्वन्द्व र सम्प्रेषण गर्न खोजेको सन्देश लगायत यावत विषयहरू आफूभित्र समेटेको हुन्छ।

उपन्यास साहित्यअन्तर्गत अत्यन्तै रुचाइएको एक प्रमुख विधा हो। यसको सिर्जना भने त्यति सहज र लहडमा लेखिने विधा होइन। यसको लेखनमा लाग्ने सर्जकले ठूलै तप र मिहिनेत गर्नुपर्ने हुन्छ; किनकि उपन्यासको असीमित क्षेत्रफलमा पाठकलाई रमण गराउन र त्यो उपन्यासको परिधिभित्र बाँधेर राख्ने कार्य जटिल नै मानिन्छ।

विश्व साहित्यमा उपन्यासको सुरुवात जापानको ‘गेन्जीको कथा’ बाट सन् १००८ मा भएको मानिएदेखि आजको एक्काइसौँ शताब्दीसम्म आइपुग्दा उपन्यासको विकासक्रमले निकै उतारचढाव पार गरिसकेको छ। यस अवधिमा उपन्यास लेखनले विभिन्न प्रयोग, नवीनता र आधुनिकताको विकासका चरणहरू पार गरिसकेको छ। कुनै पनि उपन्यासले पाठकलाई एउटा नयाँ अनुभूतिको संसारमा पुर्‍याएर मनोरञ्जन र आनन्द मात्र प्रदान गर्ने नभई तत्कालीन समयका जीवन दर्शनका विविध पक्षहरूको बोध गराउने सारभूत हेतुमा भने केही फरक परेको छैन।

‘रूपमती’ उपन्यासबाट आधुनिक उपन्यास लेखनको सुरुवात भएको मानिने नेपाली साहित्यको एक प्रमुख विधा नेपाली उपन्यास लेखनमा समयक्रमसँगै विविधता र नवीनताका आयामहरू र प्रयोगहरू हुँदै वर्तमानमा एक सशक्त विधाको रूपमा स्थापित भएको देखिन्छ। यसै सन्दर्भमा साहित्यकार/उपन्यासकार मनहरि खड्का ‘मनोहर’ को हालै प्रकाशित उपन्यास “रहर” का केही मूलभूत पक्ष वा आयामबारे संक्षेपमा चर्चा गर्नु यस लेखको मूल उद्देश्य रहेको छ।

लेखकको संक्षिप्त परिचय

विक्रम संवत् २०१४ मा ललितपुरको टीकाभैरवमा जन्मिएका मनहरि खड्का ‘मनोहर’ आफ्नो सुषुप्त साहित्यिक प्रतिभाको साकार प्रस्फुटन २०८१ सालमा गर्न पुग्दछन्। लगभग ६५ वर्षको अन्तरालपश्चात् जागिरे जीवनको अवकाशका दिनहरूलाई सिर्जनात्मक तथा सार्थक साहित्य सिर्जनामा लगाएर २०८१ मा एकै पटक ४ कृतिहरू क्रमशः कविता सङ्ग्रह “आमा”, लघु उपन्यास “भियतनामी साथी”, यात्रा संस्मरण “दिल्लीको सेरोफेरो”, र कथा सङ्ग्रह “हिँड्ने रूख” प्रकाशित गर्दै उनी नेपाली साहित्याकाशमा आफ्नो उपस्थिति जनाउन सफल हुन्छन्।

यसरी साहित्यिक उपनाम ‘मनोहर’ समेत जोडेर उदाएका मनहरि खड्का नेपाली भाषा-साहित्यका विविध फाँटमा निरन्तर कलम चलाउने एक सशक्त स्रष्टाका रूपमा परिचित एवं स्थापित भएका छन्। २०८२ सालमा उनको पाँचौँ कृति “हलाल राइस” प्रकाशित भएको छ; जसमा सरकारी वा निजी कामको सिलसिलामा विश्वका विभिन्न ८ मुलुकका विभिन्न शहरहरू पुग्दा, त्यहाँ अध्ययन-तालिमको क्रममा रहँदा वा फुर्सदको समयमा घुम्दाका आफ्ना गहन अनुभव र अनुभूतिहरू सङ्गालेर तयार पारेको यो उनको एक अर्को उत्कृष्ट कृति मान्न सकिन्छ। हरेक वर्ष कम्तीमा एउटा साहित्यिक कृति सिर्जना र प्रकाशन गर्ने उनको प्रयास जारी छ।

उपन्यास लेख्ने रहरको ‘रहर’

हुन त उनले २०८१ सालमा लघु उपन्यास “भियतनामी साथी” प्रकाशित गरी उपन्यास लेखनमा आफ्नो उपस्थिति जनाइसकेका भए पनि एउटा पूर्ण उपन्यास लेख्ने आफ्नो रहरलाई पुनः एक पटक “रहर” नामक उपन्यास प्रकाशित गरेर पूरा गरेका छन्। तर त्यो उनको रहरले नेपाली साहित्यमा एक उत्कृष्ट कृति थपिदिएको छ भन्दा फरक पर्दैन। १२२ पृष्ठको यो उपन्यासमा १८ अध्यायहरू छन्।

अध्यायहरू छोटा छन् र कथाको उठान र बैठानसँग पूर्ण रूपमा तादात्म्य राख्न सक्षम छन्। संक्षिप्तताले आजको साइबर वा मोबाइल युगका पाठकलाई कथाप्रति आकृष्ट गर्ने वा कथामा बाँधेर राख्न सक्ने सामर्थ्य राख्दछ। लामा पट्यारलाग्दा अध्यायले पाठकलाई आकर्षित गर्ने युग समाप्त भइसकेको छ। सायद लेखकले यही बुझेर छोटोमा धेरै कुरा भन्न सक्ने आफ्नो कला र सीप प्रदर्शन गरेका छन्। यस लेखमा यसै उपन्यासका विभिन्न आयाम वा पक्षहरू बारे संक्षेपमा उल्लेख गरिएको छ।

प्रथम आयाम : मूल कथावस्तु

सारांशमा भन्ने हो भने दुई उमेर पाकेका (वृद्ध नभनी हालौँ) महिला र पुरुषबीच गाँसिन नसकेको सम्बन्धको कथा हो ‘रहर’। दुई उमेर पाकेका महिला र पुरुषको अव्यक्त प्रेम र पूरा हुन नसकेको मिलनको ‘रहर’ को कथा नै ‘रहर’ मा रहेको छ।

यो कथाभित्र दुवै पात्रका र खास गरी महिला पात्र स्वरुपाका कथाहरू बुनिएका छन्। सामाजिक-यथार्थवादी धारको आख्यान मान्न सकिने यो उपन्यासले पुरुष पात्र प्रशान्तको विगतभन्दा महिला पात्र स्वरुपाको विगतका घटनाहरूलाई आफ्नो मूल केन्द्रबिन्दु बनाएको प्रतीत हुन्छ। यसर्थ यो महिला केन्द्रित उपन्यास पनि हो तर आजभोलि भनिने ‘महिलावादी’ कृति भने होइन। यसलाई महिलाका विषय प्रधानता भएको उपन्यास हो भने भन्न सकिन्छ। महिला पात्र स्वरुपाका दुःख, दर्द, सङ्घर्ष र सफलता-असफलताको कथालाई उपन्यासले बोकेको छ; जुन आजको समाजमा सङ्घर्षरत महिलाहरूको निमित्त जस्तोसुकै परिस्थितिमा पनि हार नखाने र आफ्नो लक्ष्य प्राप्त गरिछाड्ने अठोट बोकेकी महिलाको प्रतिरूपमा लिन सकिने हुन्छ।

स्वरुपाको सङ्घर्ष धेरै महिलाहरूको निमित्त अनुकरणीय शिक्षा पनि हुन सक्छ। जतिसुकै समाज र पुरुषबाट पछाडि पारिए वा सामाजिक रूपमा प्रताडित भए पनि आफ्नो शिक्षा, साहस र सामर्थ्यको बलमा महिलाहरू पनि एक्लै आफ्नो जीवन जिउन सक्छन् भन्ने सन्देश बोकेको कथाले धेरै प्रताडित महिलाहरूलाई उत्प्रेरणा पनि दिन सक्ने देखिन्छ। यस अर्थमा यो एक उत्प्रेरणात्मक सन्देश बोकेको कृति पनि हो।

दोस्रो आयाम : सामाजिक सञ्जाल र बदलिँदो मनोविज्ञान

उपन्यासले दुई मुख्य पात्रहरूको संवादलाई कथाको आधारभूमि बनाएको छ र यसैको सेरोफेरोमा नै पूरा कथा बुनिएको आभास हुन्छ। घटना-परिघटनाहरूलाई संवाद, त्यो पनि मेसेन्जर कलमार्फत दर्शाएको देखिन्छ। यो पनि उपन्यास लेखनको क्षेत्रमा नवीनतम प्रयोग हो भन्ने लाग्दछ। आधुनिक सञ्चारमा आएको अभूतपूर्व विकासले ल्याएको परिवर्तनलाई आत्मसात् गर्दै त्यसैको प्रयोगद्वारा अपरिचित, कहिल्यै नभेटेका मान्छेहरूसँग पनि नजिक पार्ने प्रविधिले मानिसका सम्बन्धहरू परिभाषित र विकसित हुन थालेको वर्तमान प्रवृत्तिलाई उजागर गर्ने यो एक प्रकारको नवीनतम प्रयोग भएको महसुस हुन्छ।

यो आजको हाम्रो समाजको यथार्थ पनि बन्दै गएको छ। सामाजिक सञ्जालमा गफिने मानिस प्रत्यक्ष भेटियो भने बोल्न नचाहेको वा आफ्नो अहम्‌ता प्रदर्शन गरेको नदेखिएको, नभोगिएको होइन। धेरैजसो आफूलाई सेलिब्रेटी मान्नेहरूले यसै गर्ने गरेको देखिएको पनि छ। उनीहरूको निमित्त तिनका सञ्जालमा जोडिने मान्छे फगत आफ्नो पृष्ठको प्रख्याति कमाउने थप साधन मात्रै बनेका हुन्छन्। असामाजिक बन्दै गएको सामाजिक भनिने सञ्जालले कतिको घर जोडेको र कतिको घर फोडेको उदाहरण खोज्न टाढा जानु पर्दैन, हाम्रै परिवेशवरिपरि बेग्रल्ती यस्ता उदाहरण भेटिन्छन्।

यस अर्थमा आधुनिक भनिएको आजको समाज र मान्छेहरूमा बढेको सामाजिक सञ्जाल प्रयोग गर्ने र त्यसैमा रुने-कराउने, जीवन त्यसैमा बिताउने जुन प्रवृत्ति विकसित हुँदै गएको छ, त्यसलाई नै लेखकले प्रयोग गर्दै उपन्यासको कथा भनेका छन्।

तेस्रो आयाम : उपन्यासको भावभूमि

मूलतः सुदूरपश्चिमको डडेलधुरा र आसपासको परिवेशलाई लेखकले आफ्नो उपन्यासको मूल भावभूमि बनाएर पाठकलाई त्यो क्षेत्रको पहिचान गराउन खोजेको प्रतीत हुन्छ। उपन्यासको अर्को एक सान्दर्भिक पक्ष यो पनि लाग्दछ।

लघु उपन्यास भए पनि सुदूरपश्चिम नेपालको विस्तृत चित्र कोर्न भने लेखकले सम्भव प्रयास गरेका छन्। त्यहाँको प्राकृतिक, धार्मिक एवं सामाजिक वस्तुस्थितिका जानकार लेखकले तत्स्थानहरूको चित्रण सहज र सजीव बनाउने प्रयास गरेको देखिन्छ। उपन्यास नै लघु भएको कारण त्यसको विस्तृति नपाइनु स्वाभाविक मान्न सकिन्छ।

चौथो आयाम : लघु-उपन्यासको नमुना

‘रहर’ लघु आख्यानको एक नमुना बनेको देखिन्छ। पुस्तकको भूमिकामा वरिष्ठ समीक्षक, समालोचक एवं साहित्यकार डा. गोविन्द भट्टराईले यो उपन्यासलाई ‘मनोवैज्ञानिक आख्यान’ भन्नुभएको छ। उहाँ यो उपन्यासलाई ‘एक सफल लघु उपन्यासमा गणनायोग्य’ पनि मान्नुहुन्छ। यसमा कसैको दुई मत नहोला। म यसलाई एक मनो-सामाजिक उपन्यास (Psycho-social novel) मान्दछु। ४५ वर्षकी स्वरुपा र ५५ वर्षका प्रशान्तको अव्यक्त लगाव, प्रेम र बिछोडको कथा रहेको उपन्यासले उनीहरूको मनोविज्ञानलाई मिहीन ढङ्गले पस्कन लेखक सफल भएका छन्। प्रेमीले छोडेर गएकी स्वरुपाको वैवाहिक सम्बन्धमा गाँसिन चाहने रहरप्रति उदासीन देखिएका प्रशान्तबीचको मनोविज्ञान, मानसिक उतारचढावको चित्रण र समाजका विविध पक्षहरूको विश्लेषण गरिएका कारण यसलाई मनो-सामाजिक उपन्यास भन्न उपयुक्त लाग्दछ।

पाँचौँ आयाम : कथावस्तु र उपन्यासको पटाक्षेप

उपन्यासमा कथालाई जबर्जस्ती भनिएको नभई सहज रूपमा घटना-परिघटनालाई अगाडि बढाइएको पाइन्छ। उपन्यासको अन्त्य त्यति स्वाभाविक नलाग्न सक्छ तर यथार्थमा यस्ता घटना समाजमा व्याप्त नै देखिन्छन्। पहिले प्रेम र विवाहबाट तर्किएका मान्छे फेरि आफूलाई त्यतातर्फ उन्मुख गराउन थाल्नु र उता पहिले प्रेम र विवाहको निमित्त निरन्तर प्रयत्नरत महिला त्यसतर्फ विमुख मात्र होइन वैराग्यतर्फ अभिमुख भएको प्रसङ्गले उपन्यासको चूडान्त  गरिएको छ।

यथार्थवादी लेखन भएकाले लेखकले वास्तविकता चित्रण गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ। यो लेखकीय स्वतन्त्रता नै मान्नुपर्छ; आफ्नो कथालाई के कसरी व्यक्त गर्ने भन्ने लेखकको इच्छाको कुरा हो, पाठकले त्यसलाई कसरी लिने हो त्यो पाठकको कुरा हुन्छ। पाठकले चाहेको लेखिदिने वा कुनै सीमा, सिद्धान्त वा बन्धनमा बाँधिएर लेख्नु भनेको लेखकको स्वत्व गुम्नु हो। यसमा लेखकीय स्वतन्त्रता गुम हुन सक्छ। यसर्थ, कथाको अन्त्य यसरी गरिदिनुपर्थ्यो भन्ने पाठकको चाहना र लेखकीय चाहना फरक हुन जान्छ भने त्यो अस्वाभाविक लाग्दैन।

छैटौँ आयाम : शैली पक्ष

कथा कथ्ने कला सशक्त छ। कथालाई बिस्तारै उत्कर्षतर्फ लैजाने सीप पनि प्रचुर मात्रामा लेखकमा रहेको देखिन्छ। पाठकमा कौतूहलता, जिज्ञासा र थप चाख जगाउँदै पठनमा अगाडि बढाउने लेखन शैली रहेको छ। सरल भाषा, सबैले बुझ्ने अभिव्यक्ति र अभिव्यञ्जना बोधगम्य छ। केवल संवादमार्फत उपन्यासको कथा र सन्देश दिन सक्षम छन् लेखक। नेपाली समाजको इतिहास र विगतलाई पनि ठाउँ-ठाउँमा उल्लेख गरिएको छ; जस्तै ट्रली बसको प्रसङ्ग आदि।

उपसंहार

आधुनिक सञ्चार प्रणालीको चमत्कार भनौँ, घण्टौँ मेसेन्जर जस्ता सामाजिक सञ्जालहरूबाट एक-आपसमा कुरा गर्न सकिने अवस्था र त्यसले सिर्जेको परिस्थितिको पनि वास्तविक चित्रण भएको छ भने तराई वा सीमापारिबाट नेपालका दुर्गम क्षेत्रमा शिक्षक भएर गएका केही शिक्षकहरूबाट स्थानीय युवतीहरूको यौवन शोषण भएको वास्तविकता पनि त्यत्तिकै टड्कारो दर्साइएको छ।

मायाजालमा परेका निर्दोष युवतीहरूमध्येकी एक स्वरुपाको दारुण कथा, उनको सिन्दूरले सिउँदो रङ्गाउने अपुरो रहर र चाहनाको पटाक्षेप नै उपन्यासको मूल कथा हो। यसमा प्रशान्तको भूमिका सहायक देखिन्छ भने नायिका स्वरुपा आफ्नो रहरलाई तिलाञ्जली दिएर अकस्मात् भक्तिनी बनेर वृन्दावन पुगेको र आफूलाई भक्ति-वैराग्यमा समर्पण गरेको प्रसङ्ग त्यति सहज देखिन्न – लेखकले पहिले उल्लेख गरेको उनको जुझारु र सङ्घर्षशील स्वभावविपरीत सांसारिक मोहबाट एकै पटक वैराग्यतर्फ उन्मुख भएको प्रसङ्ग र त्यही लाइनमा उपन्यासका नायक प्रशान्त पनि हिँड्न लागेको देखाउनु कति सान्दर्भिक होला वा कतै पलायनवादी भावना फैलाउने आरोप त उपन्यासले खेप्नुपर्ने होइन? यो भने थप चर्चा र विश्लेषणको विषय बनेको छ।

पृष्ठ ३-४ मा उपन्यासको नायक पात्र ‘प्रशान्तसँग पहिल्यै डडेलधुरामै भेट भइसकेको…’ उल्लेख गरिएको तर पृष्ठ १३ मा ‘पहिले कहिल्यै प्रत्यक्ष नभेटेको साथी…’ उल्लेख भएको विषय असङ्गत देखिँदा सायद सम्पादनमा कमीकमजोरी देखिन्छ। यस्तो असङ्गति केही अन्य स्थानमा पनि कताकति रहन गएको छ। त्यस्तै भाषिक रूपमा केही शब्द र हिज्जेमा पनि सम्पादन हुनुपर्ने देखिन्छ।

(२०८३ असार २५ गते साहित्यकार/लेखक मनहरि खड्का ‘मनोहर’ को नवीनतम कृति ‘रहर’ (उपन्यास) को विमोचन कार्यक्रममा लेखकले व्यक्त गरेका विचारहरूको सारसंक्षेप)

प्रकाशित: ३० साउन २०८३ १६:४४ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast