आफ्नै सांसदको घेराबन्दीमा बालेन सरकार!

‘ग्यास छैन, मल छैन, सेवा छैन’

हिमाल प्रेस २२ साउन २०८३ २१:४२ | Friday, August 7, 2026
18
SHARES
आफ्नै सांसदको घेराबन्दीमा बालेन सरकार!

काठमाडौँ- केही दिनअघि नेपाल आयल निगमले पश्चिम एसियाको तनाव कम भएपछि उपभोक्तालाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउने घोषणा गर्‍यो। तर व्यवहारमा भने बजारमा ग्यासको चरम अभाव देखिएको छ। एउटा सिलिन्डर ग्यासका लागि उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ भने सर्वसाधारण ग्यासको खोजीमा भौँतारिन बाध्य छन्।

यही अवस्थालाई लिएर शुक्रबार प्रतिनिधिसभामा सरकारमाथि प्रश्नको वर्षा भयो। विपक्षी दलका सांसदहरूले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाए भने सरकारकै नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले समेत राज्य सञ्चालनको शैली र सेवा प्रवाहप्रति असन्तुष्टि जनाए।

विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन सरकारले न्यूनतम डेलिभरी पनि दिन नसकेको भन्दै झुटा आश्वासनमात्र बाँडेको दाबी गर्छन्।

विपक्षी दलका सांसदहरूले सरकारको आलोचना गर्नु र प्रश्न उठाउनुलाई लोकतान्त्रिक व्यवस्थामा सामान्य प्रक्रिया नै ठानिन्छ। आफ्नै दलका सांसदहरूले समेत प्रश्न उठाउन थालेपछि कहीँकतै सरकारको कमजोरी रहेको बुझ्न सकिन्छ।

यस्तै दृश्य देखियो शुक्रबार प्रतिनिधिसभा बैठकमा। रास्वपाकै कतिपय सांसदहरूले सरकारको राज्य सञ्चालनको ढंगमाथि प्रश्न उठाए। कतिपयले ‘सरकार खोइ?’ भनेर खोजी गरे।

रास्वपा सांसद मनिष झाले सरकारलाई राज्य सञ्चालनमा ढंग नपुगेको हो कि भनेर प्रश्न गरे। नियतमा समस्या नभए पनि राज्य सञ्चालनमा ढंग नपुगेको जस्तो देखिएको उनले टिप्पणी गरे।

‘अहिले इन्टिग्रिटीमा समस्या छैन, इन्टेन्सनमा समस्या छैन। तर कताकता ढंग नपुगेको हो? भन्नेचाहिँ लाग्छ र त्यो स्वीकार गर्नुपर्छ,’ झाले भने। आफू सबैथोकको ज्ञाता रहेको सोच राख्ने व्यक्ति शव समान रहेको बताउँदै उनले हरेक दिन केहीनकेही सिक्न आवश्यक रहेको जिकिर गरे।

झाले भने, ‘मलाई के थाहा छैन आफूले जान्नुपर्दछ, राज्य प्रणालीको सञ्चालको कुराहरूमा हामीले कतै ढंग सुधार्नुपर्छ कि जस्तो लागेको छ।’

विकास र डेलिभरीको कुरा गरिरहेको सरकारलाई उनले सामाजमा सन्तुलन कायम गर्न पनि सुझाव दिए। सामाजिक सन्तुलन कायम नहुँदासम्म सामाजिक न्याय रहन नसक्ने उनको भनाइ थियो।

मुलुकको विकासको दिगोपनका लागि मधेश, प्रवास र निजी क्षेत्र प्रमुख ‘स्टेक होल्डर’ भए पनि तीनै असुरक्षित रहेको बताए। उनले भने, ‘विकासको दिगोपनका लागि मधेश, प्रवास र निजी क्षेत्र प्रमुख स्टेक होल्डर छन्। तर दुर्भाग्यवस तीन असुरक्षित छन्।’

सांसद झाले भर्खरै मधेशमा देखिएको समस्या तत्कालका लागि समाधान भएको देखिए पनि अन्त्य नभएको भन्दै सरकारलाई सचेत गराए।

‘मधेशमा भर्खरै आगो बल्यो, हामीले जसोतसो निभयौँ,’ उनले भने,‘तर सरकारलाई म यही सम्मानित सदनबाट सन्देश दिन चाहन्छु, आगो निभेको हो, दाउरा निभेको छैन, त्यसमा सचेत भइराख्नुस्।’

मधेशमा अझै विभेद कायम रहेको बताउँदै उनले सन्तुलन बनाउन सरकारसँग आग्रह गरे।

‘त्यहाँ २५ रुपैयाँको चिप्स खोजिन्छ, एयरपोर्टमा त ब्लू लेबल र ल्यापटक ल्याउन दिनुभएको छ,’ झाले भने,‘हाम्रो मधेशको बोर्डरमा २५ रुपैयाँको चिप्स किन खोजिँदैछ? खोई त सन्तुलन?’

सवारी साधनबाट कालो स्टिर हटाए जस्तै कालो चश्मा हटाउन पनि आवश्यक रहेको उनले बताए।

‘हामीले सवारीसाधनको कालो सिसा, कालो स्टिकर त हटायौँ, अब सम्भवतः काशो चश्मा पनि हटाउनुपर्छ, त्यो पनि आवश्यक छ,’ उनले भने। सरकारको कार्यशैलीबाट निजी क्षेत्र त्रासमा रहेको उल्लेख गर्दै सांसद झाले निजी क्षेत्रलाई आत्मविश्वास दिलाउन आग्रह गरे।

‘निजी क्षेत्र त्रसित छन्, प्रहरी देखेपछि म सुरक्षित छु सोच्नुपर्ने नागरिक त्रासमा छन्, कुनबेला धरपकड गर्ला भनेर, कुन बेला मेरो घरमा छापा मार्ला भनेर,’ उनले भने,‘निजी क्षेत्रलाई आत्मविश्वास दिनुस्, भएको पैसा खर्च गर्न दिनुस्, लगानीको वातावरण दिनुस्, त्यो आवश्यक छ।’

झाले मात्रै होइन रास्वपाकै अर्का सांसद रमेश प्रसाईंले चुनावताका आफैँले गरेको भाषण सम्झिँदा लाज लाग्न थालेको बताए।

‘कहिलकाहीँ म कन्फ्युज हुन्छु–मेरै गालामा मेरै चड्कन,’ प्रसाईंले भने,‘चुनावताका सरकारी कार्यालयमा नो लाइन, रास्वपाको पालामा वन्ली अनलाई भनेर आफैँले गरेको भाषण अहिले सम्झिन्छु।’

प्रसाईंले रास्वपाकै नेतृत्वमा दुई तिहाइको सरकार भए पनि नागरिकले परिवर्तन महसुस गर्न नसकेको बताए। खाना पकाउने ग्यासका लागि लाइन बस्नुपर्ने दृश्यले लाज लागेको उनले जिकिर गरे।

‘भात पकाउने ग्यासका लागि दिनभर, रातभर, मध्यरातमा लाइन बसेको दृश्यले मलाई साँच्चिकै लाज लागेको छ,’ उनले भने।

सांसद प्रसाईंले प्रधानमन्त्री र मन्त्री निवासमा ग्यासको अभाव छ कि छैन भनेर प्रश्न गर्दै कटाक्ष गरे। उनले भने,‘देशभर ग्यास अभाव भइरहँदा प्रधानमन्त्री र मन्त्री निवासमा ग्यास अभाव छ कि छैन?’

त्यस्तै कालोबजारी भइरहेको भए सरकारको कारबाही किन नगरेको उनको अर्को प्रश्न थियो। प्रसाईंले जनताले केवल नयाँ अनहार नभई नयाँ राजनीतिक संस्कार खोजेको उल्लेख गरे।

सांसद कमल सुवेदीले प्रतिनिधिसभा बैठकमै उपस्थित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीसँग ग्यासको समस्या किन भइरहेको भनेर प्रश्न गरिन्।

‘उद्योगमन्त्री यहीँ हुनुहुन्छ। यस विषयमा मन्त्रीजीले जवाफ दिनुहुन्छ भन्ने विश्वास व्यक्त गर्छु,’ उनले भनिन्।

रास्वपाकै सांसद पारसमणि गेलालले पर्याप्त ग्यास छैन भने सरकारले स्पष्ट रूपमा भन्नुपर्ने बताए। उनले भने, ‘ग्यास पाइएको छैन, नागरिकले गुहार गरिरहनुभएको छ। ग्यासको वास्तविक अवस्था के हो, सरकारले जानकारी गराओस्।’

उनले रासायनिक मल अभावको विषय पनि उठाए। मल पाउन ठूलो संख्यामा किसान लाइन बस्नुपरेको उनको भनाइ थियो।

सरकारको बचाउ गर्न हरसमय अग्रमोर्चामा उभिने रास्वपा सांसद टीका (ज्वाला) संग्रौलाले पनि शुक्रबारको बैठकमा जवाफदेहिता खोजिन्।

पशुपति आर्यघाटमा आफन्तको दाहसंस्कार गर्न पैसा नभएको भन्दै एक नागरिकले सहयोगको अपेक्षासहित आफूलाई फोन गरेको उनले सुनाइन्।

‘एउटा नागरिकले बाँचुन्जेल अनेक शीर्षकमा राज्यलाई कर तिरिरहेको हुन्छ। कम्तीमा उसको मृत्यु हुँदा अन्तिम संस्कारलाई सम्मानजनक र सहज बनाउने जिम्मेवारी राज्यको हुनुपर्छ,’ संग्रौलाले भनिन्।

रास्वपाकै सांसद अमरेशकुमार सिंहले काभ्रेपलाञ्चाकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिरनजिक सुनकोशी नदीमा हाम फालेर बुधबार साँझदेखि बेपत्ता भएको प्रसंग उठाएका छन्।

मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हामफाली बेपत्ता भएका थिए। श्रीमीतको क्यान्सरको उपचार गराउन नसक्दा पराजुली दम्पती सुनकोशी नदीमा हामफालेको बताइएको छ।

सांसद सिंहले यो घटना सत्य भए राज्यका लागि ऐना रहेको टिप्पणी गरेका छन्।

श्रीमतीलाई क्यान्सर उपचार नहुँदा दुवै जना एकैपटक खोलामा हामफाल्नु चानचुने कुरा होइन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘गरिबले उपचार पाइरहेका छैनन्, गृहणीले ग्यास पाइरहेका छैनन्, युवाले रोजगार पाएका छैनन्, किसानले मल पाएका छैनन्, गाउँघरका जनताले सिटामोल पाएका छैनन्। यो राज्य संयन्त्र कसरी चलेको छ? यसमा राज्य संवेदनशील हुनुपर्ने होइन?’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी भने ग्यास अभाव नरहेको दाबी गर्छिन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उनकै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री गौरी कुमारीले ग्यासको अभाव नभई मागमा एकैपटक वृद्धि हुँदा बजारमा असहजता सिर्जना भएको बताइन्।

खाना पकाउने ग्यास मात्र होइन किसानले मल पाएका छैनन् भने महँगी उच्च विन्दुमा पुगेको छ। अत्यधिक महँगीका कारण सर्वसाधारणले दैनिकी धान्न कठिनाइको सामना गर्नु परिरहेको छ।

‘डेलिभरी’ दिने प्रतिबद्धता जनाए पनि सरकारले सफलता हासिल गर्न सकिरहेको देखिएको छैन।

प्रकाशित: २२ साउन २०८३ २१:४२ | Friday, August 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast