नेपालगन्ज- भेरी अस्पतालमा सघन उपचार कक्ष (आइसीयु) सेवा नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई आवश्यक उपचार दिन कठिनाइ भएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले सीमित बेड क्षमताका कारण उपचारका लागि आउने बिरामीलाई गुणस्तरीय सेवा दिन समस्या भइरहेको बताए।
उनका अनुसार आइसीयु सेवा नहुँदा गम्भीर बिरामी, दुर्घटनाका घाइते तथा जीवन जोखिममा रहेका बिरामीलाई आवश्यक सेवा दिन अस्पताललाई कठिनाइ भइरहेको छ।
अस्पतालको १३६औँ वार्षिकोत्सव कार्यक्रममा प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले अस्पतालको स्तरवृद्धि र जनशक्ति व्यवस्थापन सबै पक्षको साझा दायित्व भएको बताए।
प्रतिनिधिसभा सदस्य केपी खनालले स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको धारणा राखे।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले भेरी अस्पतालको स्तरवृद्धिका लागि प्रदेश सरकारले आवश्यक सहयोगलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।
लुम्बिनी प्रदेशसभा सदस्य माया पुनले भेरी अस्पताल यस क्षेत्रका नागरिकका लागि उपचारको प्रमुख भरोसाको केन्द्र बनेको बताइन्।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुरेश चौधरी, सुस्मा स्वर्णकार, प्रदेशसभा सदस्य वादशाह कुर्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश महामन्त्री सीएम उपाध्याय, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा (एमाले) बाँकेका अध्यक्ष नीरक गुरुङ, सङ्घीय स्वास्थ्य मन्त्रालयका पूर्वअतिरिक्त सचिव डा.श्यामसुन्दर यादव, सञ्जीवनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रोमन किदवाई, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक डा.निरज भट्टराईलगायतले शुभकामना मन्तव्य दिएका थिए।
वार्षिकोत्सवका अवसरमा अस्पतालको स्मारिका पनि विमोचन गरिएको थियो।


