राहुल गान्धी। फाइल तस्बिर
काठमाडौँ- भारतका विपक्षी नेता राहुल गान्धीलाई शिक्षा प्रणालीविरुद्ध बढ्दो आन्दोलनका क्रममा पक्राउ गरिएको केही घण्टापछि रिहा गरिएको छ।
विद्यार्थी र सामाजिक सञ्जालमार्फत संगठित ककरोच जनता पार्टी (सीजेपी) नेतृत्वको यो आन्दोलन प्रधानमन्त्री नरेन्द्र मोदी सरकारका लागि हालसम्मकै सबैभन्दा ठूलो चुनौतीमध्ये एक बनेको भारतीय सञ्चारमाध्यमले बुधबार जनाएका छन्।
आन्दोलनकारीहरूले चिकित्सा शिक्षाको प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएका कारण २० लाखभन्दा बढी विद्यार्थीले पुनः परीक्षा दिनुपरेको तथा यस घटनासँग कम्तीमा १२ विद्यार्थीको आत्महत्याको सम्बन्ध जोडिएको भन्दै प्रधानमन्त्री मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्।
राहुल गान्धीसहित विपक्षी दलका अन्य नेताहरूलाई मंगलबार नयाँदिल्लीस्थित प्रधानमन्त्री मोदीको सरकारी निवासअगाडि धर्ना दिँदै सरकारमाथि विद्यार्थीका माग बेवास्ता गरेको आरोप लगाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनीहरूले शिक्षा सुधार र सरकारको जवाफदेहिताको माग गर्दै भइरहेको विद्यार्थी आन्दोलनमाथि भएको कडा प्रहरी दमनको पनि विरोध गरेका थिए।
संसद्तर्फ प्रदर्शनकारी अघि बढेपछि सोमबार भएको प्रदर्शनमा प्रहरीले अश्रुग्यास र लाठी प्रयोग गरी उनीहरूलाई तितरबितर पारेको थियो।
शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मंगलबार राति सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै राहुल गान्धीले विद्यार्थीलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिरहेको आरोप लगाए।
उनले लेखेका छन्, ‘राहुल गान्धीले विद्यार्थीलाई राजनीतिक अस्त्र बनाएर अस्थिरता सिर्जना गर्ने प्रयास गरिरहेका छन्। भारतका विद्यार्थी अराजकता होइन, निश्चितता; नाराबाजी होइन, समाधान; र अवरोध होइन, जिम्मेवारीका हकदार छन्।’
प्रधानले सरकारले विद्यार्थीलाई आवश्यक उत्तर, शिक्षा सुधार र जवाफदेहिता सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्।
सीजेपी दुई महिनाअघि स्थापना भएयता सामाजिक सञ्जालमा लाखौँ समर्थक जोड्न सफल भएको छ। यसको लोकप्रियताले रोजगारीको अभाव, बारम्बार हुने प्रश्नपत्र चुहावट तथा शिक्षा प्रणालीप्रतिको युवाको असन्तुष्टि झल्काएको विश्लेषण गरिएको छ।
प्रहरीका अनुसार सोमबारको प्रदर्शनका क्रममा ११८ जना प्रहरी र अन्य ६० जना घाइते भएका छन्।
नयाँदिल्लीसँगै मुम्बई र बेंगलुरुमा पनि सयौँ व्यक्तिको सहभागितामा प्रदर्शन भएको थियो। बुधबार पनि नयाँ दिल्लीको जन्तर–मन्तर प्रदर्शनस्थलमा सयौँ प्रदर्शनकारी डेरा जमाएर बसेका छन्। सीजेपीले आन्दोलन जारी रहने जनाएको छ।
आन्दोलनले वातावरणविद् तथा अभियन्ता सोनम वाङ्चुकको समर्थन पाएपछि थप गति लिएको छ। वाङ्चुकले जुन २८ देखि आमरण अनशन सुरु गरेका थिए। शनिबार प्रहरीले उनलाई जबर्जस्ती अस्पताल लगेको थियो।
उनकी श्रीमतीले गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको भन्दै अदालतमा निवेदन दिएपछि अदालतको आदेशअनुसार मंगलबार उनलाई निजी अस्पतालमा सारिएको छ।

