आज साउने संक्रान्ति पर्व, के के गरिन्छ?

हिमाल प्रेस १ साउन २०८३ ६:२५ | Friday, July 17, 2026
6
SHARES
आज साउने संक्रान्ति पर्व, के के गरिन्छ?

काठमाडौँ- सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ।

साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ।

अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन्। त्यसक्रममा हिलोमैलोका कारण लाग्ने छालासम्बन्धी रोगबाट बच्न लुतो फाल्ने परम्परा रहेको प्रा.डा.देवमणि भट्टराई बताउँछन्।

परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति राखी कण्डारक नाम गरेको राक्षसको पूजा गरेर अगुल्टो फाल्ने चलन छ।

लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने प्रचलन नेपाली समाजमा रहेको छ।

साउन महिनालाई भगवान् शिवको विशेष पूजाआराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो चुरा तथा हरियो कपडा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ।

साउन महिना देवादिदेव भगवान् शिवको महिना भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्ने गरेको छ।

प्रकाशित: १ साउन २०८३ ६:२५ | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast