काठमाडौँ- विश्व फुटबलमा व्यक्तिगत प्रतिभाभन्दा उत्कृष्ट टोली नै बलियो हुन्छ भन्ने सन्देश स्पेनले विश्वकप सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै फेरि एकपटक दिएको छ।
युरोपियन च्याम्पियन स्पेनले खेलभर बल नियन्त्रण, मिडफिल्डको दबदबा र उत्कृष्ट रणनीतिक प्रदर्शन गर्दै विश्वकप इतिहासमा दोस्रो पटक फाइनल यात्रा तय गरेको हो।
किलियन एम्बाप्पे, उस्मान डेम्बेले र माइकल ओलिसे जस्ता आक्रामक खेलाडीका कारण प्रतियोगिताभर फ्रान्सलाई उपाधिको मुख्य दाबेदार मानिएको थियो। तर स्पेनले फ्रान्सका ती स्टार खेलाडीलाई प्रभावहीन बनाउँदै सहज जित निकाल्यो।
लुइस दे ला फुएन्तेको टोलीले यस विश्वकपको सुरुआत अपेक्षाअनुसार गर्न सकेको थिएन। पहिलो खेलमा नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनले त्यसपछि भने लगातार लय समात्यो।
सातमध्ये ६ खेलमा क्लिनसिट राखेको स्पेन अब आइतबार हुने फाइनलमा अर्जेन्टिना वा इंग्ल्यान्डमध्ये एकसँग भिड्नेछ।
फ्रान्सले भने खेलभर तीनवटा मात्रै प्रहार पोस्टको दिशामा गर्न सक्यो। स्पेनको मिडफिल्डले खेल नियन्त्रणमा राखेपछि फ्रान्सका स्टार खेलाडीहरू प्रभाव जमाउन असफल भए।
पूर्व प्रिमियर लिग विजेता क्रिस सटनले स्पेनले फ्रान्सलाई पूर्ण रूपमा निष्प्रभावी बनाएको टिप्पणी गरे। उनका अनुसार प्रतियोगिताभर प्रशंसा पाएको फ्रान्सलाई स्पेनले खेलको हरेक पक्षमा पछि पार्यो।
रोय किनले पनि फ्रान्स व्यक्तिगत रूपमा उत्कृष्ट खेलाडीहरूको टोली भए पनि टोलीका रूपमा खेल्न नसकेको बताए। उनले स्पेनको खेललाई प्रतियोगिताकै उत्कृष्ट प्रदर्शनमध्ये एकको संज्ञा दिए।
दे ला फुएन्तेको सफल नेतृत्व
बीबीसीले भनेअनुसार सन् २०२२ डिसेम्बरमा स्पेनको मुख्य प्रशिक्षक नियुक्त हुँदा लुइस दे ला फुएन्तेलाई धेरैले कम चर्चित प्रशिक्षकका रूपमा हेरेका थिए। तर उनले सन् २०२३ मा नेसन्स लिग र २०२४ मा युरो जिताएपछि अब स्पेनलाई विश्वकप फाइनलसम्म पुर्याएका छन्।
स्पेनका उल्लेखनीय कीर्तिमान
स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३७ खेल अपराजित रहँदै इटालीको कीर्तिमान बराबरी गरेको छ। यस संस्करणको विश्वकपमा स्पेन एकै प्रतियोगितामा ६ क्लिनसिट राख्ने पहिलो टोली बनेको छ।
लामिन यामालले स्पेनबाट खेलेका विश्वकप र युरोका सबै १२ खेल जितेका छन्। यस्तै आयमेरिक लापोर्टे, मिकेल ओयार्जाबाल, फाबियन रुइज, मिकेल मेरिनो र यामालले ठूला प्रतियोगितामा स्पेनबाट खेलेका कुनै खेल हारेका छैनन्।
२०१० को भावना फर्किएको दाबी
स्पेनले अन्तिम १६ मा पोर्चुगललाई इन्जुरी समयको गोलमार्फत हराएको थियो भने क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध पनि अन्तिम समयमा विजयी गोल गरेको थियो। तर सेमिफाइनलमा भने टोलीले सुरुदेखि नै खेल नियन्त्रणमा राख्यो।
मिकेल ओयार्जाबालको पेनाल्टी र पेड्रो पोरोको आकर्षक गोलले स्पेनले पहिलो घण्टाभित्रै दुई गोलको अग्रता बनाएको थियो।खेलपछि प्रशिक्षक दे ला फुएन्तेले आफ्नो टोलीले २०१० को विश्वकप विजेता स्पेनको भावना पुनः फर्काएको बताए।
उनले खेलाडीहरूको मेहनत, त्याग र निरन्तर सुधार गर्ने सोचका कारण टोली फाइनल पुग्न सफल भएको बताए। खेलपछि पनि नखेलेका खेलाडीहरू प्रशिक्षणमै व्यस्त रहेको उल्लेख गर्दै उनले टोलीभित्रको प्रतिबद्धता नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए।
राजा फिलिपेको बधाई
स्पेनको जितपछि देशभर समर्थकहरू उत्सवमा उत्रिएका थिए। प्रशिक्षक दे ला फुएन्तेले खेल सकिएलगत्तै स्पेनका राजा फिलिपे षष्ठमबाट बधाई फोन आएको जानकारी दिए।
स्पेनका अधिकांश खेलाडीले उमेर समूहदेखि नै दे ला फुएन्तेको प्रशिक्षणमा खेलेका छन्। यही दीर्घ सहकार्यले टोलीमा पारिवारिक सम्बन्ध र सामूहिक भावना विकास भएको विश्लेषकहरूको भनाइ छ।
रणनीतिमा पनि स्पेन उत्कृष्ट
फुटबल रणनीति विश्लेषक उमिर इरफानका अनुसार स्पेनले परम्परागत शैलीअनुसार बल नियन्त्रण, छोटो पास, उच्च प्रेसिङ र बलियो मिडफिल्डमार्फत फ्रान्सलाई दबाबमा राख्यो।
फाबियन रुइज, रोड्री र डानी ओल्मोको मिडफिल्ड त्रयीले फ्रान्सको दुई सदस्यीय मिडफिल्डलाई पूर्ण रूपमा नियन्त्रणमा राख्यो। ओल्मो पटकपटक गहिरो स्थानमा झरेर अतिरिक्त खेलाडीको भूमिका खेल्दा फ्रान्सका डिफेन्डर अन्योलमा परे।
दोस्रो गोलको क्रममा पनि स्पेनले फ्रान्सका फुलब्याकको कमजोरीको फाइदा उठायो। पेड्रो पोरोले अगाडि बढ्दै उत्कृष्ट फिनिसिङ गरेका थिए।



