काठमाडौँ– एसीसी महिला यू-१९ प्रिमियर कपमा नेपाल लगातार तेस्रो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा आज भएको तेस्रो खेलमा नेपालले हङकङमाथि १८१ रनको ऐतिहासिक र फराकिलो जित दर्ता गरेको हो। कप्तान सोनी पाख्रिनको सानदार ९० रन र जादुमयी ४ विकेटको मद्दतले नेपालले हङकङलाई पूर्ण रूपमा दबाबमा राख्दै एकपक्षीय जित निकालेको हो।
पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २११ रनको विशाल योगफल खडा गरेको थियो। नेपालका लागि कप्तान सोनी पाख्रिनले कप्तानी इनिङ्स खेल्दै मात्र ६० बलमा १३ चौका र १ छक्काको मद्दतले उत्कृष्ट ९० रन बनाइन्।
पहिलो विकेट सस्तैमा गुमाए पनि सोनीले साबित्री धामीसँग मिलेर दोस्रो विकेटका लागि १३६ रनको बलियो साझेदारी गरेकी थिइन्। साबित्रीले ३६ बलमा ६ चौका प्रहार गर्दै ५२ रनको अर्धशतकीय योगदान दिइन्।
अन्तिम ओभरहरूमा विकेटकिपर ब्याटर अलीशा कुमारी यादवले आक्रामक ब्याटिङ गर्दै १२ बलमा नटआउट २३ रन जोडेपछि नेपाल विशाल योगफलसम्म पुगेको थियो। हङकङका लागि निम्रा अरबले २ तथा वङ विङ किउ हेली र अरुज फातिमाले १-१ विकेट लिए।
२१२ रनको विशाल लक्ष्य पछ्याएको हङकङ नेपाली बलरहरूको धारिलो बलिङसामु निरिह सावित भयो। हङकङले पूरै २० ओभर ब्याटिङ गरे पनि ९ विकेट गुमाएर मात्र ३० रन बनाउन सक्यो। हङकङका लागि ओपनर वङ विङ किउ हेलीले बनाएको १३ रन नै टोलीको सर्वाधिक स्कोर रह्यो भने टोलीका ५ जना ब्याटर शून्य रनमै पेभेलियन फर्किएका थिए।
नेपालको जितमा बलिङतर्फ कप्तान सोनी पाख्रिनले ४ ओभरमा मात्र ४ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिँदै हङकङको मध्यक्रम ध्वस्त पारिन्। अर्की ओपनर बलर मनिषा उपाध्यायले अत्यन्तै किफायती बलिङ गर्दै ४ ओभरमा २३ डट बल फालेर मात्र १ रन खर्चिदै २ विकेट लिइन्। त्यस्तै कृष्मा गुरुङ र स्नेहा महराले १-१ विकेट हात पारे।



