काठमाडौँ- सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले भानुजयन्ती आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको स्मरण मात्र नभई नेपाली भाषा, साहित्य, संस्कृति र साझा पहिचानको उत्सव भएको बताएका छन्।
सोरेंङ जिल्लामा आयोजित २१२औँ भानुजयन्तीको राज्यस्तरीय समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले आदिकवि भानुभक्तको साहित्यिक योगदानले नेपाली भाषालाई जनभावना अभिव्यक्त गर्ने, सपना देख्ने र सांस्कृतिक सम्पदा संरक्षण गर्ने सशक्त माध्यमका रूपमा स्थापित गरेको बताए।
उनले सिक्किम सरकारले राज्यका सबै भाषा, साहित्य र समृद्ध सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा दृढ प्रतिबद्धता रहेको दोहोर्याए। सिक्किमको विविधता नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै उनले प्रत्येक भाषा र समुदायले राज्यको पहिचानलाई समृद्ध बनाउने बताए। ‘एउटा भाषाको सम्मान गर्दा अर्को भाषाको सम्मान घट्दैन। सबै भाषा मिलेर सिक्किमको आत्मा निर्माण गर्छन्,’ उनले भने।
मुख्यमन्त्री तामाङले यस वर्ष राज्यस्तरीय भानुजयन्ती समारोह सोरेंङ जिल्लामा आयोजना गर्नु स्थान परिवर्तन नभई राज्यका प्रमुख सांस्कृतिक पर्वहरू सबै जिल्लामा समान रूपमा पुग्नुपर्छ भन्ने सरकारको विश्वासको प्रतिबिम्ब भएको बताए। यसबाट प्रत्येक जिल्लाले सिक्किमको सांस्कृतिक सम्पदाको प्रतिनिधित्व गर्ने अवसर पाउने र सबै समुदायले समान सम्मान तथा अपनत्व महसुस गर्ने उनको भनाइ थियो।
समारोहका अवसरमा उनले नेपाली भाषालाई भारतीय संविधानको मान्यता दिलाउन ऐतिहासिक भूमिका निर्वाह गरेका स्वर्गीय नरबहादुर भण्डारीप्रति श्रद्धाञ्जलि व्यक्त गरे। भण्डारीको दूरदर्शी नेतृत्व र अथक प्रयासले नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गरेको उल्लेख गर्दै उनले त्यस विरासतलाई सम्मान र निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्री तामाङले विद्यार्थीहरूलाई मातृभाषाप्रति आजीवन प्रेम विकास गर्न पनि आग्रह गरे। अंग्रेजी भाषा सिक्नु विश्वसँग जोडिन आवश्यक भए पनि मातृभाषाले आफ्नै आत्मा र पहिचानसँग जोड्ने उनले बताए।
उनले भानुजयन्तीलाई नेपाली भाषाको मात्र नभई सिक्किमको सद्भाव, एकता र साझा सांस्कृतिक सम्पदाको उत्सवका रूपमा मनाउन सबैमा आह्वान गरे।
‘समाज केवल भौतिक पूर्वाधारले महान् बन्दैन, भाषा, संस्कृति, साहित्य, शिक्षा, नैतिक मूल्य, सद्भाव र आत्मसम्मानले महान् बन्छ,’ उनले भने।
मुख्यमन्त्री तामाङले ‘सुनौलो, समृद्ध र समर्थ सिक्किम’ निर्माणको लक्ष्य हासिल गर्न प्रत्येक भाषा, कलाकार, साहित्यकार, विद्यार्थी र समुदायले सम्मान र आत्मविश्वासका साथ अघि बढ्ने अवसर सुनिश्चित गरिने प्रतिबद्धता पनि व्यक्त गरे।



