पुराना कांग्रेस, नयाँ दल खोल्दै!

हिमाल प्रेस २२ असार २०८३ १७:४३ | Monday, July 6, 2026
पुराना कांग्रेस, नयाँ दल खोल्दै!

काठमाडौँ- नेपाली कांग्रेसका अघिल्लो पुस्ताका ६ नेताहरू मिलेर नयाँ दल खोल्ने गृहकार्य अघि बढाएका छन्। नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलाले नयाँ पार्टी गठनका लागि भिन्नै कार्यालयसमेत खोलेका छन्। उनीहरू काठमाडौँको महाराजगन्ज चुनदेवीमा कार्यालय खोलेका हुन्।

यी ६ जना यसअघि पटकपटक पार्टी र सरकारको शीर्ष तहको जिम्मेवारीमा पुगिसकेका हुन्। पूर्णबहादुर खड्का पटकपटक मन्त्री भएका थिए। शशांक कोइराला पूर्वमहामन्त्री हुन् भने निधि, सिंह र सिटौला पनि पटकपटक मन्त्री भइसकेका नेतामा पर्छन्। यसैगरी तीनजनाचाहिँ कांग्रेसको पारिवारिक बिरासत बोकेका नेतामा पर्छन्। शशांक कांग्रेसका संस्थापक बीपी कोइरालाका छोरा हुन्। यसैगरी कांग्रेसका संस्थापक महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधि हुन् भने गणेशमान सिंहका पुत्र प्रकाशन सिंह हुन्।

नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना गर्दै औपचारिक कार्य प्रारम्भ गरेको छ। काठमाडौँको चुनदेवीमा सोमबार पार्टीका संस्थापन इतर नेताहरुले १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना गर्दै औपचारिक कार्य प्रारम्भ गरेका हुन्।

कार्यालय उद्घाटनसँगै १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक बसेको र समसामयिक राजनीतिक विषय र महाधिवेशनका एजेन्डामाथि छलफल भएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए।

बैठकमा पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ‘विशेष महाधिवेशन’ र ‘नियमित महाधिवेशन’ का विषयमा विगतदेखि देखिएको विवाद र हालसम्मका गतिविधिहरूबारे स्पष्ट पारेका थिए। पार्टीलाई विभाजन हुनबाट जोगाउन शीर्ष नेताहरू, पूर्व पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूले लगातार पाँच महिनादेखि प्रयत्न गरे पनि संस्थापन पक्षका कारण ठोस परिणाम आउन नसकेको संस्थापन इतर समूहको निष्कर्ष छ।

नेता विश्वकर्माले पार्टीको नेतृत्वमा रहेकाहरुबाट पार्टी एकताका लागि कुनै पनि सार्थक पहल हुन नसकेको र उनीहरूका कतिपय अभिव्यक्तिले एकतामा थप खलल पु¥याएको उल्लेख गरे। उनले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक मंगलबार बस्ने र १५औँ महाधिवेशनको कार्यतालिका बनाउने जानकारी दिए।

आगामी साउन ६ गते बीपी स्मृति दिवस मनाउनका लागि समेत मंगलबारको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए। १५औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ का रूपमा सफल बनाउनका लागि सम्पर्क कार्यालय स्थापना गरिएको विश्वकर्माले जानकारी दिए।

प्रकाशित: २२ असार २०८३ १७:४३ | Monday, July 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast