त्रिवि उपकुलपति दौडमा ‘प्रा.डा सिंह बलिया दाबेदार’

हिमाल प्रेस १९ असार २०८३ १५:०५ | Friday, July 3, 2026
32
SHARES
त्रिवि उपकुलपति दौडमा ‘प्रा.डा सिंह बलिया दाबेदार’ नन्दबहादुर सिंह, दुर्गादत्त पौडेल र भोला थापा।

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति नियुक्तिको अन्तिम प्रतिस्पर्धामा रहेका तीन उम्मेदवारमध्ये विश्वविद्यालय प्रशासन, संस्थागत अनुभव र सार्वजनिक विश्वविद्यालय सञ्चालनको पृष्ठभूमिका आधारमा प्रा.डा. नन्दबहादुर सिंह तुलनात्मक रूपमा बलिया दाबेदारका रूपमा हेरिन थालेका छन्। शिक्षाविद्हरूका अनुसार त्रिविजस्तो जटिल विश्वविद्यालयको नेतृत्वका लागि शैक्षिक योग्यतासँगै संस्थागत स्मृति र प्रशासनिक अनुभव निर्णायक हुनेछन्। उपकुलपतिका लागि सिंहसहित प्रा.डा. दुर्गादत्त पौडेल र प्रा.डा. भोला थापा प्रतिस्पर्धामा छन्।

७० वर्षीय प्राध्यापक दुर्गादत्त पौडेल लामो समय अमेरिकामा अध्ययन-अनुसन्धान र प्राध्यापनमा संलग्न रहेका व्यक्ति हुन्। कृषिशास्त्रमा विद्यावारिधि उनले अमेरिकाको लुसियाना स्टेट युनिभर्सिटीमा अध्यापन गरेको अनुभव बटुलेका छन्। अन्तर्राष्ट्रिय शैक्षिक अनुभव उनको सबल पक्ष मानिए पनि त्रिभुवन विश्वविद्यालयको आन्तरिक प्रशासन, विद्यार्थी राजनीति, शिक्षक-कर्मचारी संयन्त्र र सार्वजनिक विश्वविद्यालय सञ्चालनको प्रत्यक्ष नेतृत्व अनुभव सीमित रहेको भन्दै एकथरी शिक्षाविद्हरूले प्रश्न उठाइरहेका छन्। कतिपयले उनको नेपाली नागरिकताका विषयमा पनि चासो व्यक्त गरेका छन्।

उनीहरूका अनुसार त्रिविजस्तो संस्थाको नेतृत्वका लागि अनुसन्धान र अध्यापनसँगै विश्वविद्यालय सञ्चालनको व्यावहारिक अनुभव अपरिहार्य हुन्छ। ‘उर्वर समय अमेरिकामा बिताएका वयोवृद्ध व्यक्तिले त्रिविजस्तो संस्था कसरी चलाउलान्?’ एकजना शिक्षाविद्ले भने।

अर्का दाबेदार प्राध्यापक भोला थापा काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति हुन्। उनले प्राध्यापक, सहायक डिन, कार्यकारी डिन, रजिस्ट्रार हुँदै उपकुलपतिसम्मको जिम्मेवारी सम्हालेका छन्। काठमाडौँ विश्वविद्यालयको संरचना, आकार, वित्तीय मोडल र प्रशासनिक प्रणाली त्रिभुवन विश्वविद्यालयभन्दा भिन्न भएकाले त्यहाँको नेतृत्व अनुभवलाई त्रिविमा कत्तिको प्रभावकारी रूपमा रूपान्तरण गर्न सकिन्छ भन्ने प्रश्न उठ्ने गरेको छ।

यसैबीच उनी वर्तमान शिक्षामन्त्री सस्मित पोखरेलका नातेदार भएकाले उनको उम्मेदवारीबारे विश्वविद्यालय वृत्तमा आलोचना हुन थालेको छ। यद्यपि उक्त सम्बन्धले छनोट प्रक्रियामा प्रभाव पारेको भन्ने कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन।

प्राध्यापक नन्दबहादुर सिंह भने त्रिभुवन विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक दुवै प्रणालीसँग लामो समयदेखि प्रत्यक्ष रूपमा आबद्ध रहेका उम्मेदवार हुन्। त्रिविमा लामो समय प्राध्यापन गरेका सिंह २०७६ सालमा मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका थिए। त्यतिबेला विश्वविद्यालय विभिन्न प्रशासनिक, आर्थिक तथा संगठनात्मक चुनौतीको सामना गरिरहेको अवस्थामा उनले नेतृत्व सम्हालेका थिए। उनका समर्थकहरूका अनुसार उनले चुनौतीपूर्ण परिस्थितिमा विश्वविद्यालय सञ्चालनलाई स्थिर बनाउँदै संस्थागत सुधारका पहल गरेका थिए।

शैक्षिक रूपमा पनि सिंहको पृष्ठभूमि बलियो छ। त्रिभुवन विश्वविद्यालयबाट एमएस्सीमा स्वर्णपदक हासिल गरेका उनले जापानको युनिभर्सिटी अफ टोकियोबाट विद्यावारिधि गरेका छन्। अन्तर्राष्ट्रिय अध्ययनसँगै नेपालको सार्वजनिक विश्वविद्यालय सञ्चालनको प्रत्यक्ष अनुभव भएकाले उनलाई शैक्षिक योग्यता र प्रशासनिक नेतृत्व दुवै पक्षबाट सक्षम उम्मेदवारका रूपमा हेरिएको छ।

शिक्षाविद्हरूका अनुसार त्रिभुवन विश्वविद्यालय कुनै सामान्य शैक्षिक संस्था होइन। यहाँ हजारौँ शिक्षक-कर्मचारी, लाखौँ विद्यार्थी, आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस, अनुसन्धान केन्द्र तथा जटिल प्रशासनिक संरचना छन्। त्यसैले उपकुलपतिका लागि शैक्षिक योग्यता, प्रशासनिक अनुभव, संस्थागत स्मृति, निर्णय क्षमता र विश्वविद्यालयभित्रका विविध पक्षसँग समन्वय गर्ने दक्षता सबैलाई महत्त्वपूर्ण मापदण्डका रूपमा हेरिएको छ। त्रिविका एक प्राध्यापकले भने, ‘यी तीनमध्ये प्राध्यापक सिंह बलिया दाबेदार हुन्। उनलाई विश्वविद्यालयका कुनाकुना थाहा छ। बाहिरका मान्छे ल्याएर त्रिवि कसरी चल्छ?’

उपकुलपति छनोटका लागि ५० जनाको आवेदन परेको थियो। तीमध्ये अमरप्रसाद यादव, कविप्रसाद पोखरेल, कृष्णराज आचार्य, गोविन्द सुवेदी, टंकनाथ धमला, ताराप्रसाद भुसाल, दुर्गादत्त पौडेल, नन्दबहादुर सिंह, भोला थापा र रामप्रसाद रेग्मी सर्टलिस्टमा परेका थिए। प्रस्तुतीकरण र अन्तर्वार्तापछि छनोट समितिले अन्तिम तीन जनाको नाम सरकारलाई सिफारिस गरेको हो।

प्रकाशित: १९ असार २०८३ १५:०५ | Friday, July 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast