काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्ला तीन दिनको थोक मूल्य विश्लेषणले केही हरियो तरकारीको मूल्य लगातार बढ्दा केहीको मूल्य घटेको देखाएको छ।
१७ असारमा प्रतिकिलो ४५ रुपैयाँ रहेको ठूलो नेपाली गोलभेँडा १९ असारसम्म आइपुग्दा ५० रुपैयाँ पुगेको छ। सानो टनेल गोलभेँडा पनि २५ रुपैयाँबाट बढेर ३५ रुपैयाँ पुगेको छ।
स्थानीय बन्दाको मूल्य ६० रुपैयाँबाट बढेर ७० रुपैयाँ पुगेको छ भने रातो मूला ३० रुपैयाँबाट ४० रुपैयाँ पुगेको छ। बोडी तने ३५ रुपैयाँबाट ४० रुपैयाँ र गाजर (तराई) ९० रुपैयाँमा कारोबार हुन थालेको छ।
यता स्थानीय काउली भने तीन दिनमै प्रतिकिलो ९० रुपैयाँबाट घटेर ६० रुपैयाँमा झरेको छ। ब्रोकाउलीको मूल्य पनि ७० रुपैयाँबाट ५० रुपैयाँमा आएको छ। घिरौँला ४० रुपैयाँबाट ३० रुपैयाँमा झरेको छ भने भिन्डी, लौका, परवर र चिचिण्डोको मूल्य स्थिर रहेको छ।
समितिका अनुसार बजारमा आपूर्ति बढेका केही तरकारीको मूल्य घट्दा माग बढी भएका गोलभेँडा, बन्दा र मूलाको मूल्यमा वृद्धि भएको हो।




