हिँड्दाहिँड्दै जातिपोखरी

राजाराम बर्तौला २१ माघ २०७९ ७:३३
38
SHARES
हिँड्दाहिँड्दै जातिपोखरी

हिजोआज एउटा गजल चर्चामा छ, ‘के लत बस्यो…।’

तिलकसिंह पेलाको स्वर रहेको गजलको बोलजस्तै मलाई पनि हिँड्ने लत बसेको छ। हरेक शनिबार पदयात्रा गरिएन भने साता खल्लो हुन्छ।

माघको ठिहिर्‍याउने जाडो र घरायसी व्यस्तताले गर्दा दुई हप्ता घरमै कजिनुपरेको थियो। ज्यान घरमा भए पनि मन भने उपत्यकाका डाँडा, भञ्ज्याङ, चौतारा, खोल्सा, जंगल कताकता पुगिरह्यो।

मन थाम्न नसकेपछि गत शनिबार फुक्कापाल भएर झोला भिरेँ अनि घरबाहिर निस्किएँ। दक्षिणकाली मन्दिरदेखि चौकोट हुँदै जातिपोखरी र ओरालो लाग्दै छैमलेसम्मको पदयात्रामा।

दक्षिणकाली उपत्यकाभित्र रहेका शक्तिपीठमध्ये एक हो। बिहान ९ बजे हामी पुग्दा दर्शनार्थीको भीड थामिनसक्नु थियो। लामबद्ध महिला र पुरुषको उपस्थिति हेर्दा यस शक्तिपीठको महिमा र आस्था बुझ्न सकिन्थ्यो।

भीड छिचोलेर देवीको दर्शन गर्न सक्ने अवस्था थिएन। नजिकैको एउटा अग्लो स्थानबाट श्रद्धाले नमन गर्दै हामी पदयात्रामा उकालो लाग्यौँ।

पदयात्रा अन्यत्रजस्तो कठिन थिएन। दक्षिणकाली मन्दिर १४ सय मिटरको उचाइमा छ। हामीले १८ सय मिटरको उचाइमा पुग्नु थियो। अनि पुगेर फर्किनु थियो।

उकालीओरालीमा कठिनाइको हिसाबले यो पदयात्रा मध्यम स्तरको थियो। दिनभरिमा १४ किलोमिटर हिँड्नुपर्ने थियो। ग्रामीण परिवेश, जनजीवन, प्राकृतिक सौन्दर्य आदि पदयात्राका आकर्षण थिए। प्रकृतिसँग निकट हुन पाउँदा गद्गद थिएँ।

पदमार्गमा यातायातका साधनबाट टाढिनुपर्दैन। केही आकस्मिक समस्या आइलाग्यो र बीच बाटोबाट फर्कनुपरेमा उद्धार कार्य सजिलै हुन सक्छ। सानो–सानो समूहमा हिँड्दा पनि हुने देखिन्छ यो पदमार्ग। तर बाटो देखेको सहयात्री भने साथमा अवश्य हुनुपर्छ।

उकालो लाग्दै थसीगाउँ पुगियो। गाउँ उत्तर र दक्षिणबाट उठेको डाँडामा बसेको छ। तल छैमले, दक्षिणकाली र बागमतीपारिको तरेली परेको पाखामा बसेको बस्तीको सुन्दरता यहाँबाट देख्न सकिन्छ। गाउँको डाँडी हुँदै हिँडेपछि पुगिन्छ डाँडागाउँ।

पारिलो घाम लाग्ने दक्षिण पाखोमा नासपातीको बोटहरूलाई प्रुनिङ अर्थात् छिमलेर राखिएको देखिन्छ। बोटबिरुवाको फेदको वरिपरि खनेर प्रांगारिक मल हालेर राखिएको थियो। यसो गर्दा हिउँदभरि बिरुवाले मलको रासायनिक तत्त्व सोसेर जरामा पुर्‍याउँछ र फलको उत्पादन राम्रो हुन्छ। हिउँदमा यसरी छिमलेर राख्दा वसन्त ऋतुको आगमनसँगै पालुवाले झाँगिने र धेरै फल लाग्ने हुँदा यो प्रवधिलाई सबैले अवलम्बन गरेको देखियो। खाद्यान्न बालीको खेतीकिसानीका लागि तल फेदीका फाँटका गह्रामा कृषिकर्म गरिने गरिएको रहेछ।

गाउँको आफ्नै विशेषता हुन्छ। गाउँलेको कर्म र प्रकृतिको धर्म मिलेर बन्दछ गाउँको परिचय। त्यसै गरी आफूलाई चिनाएको छ फर्पिङले। फर्पिङको नासपाती भनेर त प्रख्यात नै छ। यहाँको नासपातीपछि अर्को वस्तु हो लप्सी।

फर्पिङ, दक्षिणकाली, छैमलेलगायत बस्ती ‘चित्लाङका मूला ढिकीभन्दा ठूला’ भनेजस्तै यहाँको नासपातीलाई नेपाली स्याउ पनि भनिने गरिएको छ।

प्रायः तामाङ बस्ती छ यहाँ। ढुंगाले बनेका पुराना घरलाई सिमेन्ट, इँटा, छड र बालुवाको मिश्रणले प्रतिस्थापित गर्दै आएका छन्। ढुंगाको स्लेटले छाएको छाना देखिन छाडेका छन्। यो पहाडी बस्तीलाई आधुनिकताले छोप्दै ल्याएको छ। भिरपाखामा खेतीपातीमा नयाँ प्रविधि प्रयोग हुन थालेको प्रस्टै देखिन्छ। खाली ठाउँ, गाउँका भित्तापाखा र चउरमा ठूल्ठूला धार्मिक गुम्बा निर्माण भइरहेका छन्।

उकालो लाग्दै गएपछि डाँडाको टुप्पैमा पुगिन्छ। जहाँ चौकोटदेवीको मन्दिर छ। चौकोटदेवीलाई सबै देवीको संगमस्थल मानिने रहेछ। डाँडाको टुप्पैमा भएको हुँदा पानीको प्रबन्ध छैन। मन्दिर रूखको फेदीमा खुला ठाउँमा छ। देवस्थलमा आउने श्रद्धालुको आश्रयका लागि देवीभक्तले निजी प्रयासमा एउटा सानो सत्तल निर्माण गरेका छन्। यहाँबाट मकवानपुर, काठमाडौँ, ललितपुर र भक्तपुरको मनोरम दृश्य हेर्न सकिन्छ।

चौकोटदेवीको मन्दिरबाट उत्तरतर्फ हेरे हुमाने र दक्षिणतर्फ राम्चे भञ्ज्याङ देखिन्छ। हुमाने काठमाडाैँ र मकवानपुर जिल्लाको सिमाना हो। हुमानेसम्म सवारीसाधनमा गएर चौकोटदेवीको दर्शन गर्न डाँडो चढे पनि हुन्छ। दक्षिणकालीबाट सिस्नेरी हुँदै हेटौँडा जाने बाटो र फर्पिङबाट हुमाने हुँदै हेटौँडा जाने बाटो इन्द्रसरोवरमा गएर मिसिन्छ। त्यहाँदेखि एउटै बाटो हेटौँडा जान्छ। यही दुइटा बाटाको बीचमा हामी पदयात्रा गरिरहेका थियौँ।

चौकोटदेवीबाट केही ओरालो लागेर दक्षिणतर्फ हिँडेपछि जातिपोखरी पुगिन्छ। यहाँबाट जातिपोखरीतर्फ जाँदै गर्दा जलवायु परिवर्तनले ल्याएको असर देखियो।

माघको दोस्रो शनिबारको पदयात्रामा शिशिरको चिसो निकै हुनुपर्ने हो। चिसो ठिहीको कहर देखिनुपर्ने थियो। छाया परेका ठाउँमा शीतका थोपा देखिनुपर्ने हुन्। तर त्यस्तो केही पनि भएन, देखिएन।

बाटोमा हिँड्दा ऐँसेलुका बोट देखिए। ऐँसेलुका कोपिला कतिखेर फुटुँला र बाहिर आउँलाझैँ गरी देखिएका थिए। गुराँसको फूल माघमध्येमा दुर्लभ दृश्य हो। फागुनमा फुल्नुपर्ने यी वनस्पति माघमै फुलिसकेको देखियो। जाई फूल फुलेर पहेँलाम्मे भएको थियो। शिशिर ऋतुमा यी फूलको पल्लवमा केशरी पलाउनु भनेको ऋतुमा परिवर्तन आउनु हो। ऋतुमा परिवर्तन महिना दिनले सरेको प्रतीत हुन्छ। जलवायु परिवर्तनको असर नै यसको प्रमुख कारक तत्त्व हो।

यी प्राकृतिक दृश्य हेर्दै जातिपोखरी पुग्यौँ। नेवारीमा ‘जा’ भनेको भात र ‘ति’ भनेको चौलानी रहेछ। यो पोखरी पहाडको शीर्ष भागमा छ। यसको परिधिमा नेवारहरूको बस्ती रहेको हुँदा पोखरीको नाम भाषिक दृष्टिबाट रहन गएको भन्ने सुनियो।

पोखरी सानो छ र वर्षाको पानी संकलन भएर बनेको भन्ने कुरा यसको अवस्थिति र अवस्थाबाट प्रस्ट हुन्छ। यो स्थानबाट हिँड्दा भात पकाएर खाने ठाउँ थियो होला कुनै कालखण्डमा। सानो धमिलो पोखरीसँगै भएको हुँदा चौलानी फ्याँक्दा पानीबाट बनेको पोखरी भएको भनेर जनबोली छ त्यसैले यसको नाम जातिपोखरी पर्न गएको होला।

जातिपोखरी भएको ठाउँमा विशाल चउर छ। यहाँबाट हिमालको मनोरम प्राकृतिक दृश्य हेर्न पाउँदा मनै आनन्दित भयो। प्राकृतिक दृश्य यति मोहक छन् कि एक दिन क्याम्प गरेर बस्न पाए नि हुँदो हो भन्ने लाग्यो।

माघको मन्दमन्द हावामा पनि न्यानोपन थियो। ती क्षण सधैँ सम्झयोग्य बनाउन सामूहिक योग-ध्यान गर्ने विचार गर्‍यो। योगपछि झोला बोकेर पुनः अगाडिको यात्रामा लाग्यौँ।

छैमलेलाई दर्शन गरेर मूल सडकमा ओर्लियौँ। हेटौँडासम्मको निर्माणाधीन सडकखण्डको यो धुलौटे बाटोको धुलोलाई फोक्सोमा भरेर घर फर्कियौँ। यो फोक्सोमा जमेको धुलोलाई अर्को पदयात्रामा भेटिने वनस्पतिसँग साउती मार्दै, उकालीओरालीसँग जोरी खोज्दै मेटाउने अपेक्षा छ।

प्रकाशित: २१ माघ २०७९ ७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast