काठमाडौँ- प्रतिनिधिसभाका सांसदहरूले विद्युतीय राहदानी छपाइ प्रकरण चासो व्यक्त गरेका छन्। सभाको शुक्रबारको बैठकको प्रारम्भमै विपक्षी दलका सबै सांसद आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खडगबहादुर बुढालाई बोल्न समय दिए।
सांसद बुढाले विद्युतीय राहदानी छपाइ प्रकरमा स्पष्ट पार्न माग गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले विद्युतीय राहदानी छपाइसम्बन्धी प्रकरणमा सरकारको जवाफ मागिन्।
एमालेका सांसद गुरुप्रसाद बरालले उपकुलपति छनोट प्रक्रियालाई राजनीतिक प्रभावमुक्त बनाउन माग गर्दै विश्वविद्यालयको स्वायत्ततालाई कमजोर पार्ने काम कसैबाट पनि हुन नहुने बताए।
नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले दुई देशबीचको सीमाका सम्बन्धमा गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिका विषयमा असहमति जनाए।
श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले राजनीतिज्ञमा नैतिकता र जवाफदेहिता आवश्यक पर्ने बताउँदै रक्षा मन्त्रालयको बजेटको किताब आफूले हेर्न नपाएको गुनासो गरे।
उनले भारतको पटनामा नेटवर्किङका नाममा नेपाली नागरिक बन्धक बनाईएको भनिएको बारेमा स्पष्ट पार्न सरकारसँग माग गरे।




