विश्वकप २०२६

एमबाप्पे, हालान्ड र मेस्सी चम्किँदा निराश रोनाल्डो

हिमाल प्रेस ४ असार २०८३ १७:०१ | Thursday, June 18, 2026
22
SHARES
एमबाप्पे, हालान्ड र मेस्सी चम्किँदा निराश रोनाल्डो

फुटबलका तीन ठूला सुपरस्टारले मंगलबार सन् २०२६ को विश्वकपलाई झल्किने गरी उज्यालो बनाएका थिए। किलियन एम्बाप्पेले सेनेगलविरुद्ध दुई गोल गर्दै फ्रान्सका लागि सर्वकालीन सर्वाधिक गोलकर्ता बन्न सफल भए। नर्वेका एर्लिङ हालान्डले इराकमाथिको जितमा दुई गोल गर्दै विश्वकपमा आफ्नो डेब्यु स्मरणीय बनाए।

लियोनेल मेस्सीले भने अझ एक कदम अगाडि बढ्दै अल्जेरियाविरुद्ध ह्याट्रिक गरे। यससँगै उनी विश्वकपको फाइनल चरणको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा जर्मनीका मिरोस्लाभ क्लोससँग बराबरीमा पुगे।

प्रतियोगितामा बुधबार आफ्नै छाप छोड्ने पालो क्रिस्टियानो रोनाल्डोको थियो। तर पोर्चुगलका कप्तान त्यसमा सफल हुन सकेनन्।

डीआर कंगोविरुद्ध पोर्चुगल १–१ को बराबरीमा रोकियो। रोनाल्डोले प्रभावशाली प्रदर्शन गर्न नसक्दा यस्तो नतिजा आएको हो। उनले यस खेलमा गोल गरेका भए, उनी छ वटा फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्ने इतिहास रच्न सक्थे।

खेल अगाडि बढ्दै जाँदा रोनाल्डो प्रमुख प्रतियोगिताहरूमा लगातार नौ खेलदेखि गोलविहीन रहेको शृंखला अन्त्य गर्न आतुर देखिन्थे। तर उनले आफ्नो टोलीको उत्कृष्ट अवसर पनि खेर फाले। ब्रुनो फर्नान्डेसलाई फर्काइएको पासको मार्गमै उनी पुगेपछि गोल गर्ने राम्रो अवसर गुमेको थियो।

फक्स स्पोर्ट्ससँग कुरा गर्दै फ्रान्सका पूर्व स्ट्राइकर थयरी हेनरीले फर्नान्डेसलाई दिनुपर्ने पास आफैँ लिन खोजेर रोनाल्डोले स्वार्थीपन देखाएको टिप्पणी गरे।

‘उनी छ यार्डको क्षेत्रभित्र गएका भए, डिफेन्डरले उनलाई पछ्याउनुपर्ने थियो र फर्नान्डेसका लागि सजिलो गोलको अवसर बन्थ्यो’, हेनरीले भने।

तर गोल गर्न चाहेकै कारण उनी पासको बाटोमै पुगेका थिए। हेनरीले भने, ‘मेरो विचारमा टोलीले गोल गर्नुपर्छ, व्यक्तिले होइन।’

इतिहास बनाउने अवसर, तर प्रभावहीन प्रदर्शन

खेलमा सुरुआत गर्दै रोनाल्डो ४१ वर्ष १३२ दिनको उमेरमा विश्वकप खेल सुरु गर्ने सबैभन्दा पाका आउटफिल्ड खेलाडी बने।

त्यसैले अनुभवी खेलाडीलाई पूरा ९० मिनेट मैदानमा राखिएको निर्णयले धेरैलाई आश्चर्यचकित बनायो।

बीबीसी रेडियो लाइभका लागि कमेन्ट्री गरिरहेका पूर्व प्रिमियर लिग स्ट्राइकर क्रिस सुटोले प्रशिक्षक रोबेर्टो मार्टिनेजको निर्णयको आलोचना गरे।

८३औँ मिनेटमा मिडफिल्डर भिटिन्हाको स्थानमा स्ट्राइकर गोन्कालो रामोस मैदान प्रवेश गर्दा सटनले भने, ‘मार्टिनेजको यो निर्णय लज्जास्पद छ। सम्भवतः सफल हुन सक्छ, तर के हामी सबैले फरक खेल हेरिरहेका छौँ? उनी रोनाल्डोलाई बाहिर निकाल्न डराइरहेका छन्। व्यवस्थापक उनी होइनन्। रोनाल्डोले अन्तिममा विजयी गोल गर्न सक्छन्, तर आज खेल उनीबाट टाढा गइसकेको छ।’

रुनीको अपेक्षा, तर निराशाजनक नतिजा

खेलअघि इंग्ल्यान्डका पूर्व कप्तान वाइने रुनीले मजाक गर्दै भनेका थिए– अघिल्लो दिन मेस्सी, एम्बाप्पे र हालान्डले उत्कृष्ट प्रदर्शन गरेकाले रोनाल्डो सकारात्मक अर्थमा रिसाएका हुनेछन्।

‘उनको मानसिकता नै यस्तै छ। उनी प्रत्येक चुनौतीलाई अवसरका रूपमा लिन्छन्,’ रुनीले बीबीसी वनमा भनेका थिए।

‘वर्षौँदेखि उनी र मेस्सीले एकअर्कालाई अझ माथिल्लो स्तरमा पुग्न प्रेरित गरेका छन्। उनी उत्कृष्ट बन्न चाहन्छन्। त्यो नकारात्मक अर्थमा होइन। आज राति दुई वा तीन गोल गरेर आफू अझै त्यही स्तरमा रहेको देखाउन चाहन्थे’, उनले भने।

पोर्चुगलको समूह चरणको पहिलो खेल रोनाल्डो र उनका चर्चित टोलीसाथीहरूका लागि योजनाअनुसार हुन सकेन।

छैटौँ मिनेटमा पेड्रो नेटोको बायाँ विङबाट आएको उत्कृष्ट क्रसलाई जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।

तर पहिलो हाफ सकिनुअघि डीआर कंगोका फरवार्ड योआने विस्साले बराबरी गोल फर्काए।

७५ प्रतिशत बल नियन्त्रणमा राखे पनि पोर्चुगलले गोलतर्फ जम्मा सात प्रहार मात्र गर्न सक्यो। तीमध्ये एकमात्र प्रहार लक्ष्यमा थियो र त्यही गोलमा परिणत भयो।

रोनाल्डोको संघर्ष जारी

क्लब र राष्ट्रिय टोलीका लागि एक हजार गोलको कीर्तिमान नजिक पुगेका अल–नास्रका स्ट्राइकर रोनाल्डोले दोस्रो हाफको मध्यभागमा लगातार दुई अवसर पाए।

हाफटाइमपछि मैदान प्रवेश गरेका फ्रान्सिस्को कोन्सेइसाओले दायाँतर्फबाट दुईपटक बल फर्काएर उनलाई अवसर दिएका थिए।

पहिलो अवसरमा बल केही पछाडि परेपछि रोनाल्डोको कमजोर प्रहार पोस्टभन्दा बाहिर गयो। दोस्रो अवसरमा बल राम्रो स्थितिमा भए पनि डीआर कंगोका डिफेन्डरहरूको दबाबका कारण उनको प्रहार लक्ष्यभन्दा धेरै बाहिर निस्कियो।

यससँगै रोनाल्डोले सन् २०२२ को विश्वकपमा घानाविरुद्ध पेनाल्टीमार्फत गोल गरेयता प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार १० खेल गोलविहीन बिताएका छन्।

खेलभर उनले २५ पटक मात्र बल छोए, जुन पूरा खेल खेलेका पोर्चुगलका आउटफिल्ड खेलाडीमध्ये सबैभन्दा कम थियो।

खेलपछि रुनीले भने, ‘उनका तथ्यांक कहिल्यै उत्कृष्ट नहुन सक्छन्। उनलाई चाहिने भनेको अवसर हो। राम्रा अवसर पाए भने उनी अझै गोल गर्न सक्छन्।’

‘रोनाल्डो प्रभाव

रुनी, गेल क्लिची र ओलिभियर जिरुडले रोनाल्डोको पहिलो अवसरमा कोन्सेइसाओले पास दिनुभन्दा आफैँ प्रहार गर्नुपर्ने धारणा व्यक्त गरे।

फ्रान्सका पूर्व डिफेन्डर गाएल क्लिसीले रोनाल्डोको सुपरस्टार छविले उनका केही टोलीसाथीको खेलमा अवचेतन रूपमा प्रभाव पार्ने बताए।

‘हामीले खेलअघि भनेका थियौँ कि रोनाल्डोको अनुभवले युवा खेलाडीलाई मद्दत गर्छ। तर कहिलेकाहीँ यस्ता खेलाडीले अवचेतन रूपमा सबैको ध्यान आफूतिर तान्छन्’, उनले भने। क्लिचीले यो रोनाल्डोकै गल्ती नभएको पनि स्पष्ट पारे।

‘यस्तो हुनु स्वाभाविक हो। त्यसैले प्रशिक्षकको निर्णय महत्त्वपूर्ण हुन्छ। ९० मिनेटभर हामी सोचिरहेका थियौँ– के उनले रोनाल्डोलाई बाहिर निकाल्छन्? किनकि हामीलाई थाहा छ, उनी कुनै पनि क्षण गोल गर्न सक्छन्।’ बीबीसीबाट

प्रकाशित: ४ असार २०८३ १७:०१ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast