इटहरी- इटहरीमा १६ दिनदेखि जंगली हात्ती मानव वस्तीमा पसेपछि स्थानीयवासी त्रसित बनेका छन्। इटहरी उपमहानगरपालिका-२, शान्तिनगरमा पहिलोपटक देखा परेको हात्तीको बथान अहिले १९ र २० नम्बर वडामा पनि दिउँसै देखा पर्न थालेको छ।
पहिले रातको समयमा मात्रै हात्तीको बथान आउने गरेको थियो। तर, अहिले दिउँसै छावासहित हात्तीको बथान मानव वस्तीमा पसेपछि स्थानीयवासी थप त्रसित बनेका हुन्।
स्थानीय प्रशासनले हात्ती नियन्त्रणमा चासो नदेखाएका कारण आफूहरू १६ दिनदेखि रातभर जाग्राम बस्दै आएको स्थानीयवासी बताउँछन्।
इटहरी-२ का स्थानीय दीपेन्द्र घिमिरेले हात्तीबाट मानवीय क्षति हुन नदिन आफूहरू रातभर जाग्राम बस्दै आएको बताए। ‘आज राति त मानव बस्तीमै हात्ती आउँदा त्रसित पनि भयौँ,’ उनले भने, ‘नियन्त्रणका लागि पहल भइरहे पनि दैनिक मानव बस्तीमा आउँदा समस्या भएको छ।’
स्थानीय रोशन अधिकारीले दुई साता बितिसक्दा समेत हात्ती नियन्त्रणबारे प्रशासन गम्भीर नभएको गुनासो गरे। ‘प्रशासन आउँछ, चासो नदेखाएजस्तो लाग्छ,’ अधिकारीले भने, ‘वन कार्यालय र कोसी टप्पु वन्यजन्तु आरक्षसँग समन्वय गरी केही विकल्प निकाल्न सकिन्थ्यो कि?’
उनले १६ दिनदेखि धेरै संख्यामा स्थानीयवासी भेला भएर रातभर आगो बाल्दै होहल्ला गरेर हात्ती धपाइरहे पनि केही दिनदेखि दिउँसै मानव वस्तीमा पस्न थालेपछि झनै समस्या उत्पन्न भएको बताए।
मूकदर्शक जनप्रतिनिधि
इटहरी-२ का वडाध्यक्ष माधव कोइरालाले आफू पनि जंगली हात्तीको त्रासमा रहेको बताए। ‘मेरो घर अलिक तल छ, तलबाट जाँदा हात्तीसँगै जम्काभेट हुन्छ कि भन्ने डर लाग्छ,’ उनले भने, ‘नियन्त्रणमा लिन पनि सकस छ।’ उनले हात्ती नियन्त्रणका लागि मेयर र सीडीओसँग कुरा गरेको भए पनि त्यहाँबाट निष्कर्ष नआएको बताए।
‘वडाध्यक्षले शान्ति सुरक्षाको विषयमा पहल गर्ने हो, स्रोत जुटाउन भनिए त्यसमा पहल गर्छु,’ उनी भन्छन्, ‘हिजो (बिहीबार) मात्रै पनि सीडीओसँग कुरा गरेँ, गाउँलेहरू हात्ती रुँगेर रातभर सुत्न पाएका छैनन्।’
निकुञ्जका कर्मचारी खटाएर नियन्त्रण लिन आफूले अपिल गरे पनि कोसी टप्पुमा कर्मचारी अभाव भएको कुरा आएकाले समस्या भएको बताए।
‘जंगलको हात्ती खेदाउँदै लैजान पनि मिल्दैन, मेयर र वडाध्यक्षले केही गर्न सकिएन,’ कोइरालाले भने, ‘निकुञ्जबाट मान्छे खटाएर नियन्त्रण लिनका लागि अपिल गरे पनि कुनै निर्क्योल।’
‘जिस्काउँदा आक्रमण गर्न सक्छ’
राष्ट्रिय प्रकृति संरक्षण कोष कोसीका प्रमुख वीरेन्द्र गौतमका अनुसार हात्ती ‘इगो’ लिने जनावरभित्र पर्छ। हात्तीलाई जिस्काउने, ढुंगामुढा गर्ने काम गर्यो भने आक्रमण गर्न सक्ने उनको भनाइ छ ।
‘समूहमा आएको हात्ती केही समय बस्ने र केही समयभित्रै जताबाट आएको त्यतै जाने गर्छ,’ गौतमले हिमाल प्रेससँग भने, ‘जंगलमा खानेकुरा छैन, खानाको खोजीका लागि गाउँ छिरेको हुन सक्छ।’
हात्तीले खानेकुरा कहाँ छ भनेर गन्धले थाहा पाउने भएकाले मानव वस्तीमा छिरेको हुन सक्ने उनले बताए। ‘डिस्टर्ब (बाधा नपुर्याउनु) नभएको अवस्थामा हात्ती फर्किन्छ, तर खानेकुरा भेटेर यतै रमाउँदा समस्या पनि हुन सक्छ। हात्तीलाई जिस्काउने, ढुंगामुढा गर्ने र चोटपटक लाग्यो भने आक्रमण गर्न सक्छ, ज्यानै लिन पनि सक्छ।’ उनले शुक्रबार आफूहरू इटहरी आएर वस्तुस्थिति बुझ्ने तयारी भइरहेको बताए ।
खासगरी भारततिरबाट दर्जन बढीको संख्यामा आएका हात्तीका बथान झापाको बाहुनडाँगी हुँदै सुनसरीको बराहक्षेत्रसम्म आइपुगेका थिए।
गत पुस ८ गते सुनसरीको बराहक्षेत्र २ मा करेन्ट लागेर हात्तीको मृत्यु भयो। त्यही समयदेखि हात्ती बिच्किएको हुन सक्ने कोसी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ। त्यसको केही समयपछि बराहक्षेत्रमै एकजना मानिसको ज्यान समेत लिएको थियो । बराहक्षेत्रतिरबाट धरान, चारकोसे हुँदै हात्तीको बथान इटहरी आएको हो।
हरेक वर्ष भारततिरबाट हात्तीको बथान नेपाल आउने गरेको र ‘डिस्टर्ब’ भएमा समस्या उत्पन्न गराउने संरक्षणकर्मी बताउँछन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार हात्ती संरक्षित जनावर हो। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संस्था आईयूसीएनले पनि हात्तीलाई रातो सूचीको ‘संकटापन्न’ र साइटिसले अनुसूची १ मा राखेको छ।