दामोदरकुण्ड जाने तीर्थयात्रीलाई दुई महिनाका लागि निःशुल्क भोजन र आवास

हिमाल प्रेस ३१ जेठ २०८३ ९:४९ | Sunday, June 14, 2026
24
SHARES
दामोदरकुण्ड जाने तीर्थयात्रीलाई दुई महिनाका लागि निःशुल्क भोजन र आवास

मुस्ताङ- लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी दुई महिनाका लागि निःशुल्क भोजनसहित आवासको व्यवस्था गरिएको छ। समुद्री सतहको चार हजार ९९० मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल जाने पदमार्ग घिमेठाँटी र दामोदरकुण्ड धर्मशालामा तीर्थयात्रीका लागि निःशुल्क भोजन र आवासको प्रबन्ध मिलाइएको हो ।

दामोदरकुण्ड मुक्तिनाथ विकास समितिको क्षेत्रअधिकारभित्र रहेको पवित्र धार्मिकस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीका लागि म्याग्दीको अन्नपूर्ण–३ नारच्याङस्थित पुण्यश्वर महादेव शिवालय उपसमितिले निःशुल्क भोजन र त्यहाँ रहेको धर्मशालामा आवासको व्यवस्था मिलाएको विकास समितिका कोषाध्यक्ष एवं दामोदरकुण्ड तीर्थयात्री भोजन व्यवस्थापक समिति संयोजक मोहन पुर्जाले जानकारी दिए ।

बर्सेनि बर्खायामको दुई महिना उपसमितिले सङ्कलन गरेको चन्दाबाट निःशुल्क भोेजनको व्यवस्था मिलाउँदै आएको उनले बताए । यस वर्ष पनि दामोदरकुण्ड तीर्थ गर्ने अनुकूल याम सुरु भएकाले जेठ २५ गतेदेखि साउनसम्म तीर्थयात्रीलाई खान र बस्न व्यवस्थित प्रबन्ध गरिएको संयोजक पुर्जाले उल्लेख गरे । म्याग्दीस्थित गलेश्वरधामबाट बर्सेनि मुक्तिदान उठाउने गरेको र उपसमितिको आंशिक अक्षयकोषबाट खर्चिने गरी तीर्थयात्रीका लागि निःशुल्क भोजनलगायत व्यवस्था गरिएको पुर्जाको भनाइ छ ।

उपसमितिद्वारा सङ्कलित चन्दा दानको रकम खर्चिने गरी भोजन व्यवस्थापन गर्न चार जना खटाइएको छ । दामोदरकुण्डमा दुई र घिमेठाँटीमा दुई कर्मचारीलाई भोजनको व्यवस्था मिलाउन खटाइएको छ । यसका लागि बर्सेनि रु पाँच लाख बढी खर्च हुने गरेको व्यवस्थापक पुर्जाले बताए ।

विसं २०६४ देखि नारच्याङस्थित गुप्तेश्वर महादेव उपसमितिले दामोदरकुण्ड तीर्थयात्रीका लागि निःशुल्क भोजनको व्यवस्था मिलाउँदै आएकामा कोभिड–१९ को समयमा दुई वर्ष तीर्थयात्रा बन्द हुँदा कार्यक्रम रोकिएको व्यवस्थापक पुर्जाले जानकारी दिए ।

प्रकाशित: ३१ जेठ २०८३ ९:४९ | Sunday, June 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast