भैरवकुण्ड यात्रा : आस्था, प्रकृति र उकालोको अनुभूति

राजाराम बर्तौला ३० जेठ २०८३ २०:२६ | Saturday, June 13, 2026
44
SHARES
भैरवकुण्ड यात्रा : आस्था, प्रकृति र उकालोको अनुभूति

आफूले पढेर, सुनेर आर्जन गरेको सामाजिक दर्शनको महिमामण्डनमा गचक्क फुले पनि आराध्यदेवहरूको आलोकमा विद्यमान देवस्थल वा तीर्थस्थल भनेपछि मनभित्रको अन्तरकुन्तरमा आस्थाको झस्काको चस्का लागेको हुन्छ। झन् देवाधिदेव महादेवको क्रीडास्थल हिमवत्खण्डका चुलीहरूमा रहेका आस्थाका तीर्थहरू हामी सनातनीहरूका लागि देवस्थलतुल्य नै हुने भए। आस्थाकै विश्वासमा पाइला राखेर यसअघि गोसाइँकुण्ड तथा पाँचपोखरीको भ्रमण गरेको थिएँ। यसपालि भने भैरवकुण्ड यात्राको साइत जुरेको थियो। कुनै योजना गरेर होइन, यो साइत जुराएको चाहिँ ‘हाइक फर नेपाल’ ले हो।

२०८३ साल जेठको २२ गते ‘हाइक फर नेपाल’ ले एउटा समूहलाई भैरवकुण्ड यात्रामा लिएर जाने इस्तिहार एक हप्ताअघि नै जारी गरेको थियो। भैरवकुण्ड जाने इच्छा पहिलेदेखि नै थियो, तर तारतम्य मिलिरहेको थिएन। भैरवकुण्ड धार्मिक तीर्थस्थल भएर पनि गोसाइँकुण्डजस्तो चलायमान पर्यटकीय स्थल होइन। ४२०० मिटरको उचाइमा रहेको यो ठाउँमा लेक लाग्ने सम्भावना पनि उत्तिकै छ। त्यस हिसाबले विशेष तयारी नगरी भ्रमणमा निस्कनु उचित थिएन। समूहमा जान पाइने भएपछि मैले पनि हौसिएर नाम लेखाएँ।

तोकिएको दिन अर्थात् जेठ २२ गते शुक्रबार बिहान ७ बजे भृकुटीमण्डपमा जम्मा भएर हामी नौ जना तीन दशक पुरानो ल्यान्डक्रुजरमा खाँदिएर भक्तपुर, बनेपा, धुलिखेल हुँदै तातोपानीतर्फ यात्रा सुरु गर्‍यौँ। दोलालघाटदेखि हाम्रो यात्रा भोटेकोशीको तिरैतिर उत्तरपूर्वतर्फ हानिँदै थियो। बाह्रबिसे बजारमा पुगेर हामीले खाना खायौँ। तातोपानी पुग्नुभन्दा चार-पाँच किलोमिटर वर डाक्लाङ भन्ने ठाउँबाट ल्यान्डक्रुजर देब्रे मोडियो र भोटेकोशीमाथि बनेको पुल तरेर उकालो लाग्न थाल्यो।


डाक्लाङसम्मको बाटो अरनिको राजमार्ग भनिए पनि राजमार्गजस्तो भने थिएन। यद्यपि साह्रै खराब पनि थिएन। २०७२ को भूकम्पपछि खासाको व्यापारमा कमी आउन थाल्यो र यो राजमार्गको दुर्गति पनि सुरु भयो। सम्भवतः छिट्टै यसको मर्मतसम्भार र विस्तार कार्य गरिनेछ र पूर्ववत् यसको व्यापारिक महत्त्व बढ्नेछ भन्ने अपेक्षा राखौँ।

डाक्लाङ १२५० मिटरको उचाइमा रहेको छ। यहाँबाट कच्ची बाटो माथि बगामसम्म जान्छ। जान त चोकरमोकरसम्म पनि जान्छ। दिनको एउटा बस काठमाडौँबाट बगाम र बगामबाट काठमाडौँसम्म चल्ने रहेछ। फोर ह्विल सवारीबाहेक अर्को सवारी चलाउन महारथ हासिल गरेको चालक हुनुपर्ने अवस्थाको सडक छ। दुईपांग्रे सवारीहरू भने प्रशस्त चलेका देखिए। भैरवकुण्ड जान चाहने इच्छुक युवाहरू बगामसम्म मोटरसाइकलमा आएर यहाँबाट पदयात्रा गर्न रुचाउने रहेछन्। पाखुरीमा बल हुनेहरूका लागि र साहसिक यात्रा रुचाउनेहरूका लागि यो एउटा राम्रो विकल्प हुन सक्छ। कथम् कदाचित् माथि बाटोमा सवारीसाधन बिग्रेर तल सडकसम्म ल्याउनुपर्‍यो भने बिस-बाइस हजार लाग्ने रहेछ। सौखिनचाहिँ बोलेरो वा जिपमा बगामसम्मको यात्रा तय गर्ने रहेछन्।

बगाम पुग्नुअघि लिस्ती भन्ने ठाउँ आउँछ। लिस्तीपछि छगाम आउँछ। यी दुवै ठाउँहरू एउटा ऐतिहासिक कारणले र अर्को धार्मिक कारणले महत्त्वपूर्ण रहेछन्।

काठमाडौँबाट ११८ किलोमिटर टाढा लिस्तीकोट समुद्री सतहबाट २२८० मिटर माथि रहेको गाउँ हो। मल्लकालीन समयमा यो ठाउँलाई कोटडाँडा भनिन्थ्यो रे। अहिले प्रायः नेवार, बाहुन र क्षत्रीहरूको बसोबास देखिन्छ। तर सयौँ वर्षअघि यहाँ भोटे र तामाङ जातिहरूको बहुल्य थियो भनिन्छ। यहाँ उग्रचण्डी भगवतीको मन्दिर छ। अहिले यो भगवतीलाई लिस्तीमाई भनेर भनिन्छ। यस क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले प्रयोग गर्ने ‘लिस’ र तिब्बतीहरूले प्रयोग गर्ने ‘ती’ लाई संयोजन गरेर ‘लिस्ती’ बनेको हो भनेर भनिन्छ र लिस्तीबाट ठाउँको नाम लिस्तीकोट भएको हो। त्यसैगरी लिस्तीमा बस्ने उग्रचण्डी भगवती पनि लिस्तीमाई भइन्।

मन्दिरको प्रांगणमा राखिएको सूचनाबमोजिम यो प्राचीन मन्दिर परापूर्वकालमै स्थापना भएको विश्वास गरिन्छ। नेपाल-भोट युद्ध हुँदा जंगबहादुर राणाले आफ्नो सैनिक फौजसहित लिस्तीमाईको दर्शन गरी युद्धमा विजय प्राप्त गरेको कुरा ऐतिहासिक दस्ताबेजहरूमा लेखिएको छ भनेर भनिन्छ।

यति महत्त्व रहेको उग्रचण्डी भगवतीलाई फर्केर आउँदा दर्शन गर्ने भनेर हामी अगाडि बढ्यौँ। लिस्तीकोटबाट अगाडि जाँदा केही ससाना गाउँहरू पछि आइपुग्छ छगाम। यो गाउँ धार्मिक हिसाबले मात्र नभई बसाइँ सराइका हिसाबले पनि महत्त्व राख्दछ। यहाँ एउटा ठूलो बौद्ध गुम्बा छ। धार्मिक अनुष्ठान र अध्यापनका लागि आश्रम पनि छन्। सयौँ संख्यामा आनीहरूलाई अध्यापन तथा आवासको व्यवस्था गरिएको छ। यहाँ बस्नेहरू प्रायः तिब्बतबाट आएका आनीहरू छन् भनेर भनिन्छ। यो सुन्दर र व्यवस्थित बस्तीलाई पछि पारेर अगाडि बढेपछि पुगिने ठाउँ भनेको बगाम हो।

बगाम समुद्री सतहबाट २८०० मिटर उचाइमा रहेको गाउँ हो। यहाँको बस्तीमा प्रायः तिब्बतीहरूको वर्चस्व देखिन्छ। केही होमस्टे अर्थात् घरबासहरू छन्, बासका लागि। हामी बगाम पुग्दा करिब १ बजेको थियो। बगामबाट चोकरमोकर पुग्न स्थानीयलाई पनि चार घन्टा लाग्छ भन्दै थिए। चार घन्टामा नभए ६ घन्टासम्ममा त हामी पनि पुगौँला भन्ने लाग्यो र उतै गएर बास बस्ने निर्णय गर्‍यौँ। त्यतिन्जेलसम्ममा मैले एउटा भरियाको व्यवस्था गरेँ। अरूले आआफ्नो झोला भिरे। हामी बगामबाट उकालो लाग्यौँ। घना जंगलको बीचबाट सिँढी हालेर बनाइएको बाटो छ।

चोकरमोकर स्थानीयहरूको चौँरीगोठ राख्ने ठाउँ हो। अहिले पनि चौँरीहरू चरिरहेका देखिन्छन्। पर्यटकहरूको आगमन बढ्न थालेपछि यहाँ १२-१३ वटा जस्तापाताले बेरेर बनाइएका ससाना आवास छन्। चोकरमोकरसम्म डोजरे बाटो पनि पुगेको छ र पानी नपरेको समयमा बोलेरो जिप पुग्ने गरेको रहेछ। डोजरे बाटोबाटै हिँडेर जाँदा पनि ६-७ घन्टामा चोकरमोकर पुगिन्छ।

घना जंगलको बीचबाट सिँढीहरू चढ्दै उकालो लाग्यौँ। आकाश धुम्मिएको थियो। लेकबाट बादलका झुन्डहरू ओरालो झर्दै थिए। सँगै हिँड्ने ल्हास्याँबो भाइले गौरीशंकर हिमाल देखाउँदै थियो। वल्लो डाँडोबाट हामी उकालो चढ्दै गर्दा पल्लो डाँडोपारि गौरीशंकर आधा शिर बादलले ढाकेर मुसुक्क हाँस्दै थियो। बादलले शिखर ढाक्दा महादेवको शिरको जटाजुटजस्तो देखिँदै थियो। ल्हास्याँबो भाइले हातको इसाराले ती पारिका गाउँ चिनियाँ गाउँहरू हुन् भनेर देखायो। हैन, यो त अचम्मै भयो! गौरीशंकर पछाडि छ र चिनियाँ गाउँ यति नजिकै। तर यो वास्तविकता थियो। नेपाल-चीनको सीमा यसै गरी निर्धारण गरिएको छ।

लेकको घना जंगलमाथिबाट उडेर जाने बादल रमणीय देखिन्छ। अझ सेता बादलको झोक्काले गाला स्पर्श गरेर जाँदा बादलका शीतकणको शीतलता रोमाञ्चक लाग्छ। तर त्यही सेतो बादलको ठाउँमा कालो घनघटाले छटा पार्‍यो भने मन भयभीत बनाउँछ। उकालो उक्लँदै गर्दा शीतकणको आनन्द लिँदासम्म रमाइरहेका हामी जलवर्षाको मारमा पर्‍यौँ। झोलाबाट वर्षाती नझिकी सुखै पाइएन। वर्षाती लगाएर हिँड्दा, अझ उकालो चढ्दा, यात्रा झनै भारी बनेको अनुभूति हुन्छ। अघिसम्म शंकरको जटाजुटझैँ देखिएको बादल गंगा भएर बर्सिंँदै थिइन्। यहाँ यस्तै हुँदो हो र त गौरीशंकरको आशीर्वाद छ।

लिस्तीकोट, तातोपानीदेखि लिएर यो पूरै क्षेत्र गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने रहेछ। जंगलको बीचबाट हिँड्नु भनेको जैविक विविधताको सामीप्य पनि हो, वनस्पतिहरूसँगको सहवास पनि हो। उकालो उक्लँदा चराहरूको चिरबिर कर्णप्रिय लाग्छ। केही समयअघि फुलेर झरेका गुराँसका विभिन्न रङहरूको आभास ताजै देखिन्छ। जंगल ठूलो हुँदा जनावरहरूको पनि वास हुन्छ। हामीले त देख्न पाएनौँ, देख्ने कुरा पनि भएन। हिउँचितुवासँग साक्षात्कार भएको भए यो लेख्न पाइने पनि थिएन। तर यहाँ हिउँचितुवालगायत रेडपान्डा र थारसमेत गरेर ३४ प्रकारका जनावर पाइन्छन् भनेर सहयात्री सहयोगी भाइ ल्हास्याँबोले भन्दै थियो। चराहरूचाहिँ २३५ प्रकारका छन् रे। योचाहिँ प्रकृति संरक्षण कोषले भनेको। उकालो लाग्दै गर्दा दस-पन्ध्रथरी चराहरूका आवाज श्रवण गर्ने अवसरचाहिँ पाइयो।

यहाँको उकालोको वर्णन गर्दै गर्दा सहयात्री दयाले घनघस्याको उकालोको कथा झिके। भन्दै थिए, ‘घनघस्याको उकालो के उकालो, चोकरमोकरको उकालो पो उकालो।’ अर्को भाइले थपे, ‘गोसाइँकुण्डको उकालोभन्दा पनि कठिन रहेछ।’ चार घन्टामा पुगिन्छ भनेर हिँडेको, चार घन्टामा त आधाभन्दा केही बढी मात्र हिँडेछौँ। एउटा उकालो सकियो, अर्को सुरु भइहाल्ने। यो उकालो पनि जीवनको सारभूत तत्त्वलाई उजागर गर्ने अव्यक्त शैलीको कथाकारिता हो। समूहमा नै हिँडेको भए पनि कोही अगाडि पुगेको छ र कोही पछाडि ठस्ठसी कनेर कम्मरमा हात लगाएर उभिएको छ। ऊ शिर उचालेर माथि हेर्छ र अगाडि पुग्नेको ईष्र्या गर्छ। सिँढी चढेर माथि पुग्ने चाहिँ गचक्क फुलेर तल हेर्छ। के-के नै उपलब्धि हासिल गरेँ भनेझैँ गमक्क फुल्छ। ‘बिस्तारै आउनु है’, भन्न त उसले साथीलाई आश्वस्त पार्न भनेझैँ लाग्छ, तर अन्तर्यमा उसको कमजोरीमाथि प्रहार गरिरहेको हुन्छ। पुग्नु छ शिखरमा भने पाइला आफँैले चाल्नुपर्छ, उकालो आफैँले चढ्नुपर्छ।
चार-पाँच घन्टामा पुगिएला भनेर हिँडेको चोकरमोकर पुग्न ६ घन्टा लाग्यो। हामी पुग्दा झमक्कै साँझ परिसकेको थियो।

वर्षाती ओढेको छु, पानीले भिजेको छैन भन्ने त एउटा आभास मात्र रहेछ। वर्षाती खोलेर हेर्दा भित्री वस्त्र पुरै भिजेको रहेछ। भिजेको लुगा फेरेर न्यानो हुन अँगेनोको वरिपरि झुम्मियौँ। दाल, भात, तरकारी पाक्दै थियो। आगोको रापले हामी पनि तात्दै थियौँ। साथीहरू, ‘लेकमा तीनपाने नतान्नु है’ भनेको त एकदुई जना साथीले त तोङ्बा तान्न भ्याइहालेछन्। ३८०० मिटरमाथिको उचाइमा बस्दा लेक लाग्ने सम्भावना रहन्छ। फेरि हामी तल १२५० मिटरको उचाइबाट एकै दिन ३८०० मिटरको उचाइमा पुग्दा त्यो सम्भावना बढी हुन्छ। धन्न, कसैलाई पनि लेक लागेन।

चोकरमोकरको बसाइ नितान्त अर्गानिक थियो। खाना पनि अर्गानिक, बसाइ पनि अर्गानिक। जस्ताले बारबेर गरेको घरको भुइँमा लगाइएको बिस्तारामा लहरै सुत्नुपर्ने। लमतन्न परेर सुतियो। बाहिरफेर जान परे खुला मैदान थियो। आफू चिनीरोगी। रातमा तीनचोटि उठ्नुपर्ने। बादल लागेको हुँदा ताराहरू त देख्न पाइएन, तर होचा कदका तरेली परेका पहाडहरू रातको समयमा झनै सुन्दर देखिने रहेछन्। कालापत्थर धुम्म परेको डरलाग्दो देखिँदा होचा पहाडहरू सुरम्य देखिने रहेछन् रातको समयमा पनि।

राति एक झपक निद्रापछि दुई पटक उठेहुँला। बिहान चार बजे उठेर उकालो लाग्ने पूर्वयोजना थियो। तीन बजेतिरबाट घनघोर पानी पर्‍यो। जस्तामा परेको पानीको आवाजले त आतंक सिर्जना गर्‍यो। रोकिएला र हिँडौँला भन्दाभन्दै ७ बज्यो। केही मत्थर भएपछि पुनः वर्षाती ओढेर उकालो लागियो। आजको उकालोचाहिँ चार सय मिटर मात्रै हो। चोकरमोकरबाट माथि वनस्पति देखिँदैन। काला पत्थरका अजंग पहाड मात्र देखिन्छन्। भुइँमा पहेँला, सेता रंगीन भुइँफूलहरू देखिन्छन्। जति उकालो बढ्दै गयो, उति सास बढ्दै जान्छ। उकालो बढ्नु र सास बढ्नुमा भिन्नता छ। दुवै बढ्दा अर्को सकिने हुन सक्छ।

दुई घन्टा उकालो चढेपछि भैरवकुण्ड पुगियो। ४२०० मिटरमा अवस्थित यो कुण्ड उत्तरतर्फ छ। गोसाइँकुण्डको पानी दक्षिणतर्फ झर्छ भने भैरवकुण्डको पानी उत्तरतर्फ बग्दछ। कुण्डभन्दा माथि वरिपरि त्यस्तै ५० मिटरजति अग्ला काला चट्टानहरूको पर्वतमाला छ। यही काला चट्टानहरूको बीचबाट निसृत जलधाराले निर्माण भएको छ भैरवकुण्ड। धेरै ठूलो पनि होइन र सानो पनि होइन। यहाँ तीनवटा ताल छन्। स्थानीयहरू जेठी, माहिली र कान्छी कुण्ड भन्दै रहेछन्। कान्छी कुण्डमा पानी छैन। माहिली कुण्डमा छिपछिपे पानी छ। जेठी भैरवकुण्ड हो। पानीको सतह घटे पनि अझै प्रशस्त पानी रहेको छ। यहाँ जलवायु परिवर्तनको असर कसरी परिरहेको छ भन्ने स्पष्ट देखिन्छ।

भैरवकुण्डमा पुगेर उत्तरतर्फ हेर्दा देखिने गौरीशंकर हिमशृंखलाको मनमोहक दृश्यले मन विभोर बनाउँछ। हामी पुगेको समयमा आकाश आधा मात्र खुलेकाले हिमालले कन्जुस्याइँ गरेर हेरेको थियो। सम्भवतः हामीसँग हिमाल खुसी थिएन। तर हामीले श्रद्धाले शिर निहुर्‍यायौँ र वन्दना गर्‍यौँ- गौरी, शंकर र भैरवको। अञ्जुलीले शिवलिंगमा जलाभिषेक गर्दै आशीर्वचन मागियो। कति खुसी भए उनी नै जानून्। शान्त चित्त र प्रफुल्लित मन लिएर ओरालो लागियो।

मानिसलाई उक्लिन पो कठिन हुन्छ, ओरालो झर्न सजिलो छ। एकै घन्टामा चोकरमोकर आइयो। खाना बनाउन भनिएको थियो। खाना खाएर पुनः ओरालो यात्रा सुरु गरियो। ६ घन्टा लगाएर उक्लेको बाटो तीनै घन्टामा झरिएछ। साँझ बगाममै बास बसियो।

भोलिपल्ट बिहान लिस्तीमाईको दर्शन गर्दै डाक्लाङ आइपुगेपछि ल्यान्डक्रुजरले धोका दियो। पुतपुत धुवाँ निस्केर आगो लाग्ला जस्तो भएपछि त्यसलाई त्यहीँ छोडेर बोलेरोको पछाडि बसेर बाह्रबिसेसम्म आयौँ र ईभी गाडी बुक गरेर काठमाडौँ फर्कियौँ।

भैरवकुण्ड एक्लै वा समूहमा जान सकिन्छ। जडीबुटीबाट बिहान ६ बजे दिनको एउटा बस छुट्छ। चाबहिल चोकमा सम्पर्क गर्दा पनि बसको टिकट पाउन सकिन्छ। आफ्नो साधन लिएर जान चाहनेहरूले एक रात चोकरमोकरमा बास बसेर दोस्रो बास काठमाडौँमै हुने गरी पनि यात्रा गर्न सक्छन्। बाटोको अवस्थालाई विचार गर्दा यस्तो यात्रा दुःसाहसपूर्ण हुन जान्छ। दुई रात तीन दिनको योजना गरेर यात्रा गर्दा राम्रो हुन्छ। यात्रामा बास र खाना ठिकठिकै पाइन्छ। आफूले आवश्यक कपडा, लेक लागेमा खाने औषधिसहितको तयारी गरेर हिँड्नु उपयुक्त हुन्छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast