काठमाडौँ- नेपालका पूर्वराजदूतहरूको संघ (एएफसीएएन) को आयोजनामा काठमाडौँमा कूटनीतिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
चियापान बैठकका रुपमा आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्ज प्रमुख वक्ताका रहेका थिए।
राजदूत भोल्जले नेपाल र जर्मनीबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र यसका वर्तमान आयामबारे आफ्नो दृष्टिकोण साझा गरेका थिए।
उनको प्रस्तुतिपछि पूर्वराजदूत संघका सदस्यहरुले आपसी हित, कूटनीतिक सहकार्य र साझा चासोका विविध आयामबारे चर्चा गरेका थिए।
एएफसीएएनका अनुसार यो बैठक नियमित कार्यतालिका अन्तर्गतकै एक कूटनीतिक कार्यक्रम हो। एएफसीएएनले नेपालका लागि मान्यता प्राप्त र काठमाडौँमा आवासीय रुपमा रहेका विभिन्न देशका राजदूत तथा नियोग प्रमुखहरुसँग द्विपक्षीय सम्बन्ध, कूटनीतिक सहकार्य र साझा अन्तर्राष्ट्रिय मामिलाहरुमा विचार आदानप्रदान गर्दै आएको छ।




