काठमाडौँ- प्रतिनिधिसभा बैठकको विशेष समय बोल्दै सांसद डा.सुजाता तामाङले जलवायु परिवर्तन, वातावरणीय प्रदूषण, जैविक विविधताको ह्रास तथा बढ्दो बाँझो जमिनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रकृतिमैत्री विकास नीतिमा जोड दिन सरकारको ध्यानाकर्षण गराएकी छन्।
आफू पाँच वर्षको बच्चाकी आमा र जिम्मेवार नागरिकको हैसियतले सदनमा उभिएको भन्दै तामाङले विश्वव्यापी जलवायु संकटको प्रभाव नेपालले असमान रूपमा भोगिरहेको बताइन्।
नेपालले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान दिए पनि तापक्रम वृद्धि, हिमाल पग्लिने क्रम, अनियमित वर्षा तथा प्राकृतिक विपद्का कारण ठूलो क्षति व्यहोर्नुपरेको उनको भनाइ थियो।
उनले हालै हुम्लामा गएको पहिरो तथा पाँचथर र संखुवासभामा आएको बाढीको उदाहरण दिँदै मधेशको खडेरी र बेमौसमी वर्षाले निम्त्याउने विपद् जलवायु परिवर्तनका प्रत्यक्ष असर भएको बताइन्। यस्ता घटनाले देशको भविष्य थप असुरक्षित बन्दै गएको उनको चेतावनी थियो।
सांसद तामाङले देशको करिब ३७ प्रतिशत खेतीयोग्य जमिन बाँझो रहेको तथ्य प्रस्तुत गर्दै गाउँका बस्ती खाली हुँदै जानु, युवाको पलायन, जंगली जनावर तथा मिचाहा प्रजातिको बढ्दो समस्या कृषि क्षेत्रका गम्भीर चुनौती भएको बताइन्। माटोमा प्राङ्गारिक पदार्थको मात्रा घट्दै जानु र अम्लीयपन बढ्नुले भविष्यको खाद्य सुरक्षामा खतरा उत्पन्न गरिरहेको उनको भनाइ थियो।
उनले परागसेचन गर्ने माहुरीजस्ता कीरा हराउँदै गएको, रैथाने बीउ नष्ट हुँदै गएको तथा रासायनिक विषादी, हर्मोन र प्लास्टिकजन्य पदार्थको अत्यधिक प्रयोगले मानव स्वास्थ्य र वातावरण दुवैलाई जोखिममा पारेको उल्लेख गरिन्। ‘हामी समृद्धितर्फ होइन, विनाशतर्फ उन्मुख भइरहेका छौँ,’ उनले भनिन्।
आदिवासी समुदायका परम्परागत ज्ञान र अभ्यासलाई आधुनिक विकासको नाममा बेवास्ता गरिएको बताउँदै तामाङले प्रकृति संरक्षणमा उनीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताइन्।
सरकारसमक्ष उनले चारबुँदे सुझाव प्रस्तुत गरिन्। उनले जलवायु अनुकूलन मात्र नभई प्रकृतिको पुनरुत्पादनलाई केन्द्रमा राखेर कृषि, वन र वातावरण क्षेत्रको एकीकृत तथा दिगो विकास नीति बनाउन आग्रह गरिन्। जैविक तथा प्राकृतिक खेतीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
त्यसैगरी बाँझो जमिनलाई भूमिहीन, महिला र युवासँग जोडेर सामुदायिक कृषि उद्यम विकास गर्ने कार्ययोजना ल्याउन, जल, जमिन, जंगल संरक्षणमा स्थानीय तथा आदिवासी समुदायलाई अधिकार र स्रोत उपलब्ध गराउन तथा माटो र मानव स्वास्थ्यमा असर पार्ने घातक रासायनिक विषादीमाथि कडा प्रतिबन्ध लगाउन उनले माग गरिन्।
भविष्यका पुस्तालाई स्वच्छ पानी, स्वच्छ हावा र स्वस्थ खाद्य प्रणाली सुनिश्चित गर्न आजका नीतिगत निर्णय निर्णायक हुने भन्दै तामाङले माटो र खेतीपाती स्वस्थ नभएसम्म हाम्रो भविष्य सुरक्षित हुन नसक्ने बताइन्।




