काठमाडौँ- आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा सम्पन्न गराउन मतदान केन्द्रको छनौट र व्यवस्थापनमा ध्यान दिन सरोकारवालाहरुले आग्रह गरेका छन्।
सोमबार विराटनगरमा आयोजना गरिएको प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रदेश स्तरीय समिक्षा कार्यक्रममा सहभागिहरुले निर्वाचन आयोगले मतदानस्थल र मतदान केन्द्रको छनौट गर्दा मतदाता संख्यालाई ध्यान दिनुपर्ने जिकिर गरेका थिए।
उनीहरुले निर्वाचनलाई निष्पक्ष बनाउन आचारसंहिताको पालनामा कडाइ गर्न पनि आग्रह गरेका छन्।
निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटीले गत फागुन २१ गते भएको निर्वाचन शान्तिर्पूण, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउन राजनैतिक दल, सुरक्षाकर्मी र मतदाताहरुले महत्वर्पूण भूमिका खेलेको बताए।
उनँले समिक्षा कार्यक्रममा आएका सुझावहरुलाई निर्वाचन कानुन सुधारका रुपमा लिइने जानकारी दिए।
कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन २०८२ मा भएको खर्च, व्यवस्थापन र सुधारका कार्यहरुबारे जानकारी गराइएको थियो। निर्वाचनमा प्रति मतदाता २ सय ६३ रुपैया खर्च भएकाले आगामी निर्वाचनहरु थप मितव्ययी बनाउन निर्वाचन आयोगले गृह कार्य गरिरहेको जानकारी दिइएको थियो।




