दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकबाट ७१ नेपालीको उद्धार

हिमाल प्रेस ८ जेठ २०८३ १६:०८ | Friday, May 22, 2026
10
SHARES
दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकबाट ७१ नेपालीको उद्धार

काठमाडौँ- दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका थप ७१ जना नेपालीको उद्धार गरिएको छ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले सो क्षेत्रबाट यसअघि ६ सय १६ जना नेपाली नागरिकको उद्धार गरिएकोमा पछिल्लो समय थप ७१ जनाको उद्दार गरिएको र अन्यको पनि उद्धार कार्य जारी रहेको जानकारी दिए।

हालसम्म कम्बोडियाबाट ५ सय ६२, म्यानमारबाट १ सय ११, लाओसबाट ८ र थाइल्याण्डबाट ६ जनाको उद्धार गरी नेपाल फर्काइएको उनले बताए। नेपाली दुतावास बैंककको अनुरोधमा कम्बोडिया सरकारबाट हालसम्म १ सय २ जना नेपालीको जरिवाना मिनाहा भएको र थप १७२ जनाको जरिवाना मिनाहका लागि अनुरोध गरिएको परराष्ट्रले जनाएको छ।

कम्बोडियामा २९ जना नेपालीहरू संगठित अपराध, यातना, मानव तस्करी लगायतका आरोपमा थुनामा रहेका रहेकाले उनीहको शीघ्र रिहाई तथा उद्धारका लागि नेपाली राजदूतवास बैंककबाट पहल जारी रहेको समेत प्रवक्ता पौडेलले जानकारी दिए।

त्यस्तै प्रवक्ता क्षेत्रीले पश्चिम एसियामा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको र नेपालीहरुको सुरक्षाका लागि सरकार गम्भीर रहेको धारणा राखे। साथै, इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली नागरिक अमृत झाको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी रहेको उनले बताए।

त्यस्तै नेपालबाट भारततर्फ चियाको निकासी प्रभावित भएकोमा दुईदेशीय छलफलका माध्यमबाट भएको पहलले भारतीय टी बोर्डबाट जारी निर्देशिका संशोधन गरी विद्यमान चिया निकासीसम्बन्धी समस्या हाललाई सहज हुने भएको मन्त्रालयले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast