विपक्षीको नाराबाजीबीच पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

हिमाल प्रेस ७ जेठ २०८३ १७:५२ | Thursday, May 21, 2026
10
SHARES
विपक्षीको नाराबाजीबीच पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

काठमाडौँ- प्रतिपक्षी दलहरूको नाराबाजी र अवरोधका बीच प्रतिनिधिसभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले निरन्तर अवरोध गरे पनि सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालनलाई निरन्तरता दिएका थिए।

अवरोधकै बीच सभामुख अर्यालले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ को दफावार छलफल टुंगिएको घोषणा गरेका थिए।

त्यसपछि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतबाट विधेयक पारित भएको घोषणा गरेका हुन्।

यसैबीच प्रमुख प्रतिपक्षी दलको विरोधबीच ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ।

प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तीनवटै प्रस्ताव प्रस्तुत गरेकी थिइन्। तीनवटै प्रस्तावमा सभामुख डोलप्रसाद अर्यालले छलफलमा भाग लिन नाम माग गरे पनि कसैको पनि नाम प्राप्त नभएको भन्दै स्वीकृतिका लागि प्रस्तुत गरेका थिए।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नै स्थानबाट उभिएर विरोध जनाएको थियो। प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले रोष्ट्रम अघि गएर नारा जुलुस गरेका थिए।

प्रकाशित: ७ जेठ २०८३ १७:५२ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast