इबोला प्रकोप : विश्वव्यापी स्वास्थ्य आपत्‌काल घोषणा

हिमाल प्रेस ३ जेठ २०८३ १५:११ | Sunday, May 17, 2026
6
SHARES
इबोला प्रकोप : विश्वव्यापी स्वास्थ्य आपत्‌काल घोषणा

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले डेमोक्रेटिक रिपब्लिक अफ द कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई सार्वजनिक स्वास्थ्य आपत्‌काल घोषणा गरेको छ। यसले छिमेकी देशहरूमा पनि जोखिम उत्पन्न गरेको बताइएको छ।

डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले सम्बन्धित देशहरू (जहाँ हाल प्रकोप सक्रिय छ) सँग परामर्श गरेपछि बन्डिबुग्यो भाइरसबाट उत्पन्न इबोलालाई उक्त दुवै देशमा अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्‌कालका रूपमा निर्धारण गरिएको हो।

डब्लूएचओका अनुसार बन्डिबुग्यो भाइरसबाट उत्पन्न यो प्रकोप प्यान्डेमिक आपत्‌कालको मापदण्ड पूरा गर्दैन, तर डेमोक्रेटिक रिपब्लिक अफ द कंगोसँग सीमा जोडिएका देशहरूमा यसको थप फैलावटको उच्च जोखिम रहेको छ। डब्लूएचओले शनिबारसम्मको विवरण उद्धृत गर्दै कंगोको इटुरी प्रान्तमा कम्तीमा ८० शंकास्पद मृत्यु, आठ प्रयोगशालामा पुष्टि भएका केस र २४६ शंकास्पद केस दर्ता भएको जनाएको छ।

डब्लूएचओले यो प्रकोपले अन्य देशहरूमा स्वास्थ्य जोखिम उत्पन्न गरिसकेको बताउँदै देशहरूलाई आपत्‌कालीन संयन्त्र सक्रिय गर्न, सीमा नाकामा परीक्षण गर्न र आन्तरिक प्रमुख मार्गहरूमा निगरानी बढाउन सुझाव दिएको छ।

संक्रमित वा सम्पर्कमा आएका व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय यात्रामा रोक लगाउनुपर्ने र चिकित्सा उद्धारबाहेक यात्रा प्रतिबन्ध लागू गर्नुपर्ने डब्लूएचओले आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।  सम्पर्कमा आएका व्यक्तिहरूलाई २१ दिनसम्म निगरानीमा राख्नुपर्ने सुझाव डब्लूएचओको छ।

डब्लूएचओले डरका कारण सीमा बन्द वा व्यापार र यात्रामा प्रतिबन्ध नलगाउन पनि आग्रह गरेको छ। यसले अवैध मार्गबाट आवागमन बढाउन सक्ने र नियन्त्रण प्रयास कमजोर बनाउन सक्ने बताइएको छ।

इबोला भाइरस डेमोक्रेटिक रिपब्लिक अफ द कंगोको घना उष्णकटिबन्धीय जंगलहरूमा प्राकृतिक रूपमा पाइने मानिन्छ। यो भाइरस संक्रमित व्यक्तिको शरीरका तरल पदार्थ, दूषित सामग्री वा मृत शरीरसँगको सम्पर्कबाट सर्छ। यसले ज्वरो आउने, शरीर दुख्ने, बान्ता र पखाला जस्ता गम्भीर लक्षणहरू निम्त्याउने र प्रायः घातक हुने बताइएको छ।

डेमोक्रेटिक रिपब्लिक अफ द कंगोको स्वास्थ्य मन्त्रालयले शुक्रबार पूर्वी प्रान्तमा ८० जनाको मृत्यु भएको जनाएको थियो। यो देशमा देखिएको १७औँ इबोला प्रकोप हो, जहाँ पहिलो पटक १९७६ मा इबोला पहिचान गरिएको थियो। डब्लूएचओका अनुसार प्रारम्भिक नमुनामा उच्च पोजिटिभ दर र बढ्दो शंकास्पद केसका कारण यो प्रकोप अझ ठूलो हुन सक्ने अनुमान गरिएको छ।

यो प्रकोप असाधारण मानिएको छ किनभने बन्डिबुग्यो भाइरसका लागि हालसम्म कुनै अनुमोदित उपचार वा खोप उपलब्ध छैन। यसअघि डेमोक्रेटिक रिपब्लिक अफ द कंगोमा देखिएका अधिकांश प्रकोपहरू इबोला–जायर स्ट्रेनका कारण भएका थिए, जसका लागि केही उपचार उपलब्ध छन्।

युगान्डाको राजधानी कम्पालामा डेमोक्रेटिक रिपब्लिक अफ द कंगोबाट आएका व्यक्तिहरूमा दुई भिन्नभिन्न प्रयोगशाला पुष्टि भएका छन्। डेमोक्रेटिक रिपब्लिक अफ द कंगोको राजधानी किन्सासामा पनि इटुरीबाट फर्किएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको डब्लूएचओले जनाएको छ।

प्रकाशित: ३ जेठ २०८३ १५:११ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast