डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोलाको १७औँ प्रकोप तीव्र बन्दै गएको छ।
अधिकारीहरूका अनुसार संक्रमितको संख्या तीन हजार नाघेको छ भने मृत्यु हुनेको संख्या एक हजार ३५४ पुगेको छ। पछिल्लो १० दिनमै थप एक हजार नयाँ संक्रमण पुष्टि भएपछि स्वास्थ्य निकायको चिन्ता बढेको छ।
गत मे १५ मा घोषणा गरिएको यो प्रकोप इबोला भाइरसको बुन्डिबुग्यो स्ट्रेनका कारण फैलिएको हो। बुन्डिबुग्यो स्ट्रेनका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन। जुलाई १५ मा संक्रमितको संख्या दुई हजार पुगेको थियो भने अहिले पाँच प्रान्तमा फैलिएको प्रकोपबाट कुल तीन हजार ७५ संक्रमण पुष्टि भएको सरकारी तथ्यांकले देखाएको छ ।
अधिकारीहरूले परीक्षण र संक्रमितको पहिचान प्रणाली सुधारिएकाले थप संक्रमित फेला परेको बताएका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण सुडान र युगान्डाको सीमासँग जोडिएको उत्तरपूर्वी इटुरी प्रान्तमा करिब ९० प्रतिशत संक्रमित भेटिएका छन्।
दशकौँदेखि हिंसाग्रस्त पूर्वी कंगोमा फैलिएको यो महामारी अझै धेरै महिना लम्बिन सक्ने आकलन गरिएको छ।
यसबीच तलबको माग गर्दै स्वास्थ्यकर्मीहरूले गरेको हडतालका कारण केही अस्पतालमा उपचार तथा नियन्त्रण अभियान प्रभावित भएको अधिकारीहरूले जनाएका छन्।
शारीरिक तरल पदार्थको सम्पर्कबाट सर्ने इबोलाले रक्तस्रावी ज्वरो गराउने गर्छ। पछिल्लो ५० वर्षमा अफ्रिकाभरि यस रोगका कारण १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
यसैबीच वैज्ञानिकहरूले बुन्डिबुग्यो स्ट्रेनविरुद्ध खोप र औषधी विकासलाई तीव्र बनाएका छन्।
अक्सफोर्ड विश्वविद्यालयले पहिलो चरणमा स्वयंसेवकलाई लक्षित प्रयोगात्मक खोप लगाउन सुरु गरिएको जनाएको छ।
अन्य सम्भावित खोपहरू पनि क्लिनिकल परीक्षणको चरणमा रहेका छन् भने दुई सम्भावित उपचार विधिको विकाससमेत भइरहेको छ।


