काठमाडौँ- काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। उपत्यकाका मुख्य सडक, चोक तथा उपत्यका भित्रिने प्रमुख नाका नागढुंगालगायत क्षेत्रमा विशेष ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै यात्रुवाहक तथा मालवाहक सवारीसाधनमाथि विशेष निगरानी बढाएको जनाएको छ।
ट्राफिक नियम उल्लंघन गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा प्राविधिक रूपमा कमजोर अवस्थाका सवारीसाधनलाई लक्षित गरी अभियान सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यस अभियानमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी स्वयं सडकमा खटिएको जनाइएको छ।
ट्राफिक प्रहरी प्रमुख अधिकारीले दिउँसोदेखि राति अबेरसम्म यहाँका विभिन्न स्थानमा पुगेर ट्राफिक व्यवस्थापन, चेकजाँच तथा चालकलाई सचेतनामूलक जानकारी दिने कार्य गरिरहेका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
सवारी दुर्घटना न्यूनीकरणका लागि चालक, सहचालक तथा यात्रु सबैको जिम्मेवारी आवश्यक रहेको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए।



