सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल

हिमाल प्रेस २१ वैशाख २०८३ २१:०६ | Monday, May 4, 2026
12
SHARES
सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल

काठमाडौँ– नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनलाई विश्वासिलो, आधुनिक, उत्तरदायी, प्रविधीमैत्री र परिणाममुखी सुरक्षा संस्थाका रूपमा विकास गरिने बताएका छन्।

महानिरीक्षकको दज्र्यानी चिह्नबाट शुशोभित भएपछि सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा सोमबार पदवाहालीका क्रममा सकल दर्जालाई सम्बोधन गर्दै उनले गैरव्यावसायिक आचरण, भ्रष्टाचारजन्य क्रियाकलाप तथा बाह्य प्रभावप्रति शून्य सहनशीलताको नीतिलाई न्यूनतम सर्तका रूपमा कार्यान्वयन गरिने बताए।

महानिरीक्षक पौडेलले अनुशासन, ‘चेन अफ कमाण्ड’ र संस्थागत निष्ठा नै संगठनको आधारशीला रहेको उल्लेख गर्दै सांगठनिक हित र व्यावसायिकतामा कुनै सम्झौता नहुने स्पष्ट पारे।

सशस्त्र प्रहरी ऐन तथा नियमावलीको समयसापेक्ष परिमार्जनको प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै उनले स.गठनको आधुनिकीकरण एवं आवश्यक स्रोतसाधनको उपलब्धताका लागि पहल गरिने बताए।

महानिरीक्षक पौडेलले भने, ‘संगठनलाई आधुनिक, सक्षम र भविष्यमा आइपर्ने चुनौतीको सामना गर्न तयार बनाउने दिशामा केन्द्रित भई तालिम प्रणालीलाई समयसापेक्ष, व्यावहारिक र प्रविधिमैत्री बनाइ ज्ञान मात्र नभई सीप र नेतृत्व क्षमता विकासमा समेत जोड दिइनेछ।’

उनले कार्यगत क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई संस्थागत रूपमा विस्तार गर्दै दङ्गा व्यवस्थापन, आन्तरिक सुरक्षा तथा विपद् व्यवस्थापनका क्षेत्रमा आधुनिक उपकरण, क्षमताको विकास तथा द्रुत प्रतिक्रिया संयन्त्रलाई सुदृढ बनाइने बताए।

‘सीमा सुरक्षालगायत प्रमुख जिम्मेवारीलाई बीओपीहरूको विस्तारसहित रणनीतिक परिचालन, अत्याधुनिक स्रोतसाधनको व्यवस्थापनमा जोड दिइने छ। प्रविधिमैत्री सीमा निगरानी एवं ‘डिजिटल बोर्डर’ अवधारणाअनुसार सीमावर्ती नाकामा आवतजावतलाई सहजीकरण गर्दै आपराधिक क्रियाकलाप निस्तेज पारिनेछ,’ महानिरीक्षक पौडेलले भने।

उनले बाढी, पहिरो, भूकम्प, हिमपहिरो तथा दुर्गम क्षेत्रमा हुने उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन अत्याधुनिक उपकरण, विशेष तालिम, उच्च पर्वतीय उद्धार क्षमता र समुदायमा आधारित स्वयंसेवक तालिम तथा पूर्वतयारी प्रणालीलाई विस्तार गरी अझ प्रभावकारी विपद् प्रतिकार्यको पर्यायका रूपमा सशस्त्र प्रहरीलाई स्थापित गरिने दृढता व्यक्त गरे।

पदवहालीका क्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले हल्चोकस्थित अमर सशस्त्र प्रहरी स्मारकमा ‘रिथ’ अर्पण गरेका थिए। त्यसअघि उनको सम्मानमा सम्मान गारद टोलीले सलामी अर्पण गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast