तस्बिर : एपीएफ
काठमाडौँ- अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा टर्कीको इस्तानबुलमा आयोजित प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।
श्रमिक अधिकारको माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै सयौँलाई नियन्त्रणमा लिएको छ।
सीएचडी लयर्स एसोसिएसनका अनुसार इस्तानबुलका विभिन्न स्थानबाट करिब चार सय जना प्रदर्शनकारी पक्राउ परेका छन्। प्रहरीले दंगा नियन्त्रण गर्ने गाडी र ब्यारिकेटहरू प्रयोग गरी प्रदर्शनलाई रोक्ने प्रयास गरेको थियो।
सरकारविरोधी प्रदर्शनको केन्द्र मानिने ताक्सिम स्क्वायरलार्य प्रहरीले सुरक्षाको कारण देखाउँदै सिल गरेको थियो।
त्यहाँको एक टेलिभिजनले सार्वजनिक गरेको दृश्यमा टर्कीको वर्कस पार्टीका अध्यक्ष एरकान बासमाथि पनि प्रहरीले अश्रुग्यास प्रहार गरेको देखिएको छ। बासले कामदारहरूलाई वर्षको एक दिन आफ्ना पीडा पोख्न दिनुपर्ने माग गरेका थिए।
मजदुर युनियन र नागरिक समाजले यस वर्ष ‘भोको पेटलाई खाना, शान्ति र स्वतन्त्रता’ भन्ने मूल नाराका साथ प्रदर्शनको आह्वान गरेका थिए। टर्कीमा बढ्दो मुद्रास्फीतिले श्रमिकको जनजीवन कष्टकर बनेको छ। सरकारी तथ्यांकले मुद्रास्फीति ३० प्रतिशत देखाए पनि स्वतन्त्र विश्लेषकहरूले यो दर ४० प्रतिशतको हाराहारीमा रहेको दाबी गरेका छन्।



