ड्रेसिङ रूमभित्र ‘भेप’ प्रयोग गरेको पाइएपछि रियानमाथि कारबाही

हिमाल प्रेस १७ वैशाख २०८३ १६:३२ | Thursday, April 30, 2026
26
SHARES
ड्रेसिङ रूमभित्र ‘भेप’ प्रयोग गरेको पाइएपछि रियानमाथि कारबाही

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको राजस्थान रोयल्सका कप्तान रियान परागलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले जरिवाना गरेको छ।

आईपीएलको जारी प्रतियोगिताको ४० औँ खेलमा पञ्जाब किंग्सविरूद्धको खेलका क्रममा ड्रेसिङ रूममा ‘भेप (ई–सिगरेट)’ प्रयोग गरिरहेको अवस्थामा भेटिएपछि उनीमाथि कारबाही गरिएको हो।

यो दृश्य खेलको प्रत्यक्ष प्रसारणमा पनि देखिएको थियो।

रियानलाई खेलाडी र टोली अधिकारीहरूका लागि तय गरिएको आईपीएल आचारसंहिताको ‘लेभल १’ उल्लंघन गरेको दोषी पाइएको छ। यसवापत उनलाई म्याच फिको २५ प्रतिशत जरिवाना गरिएको छ साथै एक ‘डिमेरिट प्वाइन्ट’ पनि दिइएको छ।

आईपीएलले विज्ञप्ति निकालेर भनेको छ,‘रियानलाई आईपीएल आचारसंहिताको धारा २.२१ उल्लंघन गरेको पाइयो, जुन खेलको प्रतिष्ठामा आँच पु¥याउने आचरणसँग सम्बन्धित छ। यो घटना दोस्रो इनिङ्सको बेला भएको थियो, जब रियानलाई ड्रेसिङ रूमभित्र ‘भेप’ प्रयोग गरिरहेको देखियो।’

रियानले आफ्नो गल्ती स्वीकार गर्दै म्याच रेफ्री अमित शर्माले तोकेको सजाय मन्जुर गरेका छन्। बीसीसीआई र आईपीएलले आफ्नो प्रतिष्ठा जोगाउन दोषी टोली, त्यसका अधिकारी र खेलाडीविरूद्ध थप कडा कारबाहीका विकल्पहरूमा पनि विचार गरिरहेको छ।

राजस्थान रोयल्सविरूद्ध हुन सक्ने सम्भावित कारबाहीका बारेमा पीटीआईले सोधेको प्रश्नमा बीसीसीआई सचिव देवजीत सैकियाले भने,‘विज्ञप्तिमा स्पष्ट लेखिए झैँ हामी टोलीविरूद्ध के कस्तो कारबाही गर्ने भन्ने विषयमा विचार गरिरहेका छौँ। हालसम्म यसबारे कुनै अन्तिम निर्णय भइसकेको छैन।’

भारत सरकारले सन् २०१९ मा ई–सिगरेटमाथि प्रतिबन्ध लगाएको थियो। भारतमा ई–सिगरेटको उत्पादन, बिक्री र वितरण पूर्णरूपमा प्रतिबन्धित छ। कानुनअनुसार पहिलोपटक यो अपराध गर्ने दोषीलाई एक वर्षसम्मको कैद वा एक लाख भारतीय रूपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ।

प्रकाशित: १७ वैशाख २०८३ १६:३२ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast