काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का क्रममा आज एकैदिन एक सय एक सवारी चालकलाई कारबाही गरेको छ।
उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत मादक पदार्थ (मापसे) सेवन तथा ट्राफिक नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो।
त्यस क्रममा मापसे गरी सवारीसाधन चलाउने पाँच जना, रातो बत्ती उल्लंघन गर्ने दुई र लेन अनुशासन पालना नगर्ने तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ९४ वटा सवारीसाधनका चालकलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
चालकले मादकपदार्थ वा लागुपदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि उनले आग्रह गरे।




