आर्थिक गणना गर्न परिचालन भए सुपरिवेक्षक, असारको पहिलो साताभित्र सम्पन्न हुने

हिमाल प्रेस २९ चैत २०८२ ७:०५ | Sunday, April 12, 2026
8
SHARES
आर्थिक गणना गर्न परिचालन भए सुपरिवेक्षक, असारको पहिलो साताभित्र सम्पन्न हुने

काठमाडौँ- दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले देशभर गणक तथा आवश्यक सुपरिवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ। आगामी वैशाख २ गतेदेखि देशभर आर्थिक गणनाको काम सुरु हुनेछ। कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालित भएका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दोस्रो आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन सबै उद्योग प्रतिष्ठान, उद्योगी व्यवसायी तथा सरोकार भएकाहरूलाई आग्रह गरेका छन् । उनले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्यांक संकलनको महत्त्वपूर्ण कार्यमा योगदान गर्न अनुरोध गरेका छन् ।

सो गणनामा १८ वटा आर्थिक क्षेत्रको आधारभूत विवरण संकलन हुनेछ । गणनाबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलन गर्ने उद्देश्य राखिएको छ ।

देशभर रहेका दर्ता भएका वा नभएका सानाठूला व्यापार प्रतिष्ठान, धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्यांक संकलन गरिनेछ । त्यस्तैस उद्योग, कलकारखाना, व्यापार व्यवसाय, गैरसरकारी संघसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिनेछ। आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भएको थियो । यस्तै, यही चैतको सुरुमा नै ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् । ती कार्यालयहरू आगामी असार मसान्तसम्म सञ्चालन हुनेछन्।

तथ्यांक कार्यालयले सबै सरोकार भएकालाई सही र पूर्ण विवरण उपलब्ध गराएर अभियानलाई सफल बनाउन आग्रह गरेको छ। आर्थिक गणना राष्ट्रिय अभियान भएकाले यसमा सबैको सक्रिय सहभागिता जरुरी रहेको कार्यालयले स्पष्ट पारेको छ। यसअघि २०७५ सालमा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । सो गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।

प्रकाशित: २९ चैत २०८२ ७:०५ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast