पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफ। तस्बिर : एएफपी/रासस
काठमाडौँ- पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले अमेरिका-इरान युद्धविराम घोषणाको स्वागत गर्दै थप वार्ताका लागि आफ्नो देशमा आउन आह्वान गरेका छन्। सबै विवाद समाधान गर्न थप वार्ताका लागि अमेरिका र इरानको नेतृत्वलाई आफ्नो देशमा आउन उनले आमन्त्रित गरेका हुन् । ‘म यस विवेकपूर्ण इशारालाई हार्दिक स्वागत गर्दछु र दुवै देशको नेतृत्वप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछु,’ सरिफले एक्समा जारी एक विज्ञप्तिमा भनेका छन् ।
उनका अनुसार अमेरिका र इरानबीच शुक्रबार अर्थात् अप्रिल १० मा इस्लामाबादमा वार्ता हुनेछ । ‘हामी इस्लामाबाद वार्ता दिगो शान्ति प्राप्त गर्न सफल हुने आशा गर्दछौं र आगामी दिनहरूमा थप राम्रो समाचार साझा गर्न चाहन्छौँ,’ उनले भनेका छन्। पाकिस्तानले तेहरान र वाशिंगटनसँगको आफ्नो स्थिर सम्बन्धको फाइदा उठाउँदै द्वन्द्वमा शान्ति दूतको रूपमा आफूलाई स्थापित गरेको सीएनएनले जनाएको छ ।
पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिका युद्धविरामको निष्कर्षमा पुगेका हुन्। यसलाई इरानले आफ्नो जितका रूपमा व्याख्या गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानको राजधानी इस्लामाबादमा थप वार्ता हुने बताएको छ। मेहर समाचार एजेन्सीका अनुसार युद्धविराम सहमति पाकिस्तानको मध्यस्थतामा भएको हो ।
युद्धविराम सहमतिसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दुई साताका लागि आक्रमण रोकेको घोषणा गरेका छन् । इरानले तुरुन्तै होर्मुज जलमार्ग खोल्ने सर्तमा दुई साताका लागि बम विस्फोट र आक्रमण स्थगित गर्न सहमत भएको उनले उल्लेख गरेका छन्। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सभ्यता नै फेरि कहिल्यै नफर्किने गरी समाप्त पारिदिने धम्की दिएका थिए।




