गत महिना नेपालले नयाँ प्रधानमन्त्री वालेन्द्र शाह र युवा सांसदहरूले भरिएको संसद् समेटेर शपथ ग्रहण गर्दै गर्दा बंगलादेशकी अभियन्ता उमामा फातिमाले टाढैबाट निराशा अनुभव गरिन्।
फातिमा २०२४ मा बंगलादेशका हजारौँ जेनजी प्रदर्शनकारीमध्येकी एक थिइन्। उनीहरू सडकमा उत्रिएका थिए। उनीहरूले पनि नेपालमा जस्तै विरोध प्रदर्शनमार्फत सरकारलाई सत्ताच्यूत गरेका थिए।
करिब दुई वर्ष बितिसक्दा पनि बंगलादेशको युवा आन्दोलनले कुनै महत्त्वपूर्ण राजनीतिक शक्ति हासिल गर्न सकेको छैन। आन्दोलनपछि गत फेब्रुअरीमा पहिलो चुनाव भएको थियो। चुनावमा बंगलादेश राष्ट्रियवादी पार्टी (बीएनपी) ऐतिहासिक बहुमतले जित्यो। विद्यार्थी आन्दोलनबाट जन्मिएको नयाँ युवा नेतृत्वको नेसनल सिटिजन्स पार्टी (एनसीपी) ले चुनावमा झिनो मत मात्रै ल्याउन सक्यो।
नेपालमा भने चुनावी परिणाम बंगलादेशको भन्दा ठिक उल्टो देखियो। जेनजी आन्दोलनबाट केपी शर्मा ओली सत्ताच्यूत भएको ६ महिनापछि सम्पन्न आमचुनावमा चार वर्षअघि स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुईतिहाई बहुमत ल्याएर सरकार गठन गरेकव छ। चुनावबाट जेनजी र उनीहरूका समर्थक दल संसद्मा गए।
र्यापर एवम् काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख वालेन्द्र शाह प्रधानमन्त्री बनेका छन्। २०७९ को स्थानीय तह चुनावमा स्वतन्त्र रूपमा चुनाव लडेर काठमाडौँ महानगरको मेयर बनेका बालेन उक्त पदबाट राजीनामा दिएर रास्वपामा आबद्ध भई चुनावी मैदानमा गएका थिए। उनले २०४८ सालदेखि चुनाव लड्दै आएका एमालेका अध्यक्ष ओलीलाई झापा निर्वाचन क्षेत्र ५ बाट पराजित गरेका थिए।
नेपालमा भएकाे पछिल्लो राजनीतिक सफलतालाई एसियामा दुर्लभ मानिएको छ। एसियामा पछिल्ला वर्षहरूमा प्रदर्शन भए पनि नेपालका युवाहरूले जस्तै शक्ति प्राप्त गर्न सकेको छैन।
‘व्यक्तिगत रूपमा म निराश भएँ। नेपाली युवा कत्ति प्रभावकारी तरिकाले संगठित गर्न सक्षम भए। म हाम्रो आफ्नै देशको स्थितिबारे निराश हुनबाट रोक्न सकिनँ’, फातिमाले भनिन्।
उनका अनुसार बंगलादेशले नेपालमा जस्तो परिवर्तन दिन सकेको छैन। ‘नेपालमा भएको परिवर्तन देख्दा म स्वाभाविक रूपमा निराशा हुन्छु। हामीले भने आफ्नो देशलाई त्यस्तै तरिकाले संगठित र पुनर्निर्माण गर्न सकेका छैनौँ,’ उनले भनिन्।
एक देशमा युवा सफल भए तर अर्कोमा किन असफल भए?
नेपाली युवा नेताहरूले आफ्नो विजयको श्रेय आफ्ना आन्दोलनले साधारण नागरिकहरूसँग जोडिन सक्ने क्षमतामा दिएको बताएका छन्।
जेनजी प्रदर्शनले लामो समयदेखि देशको प्रशासन सञ्चालनमा भइरहेको असन्तोषलाई सम्बोधन गरेको कैलालीबाट निर्वाचित रास्वपाका सांसद केपी खनालले बताए।
उनले भने, ‘हामी निरन्तर जवाफदेही र न्यायका लागि आवाज उठाउँदै गयौँ। क्रमशः त्यो सन्देश देशव्यापी बन्यो। यो वर्तमान अवस्थाप्रति प्रतिक्रिया मात्र नभएर विश्वासयोग्य र वास्तविक आन्दोलन थियो। त्यसमा मानिसहरूले विश्वास गरे र भाग लिन चाहे।’
विश्लेषकहरूले नेपाल विशेषगरी अनौठो राजनीतिक परिदृश्य र युवा आन्दोलनका निर्णयहरूमा पनि ध्यानाकर्षण गराएका छन्।
नेपालमा गठबन्धन सरकारलाई प्राथमिकता दिने निर्वाचन प्रणाली भएकाले अघिल्ला दुईवटा चुनावमा कुनै एक पार्टीले बहुमतले शासन गर्न सकेको थिएन।
पछिल्ला १७ वर्षमा देशले १४ वटा सरकार देखेको छ। ती सरकारमा केही स्थापित पार्टीहरूको बदलिँदो गठबन्धन र थोरै राजनीतिज्ञहरूले पालैपालो नेतृत्व सम्हालेका छन्। यसलाई आलोचकहरूले राजनीतिक ‘म्युजिकल चेयर्स’ का रूपमा मूल्यांकन गरेका छन्।
जेनजी प्रदर्शनले देखाएको भ्रष्टाचारप्रति जनताभित्रको तीवं क्रोध संस्थागत शक्तिप्रति केन्द्रित भयो, जसले गर्दा नयाँ दल रास्वपा आकर्षित बन्न पुग्यो।
वालेन्द्र शाह र रास्वपाबीचको एकता र धेरै युवाकर्ता तथा नेताहरूको पार्टी प्रवेशले उनीहरूको सफलता सहज बनायो। रास्वपा सभापति रवि लामिछानेमाथि भ्रष्टाचारको आरोप लागेको थियो। पार्टीले बालेनसँग हात मिलाएर यो विवाद पार गर्न सफल भएको देखियो। बालेन एक क्यारिस्म्याटिक नेता थिए जसको वरिपरि मतदाता जुट्न सक्थे। तर उनीसँग आफ्नै संगठनात्मक पार्टी संरचना थिएन।
‘दक्षिण एसियामा पार्टी संगठन अत्यन्त महत्त्वपूर्ण मानिन्छ। युवा नेतृत्वको पार्टीले निर्वाचनमा सफलता हासिल गर्नुअघि ठूलो पार्टी संरचना निर्माण गर्नुपर्ने हुन्छ, विशेषगरी पहिलो पटक चुनावमा आउँदा’, काठमाडौँका मतदाता अमिश मुल्मीले भने।
ठ्याक्कै यही कुरा युवा अभियन्ता एवम् रास्वपा सांसद पुरुषोत्तम सुप्रभात यादवको मनमा थियो जब उनलाई साथीहरूले गत वर्षको जेनजी प्रदर्शनपछि नयाँ पार्टी गठन गर्न आग्रह गरे। त्यसलाई यादवले अस्वीकार गरेका थिए। उनले भने, ‘चुनाव जित्नु मजाकको कुरा होइन। आन्दोलन संगठित गर्नु र चुनावमा विजय हासिल गर्नु दुई भिन्न कुरा हुन्।’
उनका अनुसार राजनीतिक पार्टी अचानक बन्न सक्दैन। यसका लागि ठूलो संयन्त्र चाहिन्छ। उनले भने, ‘त्यतिबेला हामीसँग वित्तीय र संगठन निर्माणसम्बन्धी चुनौतीहरू पनि थिए, जुन सजिलै उपलब्ध थिएन।’
२७ वर्षीय यादवले डिसेम्बरमा रास्वपामा प्रवेश गर्ने निर्णय गरे। उनले रास्वपाललाई स्थापित पार्टीहरूको भरपर्दो विकल्पका रूपमा हेरे, जसको देशभर व्यापक संगठनात्मक नेटवर्क थियो र नेतृत्वमा धेरै नयाँ अनुहार थिए।
उनको यो निर्णय सफल पनि रह्यो। गत साता यादवल रास्वपाको समानुपातिक प्रतिनिधित्व सूचीबाट सांसद पदको शपथ ग्रहण गरे।
युवा प्रतिनिधि निताशा कौलको बुझाइमा पनि चुनाव जित्न दीर्घकालीन योजना चाहिन्छ। ‘मूल रूपमा जोश, असन्तोष, क्रोध वा शुद्धताको राजनीतिले सञ्चालित आन्दोलनले वर्तमान अवस्थालाई चुनौती दिन सक्दछ। यसले चुनाव जित्न सफल होस् भन्ने आवश्यक छैन’, उनले भनिन्।
दक्षिण एसियामा परम्परागत सामाजिक नियम, आदरको संस्कृति र लैंगिक विभेदजस्ता तत्त्वले युवा आन्दोलनको सफलतामा बाधा पुर्याउँछ। यद्यपि नेपाल सफलताको राम्रो उदाहरण हो।
केही विश्लेषकहरूले बंगलादेशको अवस्थामा यी महत्त्वपूर्ण कारकहरू अभाव भएको ठानेका छन्। जेनजी आन्दोलनले हटाउनुअघि बंगलादेशमा आवामी लिगले वर्षौँदेखि प्रभुत्व जमाएको थियो।
यसले गर्दा दोस्रो र तेस्रो पार्टीहरूलाई ‘पीडित’ का रूपमा हेरिएको थियो। बीएनपी र इस्लामवादी पार्टी जमात–ए–इस्लामीले चुनावमा संस्थागत विरोधको भावनाको फाइदा उठाए।
यी पार्टीहरूले आफूलाई सुधारमुखी देखाए र युवा आन्दोलनसँग नजिक सम्बन्धित भए। ‘त्यसैले प्रायः उनीहरूले प्रदर्शनहरूको ऊर्जा नयाँ युवा–नेतृत्व भएका संस्थाहरूभन्दा बढी प्रभावकारी तरिकाले अवशोषण र चैनल गर्न सके’, बंगलादेशका इमरान अहमदले भने।
एनसीपीको विवादास्पद र परम्परावादी जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनमा सामेल हुने निर्णय विनाशकारी साबित भयो। यसका धेरै समर्थक युवा थिए। अन्ततः एनसीपीले ३० मध्ये ६ सिट मात्र जित्यो।
‘बंगलादेशमा प्रतिगामी शक्तिसँग गठबन्धन गरेर एनसीपी बढी राजनीतिक शक्तिमा केन्द्रित भयो, जसले धेरै मतदाता तान्ने ‘सुनौलो मौका’ गुमायो’, अर्का बंगलादेशी ऋषि गुप्ताले भने।
समयको महत्त्व पनि थियो। गुप्ताले बताएअनुसार बंगलादेशमा जेनजी प्रदर्शन र चुनावबीचको डेढ वर्षको अन्तरालले युवा आन्दोलनको गति कमजोर पारेको हुन सक्छ। यसविपरीत नेपालले ६ महिनामा आफ्नो चुनाव सम्पन्न गरायो।
बंगलादेशका प्रदर्शनकारीहरूले जे हासिल गर्न सफल भए, त्यो हो संघर्षको दिशा परिवर्तन गर्नु। ‘प्रदर्शनहरूले राष्ट्रिय संवादलाई पुनः आकार दिए,’ इमरान अहमदले भने, ‘सुधारको आवश्यकतामा ध्यान केन्द्रित गरे। यसले चुनावसँगै आयोजना गरिएको जनमतसंग्रह (रेफरेन्डम) मा परिणत भयो, जहाँ अधिकांशले संविधान, संसद् र कानुनी प्रणालीमा व्यापक सुधारका पक्षमा मत दिए।’
नयाँ बीएनपी सरकारले संरचनात्मक सुधारका लागि ३१ बुँदे योजना पनि सार्वजनिक गर्यो। तर केहीले अझै शंका व्यक्त गरेका छन्। ‘तिनीहरूले आवामी लिगले गर्ने परम्परागत कार्यक्रमहरूकै नमुना अनुसरण गरेका छन्,’ उमामा फातिमा भनिन्। नयाँ सरकारले बंगलादेशका युवाका लागि रोजगारी र आर्थिक अवसर सुधारमा बढी ध्यान दिनु आवश्यक रहेको उनको सुझाव छ।
बंगलादेशका युवामा निराशाको भावना फैलिएको छ। धेरै अब विदेशमा राम्रो कामको अवसर खोज्न लागेका छन्। चुनावपछि धेरै युवाहरू राजनीतिबाट पनि असन्तुष्ट देखिएका छन्। युवाहरूको विदेश जाने प्रवृत्ति चिन्ताजनक स्तरमा बढेको छ। एनसीपीले संसद्मा सानो आधार निर्माण गरेर र आफ्नो छवि सुधारेर युवा आन्दोलनलाई पुनर्जीवित गर्न सक्ने आशा पनि जीवीतै छ। पार्टीले आगामी स्थानीय नगर चुनावमा कुनै गठबन्धन बिना उम्मेदवार प्रस्तुत गर्दै छ।
नेपाल र बंगलादेश दुवैका युवा प्रदर्शनकारीको एउटा लक्ष्य स्पष्ट छ- परिवर्तनका लागि लड्न कहिल्यै नरोक्ने। नेपालका जेनजी सांसदहरूले आफ्नो नयाँ सरकारलाई उच्च अपेक्षा र परिवर्तनको लालसा राख्ने मतदाताप्रति जवाफदेही बनाइराख्ने प्रतिज्ञा गरेका छन्।
‘हामी अब सडकबाट संसद् प्रवेश गर्दै छौँ। सामाजिक रूपमा हाम्रो स्थान परिवर्तन भयो, तर हाम्रो एजेन्डा होइन,’ नेपालका नवनिर्वाचित सांसद पुरुषोत्तम सुप्रभात यादवले भने। उनले भने, ‘भ्रष्टाचारविरुद्ध र राजनीतिक सम्बद्धतावा पारिवारिक पूर्वाग्रहका आधारमा नियुक्ति अन्त्य हाम्रो मुख्य माग हो। आफ्नै पार्टीविरुद्ध लड्न पनि हामी तयार छौँ।’ -बीबीसीबाट




