महोत्तरीमा मंगलबार दुर्घटनापछि जलेर नष्ट भएका मोटरसाइकल। तस्बिर : रासस
काठमाडौँ- महोत्तरीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ्र। बर्दिबास–जलेश्वर सडकखण्डअन्तर्गतको एकडारा गाउँपालिका-५ मा मंगलबार भएको दुर्घटनामा एसईई दिइरहेका तीन विद्यार्थीको मृत्यु भएको हो।
दुर्घटनामा मृत्यु हुनेमा जलेश्वर नगरपालिका-६ साहुजीपट्टी निवासी रामदयाल दासका छोरा रवि दास, सोही ठाउँ निवासी सुरेन्द्र दास (सोलिन्द्र) का छोरा सुभाष दास र एकडारा गाउँपालिका-३ अजमरपट्टी निवासी शत्रुध्न मण्डलका छोरा अभिषेक मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिए। मोटरसाइकलमा चढेका तीनै जना एसईई दिएर फर्किरहेको उनले बताए।
तीनै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ। प्रहरीका अनुसार विपरीत दिशामा गुडिरहेको मोटरसाइकल एकआपसमा ठोक्किएपछि आगलागी भएको थियो। तीनैजनाको मृत्यु आगोले जलेर भएको हो।
आगोले जलेर दुवै मोटरसाइकल नष्ट भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। तीनजना घाइतेको उपचार अवस्थामा प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ।
गम्भीर घाइते हुनेमा जलेश्वर नगरपालिका ६ निवासी सुरेश दासका छोरा रोहित दास, सोही ठाउँ निवासी लखिन्द्र कापरका छोरा अभय कापर र एकडारा गाउँपालिका–५ बथनाहाका रामवरण कापरका छोरा अन्दाजी २० वर्षीय अजय कापर रहेका छन्। मृतकमध्ये रवि दास र सुभाष दास महेन्द्र आदर्श महिला माध्यमिक विद्यालय जलेश्वर केन्द्रबाट एसईई दिइरहेका थिए। मोटरसाइकल जलेर नष्ट भएकाले नम्बर नम्बर खुल्न नसकेको भट्टले बताए।




