काठमाडौँ- कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको नाटक ‘सेतो धरती’ मा अभिनेत्री रेखा थापाले पनि लगानी गरेकी छन्।
कान्तिपुर थिएटरले नाटकको एक पोस्टर सार्वजनिक गरेको छ। जसमा निर्माता रेखा थापा छिन्। यसर्थ एक नाटकमा अभिनय गरेसँग रेखाले नाटकमा लगानी गरेकी हुन्।
लेखक अमर न्यौपाने चर्चित उपन्यासलाई नाटकमा सुन्दर धितालले निर्देशन गरेका छन्। सुन्दरले यसअघि रेखा थापाकै डेब्यु नाटक ‘मीरा’ निर्देशन गरेका थिए भने रेखाले पनि कान्तिपुर फिल्म एकेडेमीकै थिएटरबाट रंगमञ्च यात्रा सुरु गरेकी थिइन्।
नाटक यही चैत २७ गतेदेखि मञ्चन सुरु गरिने थिएटरले जनाएको छ। बुधबार बाहेक आगामी वर्ष वैशाख १९ सम्म नाटक हरेक दिन साँझ ५ः१५ बजे र शनिबार, आइतबार र नयाँ वर्षको दिन दिउँसो १ः१५ बजे मञ्चन गरिने बताइएको छ।।
नाटकको कथा मदन पुरस्कार जितेकाे उपन्यास ‘सेतो धरती’ मा आधारित छ। नाटकको मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमालले अभिनय गर्नेछिन्। यो उनको डेब्यु नाटक हो।
नाटकको अहिले रिहर्लसल चलिरहेको छ। बेनिशाबाहेक नाटकमा फिल्म, थिएटर र कान्तिपुर फिल्म एकेडेमीका गरी ३० भन्दा बढी कलाकार रहेको थिएटरले जनाएको छ।
कलाकारमा बेनिशा हमाल, सुहाना आचार्य, उमेश सुनाम, सजना थापा, सुस्मिता श्रेष्ठ, एड्रिन धमला, बिना रोक्का, बिनिता गिरी, अर्नव घिमिरे, सम्राट भुजेल, विरान दहनी, आवास भट्टराई, नितेश लोहार, विकल्प ओली, अर्जुन राई, अलिना कार्की, विशाल कार्की, प्रयास खत्री, संस्कार चौलागाईं, तेजस्वी शर्मा, स्वीकृति पन्त, रविन पुन मगर, वर्षा भण्डारालगायत कलाकारको अभिनय रहनेछ।
नेपाल साहित्य जगतको लोकप्रिय तथा सर्वाधिक बिक्री भएको उपन्यास भएकाले पनि ‘सेतो धरती’ लाई नेपाली रंगमञ्चका दर्शकले रुचाउने टिमको विश्वास छ।
कान्तिपुर फिल्म एकेडेमीले कान्तिपुर थिएटरमार्फत रंगमञ्च, सिनेमा र साहित्यलाई जोड्ने उद्देश्यले चर्चित पुस्तकहरूलाई नाटकका रूपमा प्रस्तुत गर्दै आएको एकेडेमीका सीईओ प्रकाश पुरीले बताए।




