कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।
काठमाडौँ- नेपाली कांग्रेसले चुनावमा अन्तर्घात गर्ने ५०७ जनामाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध गतिविधि गरेकामाथि केन्द्रीय अनुशासन समितिले कारबाही प्रक्रिया अगाडि बढाएको हो।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको बैठकले प्राप्त उजुरीहरूलाई वर्गीकरण गर्दै दोषी देखिएकाहरूमाथि छानबिन तीव्र पार्ने निर्णय गरेको हो।
समितिले प्राप्त ५०७ उजुरीहरूलाई पाँचवटा मुख्य समूहमा वर्गीकरण गरेको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिए।
उनका अनुसार पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका र उनीहरूको प्रस्तावक वा समर्थक बसेका, विपक्षी उम्मेदवारको प्रचारप्रसारमा प्रत्यक्ष सहभागी भएका, अप्रत्यक्ष रूपमा विपक्षीलाई सहयोग पु¥याउने र पार्टीभित्रै बसेर ‘साइलेन्स किलिङ (अन्तर्घात)’ गर्नेहरूको समूह बनाइएको छ।
त्यस्तै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि भएर पनि चुनावमा वपक्षीलाई साथ दिनेहरूको समूह बनाइएको उनले बताए।
सचिव मगरले छानबिनबाट दोषी देखिएका व्यक्तिहरूलाई आफ्नो सफाइ पेस गर्न सात दिनको समय दिइएको छ। तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए विधानबमोजिम कारबाही हुने समितिले जनाएको छ।
अनुशासन समितिले निर्वाचनका क्रममा भएका अनुशासन उल्लंघनका थप उजुरीहरू भए चैत मसान्तभित्र केन्द्रमा पठाउन निर्देशन दिएको छ।
पूर्णबहादुर खड्काले जारी गरेको विज्ञप्ति ‘नक्कली’
बैठकले पार्टीको नक्कली लेटरप्याड र छाप दुरूपयोग गरी अनधिकृत वक्तव्य जारी गरिएको भन्दै आपत्ति जनाएको छ। गत चैत १४ गते सामाजिक सञ्जालमा सम्प्रेषित भ्रमपूर्ण सामग्रीले पार्टीको मर्यादामा आँच पुर्याएको ठहर गर्दै समितिले सचेत गराएको छ।
चैत १४ गते नेता पूर्णबहादुर खड्काले पार्टीको कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति निकालेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरूद्ध संवैधानिक, कानुनी र राजनैतिकरूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो।
देउवा समूहका शीर्ष नेताहरूको बैठकले सरकार राजनीतिक प्रतिशोधको हिसाबले अगाडि बढेको ठहर गर्दै ओली–लेखकको गिरफ्तारीविरूद्ध प्रतिवाद गर्ने निर्णय गरी विज्ञप्तिमार्फत जानकारी गराएको थियो।
अनुशासन समितिले अनाधिकृत रूपमा विज्ञप्ति निकालिए कारबाही गर्ने चेतावनी दिएको छ।
अनुशासन समितिको विज्ञप्तिमा भनिएको छ,‘अब उप्रान्त पार्टीको नक्कली लेटरप्याड प्रयोग गर्ने वा अनाधिकृत रूपमा जिम्मेवारी दाबी गर्ने जो कोहीलाई कांग्रेसको विधान र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ।’




