सुर्खेत- गत २३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ मा बस्दै आएकी १६ वर्षीया इनिशा विकको रहस्यमय मृत्यु भएको थियो। आइतबार सरकारी वकिल कार्यालयले घटनामा संलग्न दोषीमाथि जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोग दर्ता गरेको जनाएको छ।
प्रहरीको अनुसन्धानअनुसार इनिशाको मृत्युको कारण उनका प्रेमी भनिएका १६ वर्षे किशोरसँग शारीरिक सम्बन्धपछि भएको अत्यधिक रक्तश्राव हो। तर पीडित परिवारले प्रहरीको उक्त अनुसन्धान प्रतिवेदनमा आशंका गरिरहेका छन्।
उनीहरूले जबर्जस्ती करणीपछि हत्या भएको दाबी गर्दै आएका छन्। प्रहरीले यस प्रकरणमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत गरेको अनुसन्धानमा इनिशाका प्रेमी भनिएका १६ वर्षीय किशोरलाई जबरजस्ती करणी र ज्यानसम्बन्धी कसुर लगाएको छ। साथै, घटनास्थल पुगेका अन्य तीन जनालाई इनिशालाई बचाउन भूमिका नखेलेको भन्दै ज्यानसम्बन्धी कसुरमा कैद माग प्रहरीले गरेको छ।
तर पीडित परिवारले आन्दोलन जारी राखेपछि इनिशाको शव २४ दिनदेखि कर्णाली प्रदेश अस्पतालमै राखिएको छ। उनीहरूले घटनामा संलग्नलाई कडा कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।
यस्तै आज सोमबार सरकारी वकिल कार्यालयअगाडि इनिशा विक मृत्यु प्रकरणमा मुछिएका तीन किशोरका आफन्तले धर्ना दिएका छन्। निर्दोषलाई सजाय नभई न्याय चाहिने बताउँदै उनीहरूले धर्ना दिएका हुन्।
न्यायालयलाई प्रभावित गर्नेलाई कारबाही हुनुपर्ने माग उनीहरूको छ। प्रहरीको अनुसन्धान एकातिर सरकारी वकिल कार्यालयको अभियोग अर्काेतिर पारेर निर्दाेषलाई फसाउन खोजिएको दाबी आफन्तहरुले गरेका छन्।




