काठमाडौँ- नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना दलका सांसदहरुलाई आग्रह गरेका छन्।
सोमबार काठमाडौँमा कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै नेता खड्काले संसदमा आफ्ना सांसदहरुको भूमिका प्रभावकारी र अनुकरणीय रहने बताए।
पार्टीको इतिहास र आदर्शका साथै नेपाल र नेपाली जनताको हितका लागि संसदमा प्रखर रुपमा प्रस्तुत हुन समेत उनले सुझाव दिए।
नेता खड्काले संख्याको हिसाबले केही कम भए पनि नेपालको लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलनको इतिहासको सिङ्गो धरोहर बोकेर कांग्रेसका सांसदहरुको भूमिका निकै महत्वपूर्ण हुने धारणा बताए।
यसअघि पार्टीले अघि सारेको संविधान संशोधनको मूल मुद्दालाई समेत सशक्त ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ।
त्यस्तै कांग्रेसका अर्का नेता डा. शेखर कोइरालाले सांसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुले राष्ट्रका मुद्दाहरुलाई सदैव प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे। उनले पहिले जस्तै सांसदहरुसँगको छलफल निरन्तर हुने भन्दै संसदबाहिर रहेका नेताहरुले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले आवश्यक परेको खण्डका संसदमा आउने महत्वपूर्ण विषयमा विज्ञहरुसँग समेत छलफल गराउने बताए।




