काठमाडौँ- नेपालस्थित बंगलादेशी दूतावासले ५५ औँ स्वतन्त्रता एवं राष्ट्रिय दिवस मनाएको छ। दूतावासले शुक्रबार साँझ होटल र्याडिसनमा एक कार्यक्रम गर्दै स्वतन्त्रता दिवस मनाएको हो।
नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रमुख अतिथि रहेको समारोहमा नेपालका लागि विभिन्न राष्ट्रका राजदूतहरू, नियोग प्रमुखहरू, मन्त्रीहरू, राजनीतिक नेताहरू, वरिष्ठ सरकारी अधिकारीहरू, नागरिक समाजका प्रतिनिधि, व्यवसायीहरू र नेपालमा रहेका बंगलादेशी समुदायका सदस्यहरूको बाक्लो उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बंगलादेशका राजदूत मोहम्मद सफिकुर रहमानले ९ महिना लामो गौरवशाली स्वतन्त्रता संग्रामका वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले सन् १९७१ को युद्धका क्रममा नेपाल सरकार र नेपाली जनताले पुर्याएको ऐतिहासिक नैतिक र भौतिक सहयोगप्रति हार्दिक आभार प्रकट गरे। रहमानले नेपाल र बंगलादेशबीचको द्विपक्षीय सम्बन्धलाई व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धका क्षेत्रमा थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
सम्बोधनकै क्रममा राजदूत रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारलाई हार्दिक बधाई ज्ञापन गरे। उनले प्रधानमन्त्री शाहको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे।
साथै उनले बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा रहेको नयाँ सरकारका भावी योजना र पहलहरूबारे जानकारी दिँदै नेपाल र अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ठ रूपमा काम गर्न तयार रहेको उल्लेख गरे।
समारोहमा संयुक्त राष्ट्र संघको ८१औँ महासभाको अध्यक्ष (२०२७–२०२८ कार्यकाल) का लागि बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानको उम्मेदवारीलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो। राजदूतले उनको प्रोफाइलको संक्षिप्त रूपरेखा प्रस्तुत गर्दै नेपालको समर्थनका लागि अनुरोध गरे।

सम्बोधनपछि उपराष्ट्रपति यादव र राजदूत रहमानले संयुक्त रूपमा वार्षिकोत्सवको केक काटेका थिए। कार्यक्रममा अतिथिहरूका लागि परम्परागत बंगलादेशी र अन्तर्राष्ट्रिय परिकारहरू सहितको रात्रिभोजको आयोजना गरिएको थियो।




